‘तपाईँले कति पढ्नुभएको हो, जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्ने थाहा छैन ?’

 साउन २, २०७५ बुधबार १८:५०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रदर्शनीमार्गमा पर्यटन बोर्डको भवन अगाडि जेब्रा क्रसिङ मिचेर बाटो काटिरहेका पैदल यात्रीलाई सडक छेउमा उभिएका प्रहरीले टाढैबाट बोलाउँछन् ।

यात्रुहरु प्रहरीले किन बोलायो होला भनेर लुखुर लुखुर प्रहरी भएतिर जान्छन् । अनि प्रहरीले भन्छन्, ‘तपाईँ कति पढ्नुभएको हो, जेब्रा क्रसिङबाट बाटो काट्नुपर्छ भन्ने थाहा छैन ?’ यो कुनै नयाँ निमय भने होइन । जेब्रा क्रसिङबाट मात्र बाटो काट्न पाइने भनेर केही महिना अगाडि लागू गरेको नियमलाई फेरि लागू गर्न खोजेको मात्र हो ।

अहिले काठमाडौं भित्रका प्रमुख ठाउँहरुमा ट्राफिकहरु गोठाला जस्तै बसेका हुन्छन् र जेब्रा क्रसिङ मिचेर बाटो काट्नेलाई ठाउँको ठाउँ कक्षा लिन्छन् । काठमाडौंका व्यस्त सडकका जेब्रा  क्रसिङमा  एक महिनासम्मको लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

बच्चाले खेल खेलेजस्तो ट्राफिकका यस्ता नियमले बेलाबेला सर्बसाधारणलाई तर्साउने गरेको छ । सडकको निरीक्षण नगरिकनै बनाइएका जेब्रा क्रसिङमा यात्रुहरु अलमलिने गरेका छन् । कुनै ठाउँमा सडक पार गर्नको लागि जेब्रा क्रसिङ नै बनाएको छैन भने कतै बनाएको ठाउँमा पनि यात्रुले नदेख्ने गरी बनाएका छन् । कुनै ठाउँमा बाटो काट्न जेब्रा त्रसिङ नदेख्दा यात्रुहरु समस्यामा पर्ने गरेका छन् ।

जेब्रा क्रसिङमा बाटो काट्नुपर्छ भनेर ट्राफिक प्रहरीले पटक–पटक भन्दै आएको छ । एकपटक त जेब्रा क्रसिङ बनाएका फ्ल्याक्स प्रिन्ट सडकमाथि ओछ्याएर पनि बाटो काट्न लगाएको थियो । तर जेब्रा क्रसिङमा गाडीको स्पिड नियन्त्रण गर्न भने कुनै संयन्त्र अपनाएको देखिँदैन ।

अझै पनि जेब्रा क्रसिङमा ढुक्क भएर बाटो काट्न सकिने अवस्था छैन ।  कतै कतै ट्राफिक प्रहरीले यात्रुहरु जम्मा पारेर बाटो कटाइरहेका हुन्छन् । त्यतीबेला त ढुक्क भइन्छ तर व्यस्त सडकमा ट्राफिक प्रहरी नभएको ठाउँमा यात्रुहरुलाई बाटो काट्न भने धौ–धौ हुने गर्छ । 

त्रिचन्द्र क्याम्पस अगाडि बाटो काट्ने क्रममा नै कतिपय विद्यार्थीलाई गाडीले हानेको छ । नयाँ बानेश्वर चोकमा पनि बाटो काट्दा त्यस्तै आपत पर्छ । ह्वाइट हाउस कलेजमा अध्ययनरत दिपक थापाले तीतो अनुभव सुनाउदै भने, ‘बीस मिनेटसम्म पनि पर्खिँदा कुनै पनि गाडी नरोकेपछि हात दिँदै म बाटो काटिरहेको थिएँ । स्पिडमा आएको गाडीले झण्डै हानेको थियो ।’

यसरी यात्रुहरुलाई मात्र पाठ पढाएर हुँदैन । गाडी चालकहरुलाई पनि जेब्रा क्रसिङमा बिस्तारै हाँक्नुपर्छ भन्ने पाठ पढाउनुपर्ने आवश्यकता देखिन्छ । यात्रुहरु बाटो काटिरहेको देख्दा देख्दै पनि कतिपय चालकहरुले गाडी रोक्दैनन् र स्पिड पनि घटाउँदैनन् । यसको निरीक्षण भने ट्राफिकले गरेको देखिँदैन ।

ट्राफिकका अनेकथरी नियम 

केही समय अगाडि माइक्रो भित्र सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भन्ने नियम लागू भएको थियो । माइक्रो भित्र बढी यात्रु राख्ने कतिपय चालकलाई त ५ सय देखि १ हजारसम्म जरिबाना पनि तिराइयो । तर उक्त नियम हप्ता दिन पनि टिकेन । यस्तै जेब्रा क्रसिङ मिचेर बाटो काट्न नपाइने भन्ने नियमले पनि एकपटक सहरको माहोल तताएको थियो ।

नियम तोड्नेलाई दुई सय रुपैयाँ जरिबाना पनि तोकेको थियो । तर त्यो नियम पनि महिना दिन नबित्दै सेलाएर गयो । यस्तै सहरमा हर्न बजाउन नपाइने नियम पनि खासै प्रभावकारी भएको देखिँदैन । ट्राफिकको आँखा छलेर चालकले हर्न बजाउन अझै छाडेका छैनन् । 

किन असफल हुन्छन ट्राफिक नियम ?

ट्राफिक प्रहरीले समय–समयमा लगाउने नियमले यात्रुदेखि चालक सबै वाक्क भएका छन् । संक्रान्ति आए जसरी कहिलेकाहीँ नियम लगाउने र त्यसलाई नियमितता दिन नसक्ने भएका कारण ट्राफिक प्रहरी हाँसोको पात्र बनिरहेको छ । सहरको पूर्वाधार, सडकको अवस्था, यात्रुहरुको चाप नहेरीकनै लगाइएका यस्ता नियमहरुले ट्राफिक प्रशासनलाई असफल बनाएको छ । 

‘ट्राफिक भनेको सडकसँग जोडिएको पाटो हो । जबसम्म सडक व्यवस्थापन हुँदैनन्, चौडा पारिँदैनन् र व्यस्त सडकमा आकासे पुलको व्यवस्था गरिँदैन तबसम्म ट्राफिकको समस्या रहि नै रहन्छ’, प्रहरी प्रवक्ता सुरेन्द्रप्रसाद मैनालीले भन्नुभयो, ‘नागरिक आफैले पनि व्यवहारिक हुनुपर्यो । टाई लगाएर हातमा ल्यापटप बोकेको मान्छे जेब्रा क्रसिङ मिचेर बाटो काटिरहेका हुन्छन् । अब यस्ता मान्छेलाई कति सम्झाउँदै हिँड्ने ?’

‘केही समय पहिले जेब्रा क्रसिङ मिचेर बाटो काट्नेलाई दुई सय रुपैयाँ जरिबाना तिराउने नियम लागू गरे पनि  त्यसले नियन्त्रण हुन सकेन । त्यै भएर अहिले सचेतनामूलक कार्यक्रम ल्याएका हौं’, मैनालीले बताउनुभयो, ‘यसरी गलत ठाउँबाट बाटो काट्ने सबैलाई जरिबाना तिराउँदा जेब्रा क्रसिङको बारेमा थाहा नभएका तथा गाउँबाट भर्खर सहर झरेकाहरु पनि जाकारी हुने भएकाले अहिले फाइन नलगाएर सचेतनामूलक कक्षा मात्र राखेका हौं । यो कार्यक्रम एक महिनासम्म चल्ने छ ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया