गुलियो चिनीको तीतो नालिबेली : आयातित चिनीले किसान मारमा

 जेठ १०, २०७५ बिहिबार ८:४९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

 

काठमाडौं, जेठ १० – किसान र स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भन्दै आयातित चिनीमा बढाइएको भन्सारदर सरकारलाई निल्नु न ओकल्नु भएको छ । 

 बढाइएको भन्सारदर तत्काल कार्यान्वयन नगर्न भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सरकारलाई यो निल्नु न ओकल्नुको विषय बनेको हो 
  
गएको वैशाख ४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयातित चिनीमा भन्सार शुल्क वृद्धि गरी १५ प्रतिशतबाट ३० प्रतिशत पुर्याएको थियो ।

भन्सार शुल्क बृद्धिसँगै सरकारले उखुको समर्थन मूल्य पनि प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँ पुर्याएको थियो ।

तर सर्वोच्चले वृद्धि भएको भन्सारदर अहिले लागू नगर्न भनेपछि चिनी उद्योगले किसानलाई दिनुपर्ने उखुको मूल्यमा पनि कमी आउने देखिएको छ ।

कति हुन्छ उखु उत्पादन ?

नेपालमा चालू अवस्थामा रहेका १२ वटा चिनी मिलले यस वर्ष किसानले उत्पादन गरेका झण्डै २ करोड ५ लाख क्विन्टल उखु क्रसिंङ गरे ।

इन्दुशंकर चिनीमिल सर्लाहीका उखु प्रवन्धक योग नारायण रजकका अनुसार क्रसिंङ गरेको उखु अनुसार ५ सय ३६ रुपैयाँ प्रति क्विन्टलका दरले भुक्तानी गर्दा किसानलाई झण्डै १० अर्ब ९८ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउनुपर्छ ।
 
यसअघि किसानले ५३१ रुपैयाँ प्रति क्विन्टल उखुको मूल्य पाउने गरेका थिए । सरकारले आयातित चिनीमा भन्सारदर बृद्धि गर्दै किसानले पाउने उखुको मूल्यमा प्रति क्विन्टल ५ रुपैयाँले बृद्धि गरेको थियो ।

तर आयातित चिनीमा बढाएको भन्सारदर तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएपछि किसानले बढेको मूल्यमा लिन ठिक्क परेको उखुको पैसा फेरि पुरानै मूल्यमा लिन पर्ने बाध्यता आएको छ ।

उखुखेतीमा करिब पाँच लाख ५० हजार किसान आवद्ध छन् । वार्षिक दुई करोड ३५ लाख क्विन्टलसम्म किसानले उखु उत्पादन गर्ने गरेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो ।  
चिनी मिलले २ करोड ५ लाख क्विन्टल उखु चिनी बनाउन क्रसिङ गरेको भएपनि बाँकी रहेको उखु भने गुण र भेली बनाउन प्रयोग भएको अध्यक्ष मैनालीको भनाइ छ ।

उत्पादित चिनी बिक्रि गर्न कठिन

बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लामा गरी १२ उद्योगले अहिले चिनी उत्पादन गरिरहेका छन् । १५ वटा चिनी मिल रहेपनि ३ वटा मिलले भने उत्पादन गर्न नसकेको इन्दुशंकर चिनीमिल सर्लाहीका उखु प्रवन्धक रजकले बताउनुभयो ।

चालू रहेका उद्योगहरुले यस वर्ष १ लाख ७९ हजार मेट्रिकटन चिनी उत्पादन गरे । २ करोड ५ लाख क्विन्टल उखु क्रसिंङ गर्दा यो परिमाणको चिनी उत्पादन भएको हो ।

उत्पादित चिनीको बिक्रि मूल्य उद्योगले प्रति केजी ६९ रुपैयाँ ७९ पैसा तोकेको छ ।
 
जसअनुसार उत्पादन भएको चिनीको मूल्य झण्डै ११ अर्ब ७९ करोड रुपैयाँ हुन आउँछ । तर भारतबाट आयात हुने चिनीको मूल्य यसभन्दा कममै व्यवसायीहरुले बिक्रि गर्ने गर्दा नेपाली उद्योगले उत्पादन गरेको चिनी बिक्रि गर्न समस्या उत्पन्न हुने गरेको रजक बताउनुहुन्छ । आयातित चिनी सिमावर्ती क्षेत्रमा ६० रुपैयाँमै पाइने गरेको छ । नेपाली चिनी भने साल्ट ट्रेडिङले नै ८२ रुपैयाँ प्रति केजी मूल्य तोकेको छ । तथापी उत्पादित सबै चिनी नेपालमै खपत हुँदै आएका छन् । 

प्रतिष्पर्धा गर्न किन गाह्रो ?

उखुको मूल्य, कामदार खर्च, यातायात खर्च लगायतमा रहेको महंगीले आयातित चिनी भन्दा नेपालमा उत्पादन हुने चिनी महंगो पर्छ । भारतमा प्रतिक्विन्टल उखुको मूल्य २५५ रुपैयाँ (नेपाली ४०८) मात्रै पर्छ । तर नेपालमा यसैको मूल्य ५३६ रुपैयाँ छ । उखुको मूल्य नै प्रति क्विन्टलमा १२८ रुपैयाँ महंगो पर्छ । भारतमा कृषिमा सरकारी अनुदान र विभिन्न सुविधा उपलब्ध छ ।

तर नेपालमा भने त्यस्तो व्यवस्था हुन नसक्दा सबै भार उद्योग र किसानले नै ब्यहोर्नु पर्छ । त्यसैले पनि नेपालका उद्योगले उत्पादन गरेका चिनी आयातित चिनीको तुलनामा महंगो हुन्छ ।

उपभोक्ताले सस्तो मूल्यमा आयातित चिनी पाएपछि नेपालमै उत्पादन भएको महंगो मूल्यको चिनी बिक्रि हुन समस्या हुने गरेको इन्दुशंकर चिनीमिल सर्लाहीका उखु प्रवन्धक योगनारायण रजक बताउनुहुन्छ । 
उद्योग बन्द हुने अवस्थामा छ । 

आयातित चिनीमा ५० प्रतिशत सम्म भन्सारदर बढाउनुपर्ने उद्योगीहरुको माग छ । सरकारले बल्लबल्ल १५ प्रतिशत बृद्धि गर्दै ३० प्रतिशत भन्सारदर पुर्याएको भए पनि सर्वोच्चले कार्यान्वयन नगर्न भनेको छ ।
  
नेपाली चिनी उद्योगको प्रवद्र्धन र उखु किसानलाई राहत दिन आयातित चिनीमा भन्सार बृद्धि गर्नुको विकल्प नरहेको बताउनुहुन्छ, नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल ।

आयातित चिनीमा भन्सार दर नबढाउने हो भने नेपाली चिनी उद्योगहरु बन्द हुन्छन् । धेरैजसो उद्योग बन्द हुने अवस्थामा पुग्न लागेका बेला सरकारले भन्सार दर बृद्धि गरेर पुनःजीवन दिन खोजेको भएपनि सर्वोच्चको अन्तरिम आदेशले आफूहरुलाई मर्माहत बनाएको अग्रवालले बताउनुभयो ।

सरकारले पछिल्लोपटक बढाएको भन्सारदर लागूभएको भए आयातित चिनी र नेपालमा उत्पादित चिनीको मूल्य लगभग बराबरमा पुग्थ्यो । तर बढेको भन्सारदर फेरि फिर्ता भएसँगै आयायातित चिनीसँग प्रतिष्पर्धा गर्न कठिन बनेको अग्रवालले बताउनुभयो । खुला बोर्डर र भन्सारदर पनि न्यून रहेकाले नेपालमा उत्पादित चिनी बिक्रि गर्न समस्या हुँदा उद्योग बन्द गर्नुको विकल्प नरहेको उहाँ बताउनुहुन्छ ।

चकलेट विस्कुट उद्योगीका आफ्नै कुरा 

अत्यावश्यक वस्तु संरक्षण ऐन २०१२ अनुसार सरकारले चिनीलाई अत्यावश्यक उपभोग्य वस्तुको सूचीमा राखेको छ । यस्तो अत्यावश्यक वस्तु नेपालमा नपाइएपछि बाहिरबाट आयात हुन्छ । नेपालको चिनीले ४० प्रतिशत मागलाई मात्रै सम्बोधन गर्छ भने बाँकी चिनी भारतलगायत विभिन्न देशबाट आयात गर्ने गरिएको छ ।

स्वदेशी उद्योगको संरक्षणका लागि आयातित वस्तुमा भन्सारदर बढाउनु अस्वाभाविक होइन । तर चिनीमा भन्सार दर बढाउँदा उपभोक्ताले बजार सिद्धान्तअनुसार सस्तो ठाउँको चिनी उपभोग गर्न नपाउने अवस्था आउँछ । यो उदार र खुला अर्थतन्त्रको विपरीत हुन्छ । त्यसैले खुला र प्रतिष्पर्धात्मक बजारमा जसले सस्तोमा बस्तु उपलब्ध गराउँछ उपभोक्ता त्यसैको खरिद गर्छन् ।

एसियन थाइ फुड्स एन्ड कन्फेसनरीका सञ्चालक महेश जाजुले चिनीको भन्सार महसुल वृद्धिले बिस्कुट र कन्फेसनरी उद्योगलाई प्रत्यक्ष मार पर्ने बताउनुभयो । चिनी उद्योगलाई सुविधा दिने नाममा बिस्कुट र कन्फेसनरी उद्योगलाई मारमा पार्ने प्रयास भएको उहाँले बताउनुभयो ।

चिनीको मूल्यमा यस वर्ष अन्तर्राष्ट्रिय बजारमै गिरावट आएपछि आयातकर्ताले तेस्रो देशबाट पनि चिनी आयात गरेका थिए । नेपाली आयातकर्ताले यसअघि भारतबाट मात्रै चिनी आयात गर्थे । सरकारले चिनी आयातमा भन्सार महसुल बढाउँदा बिस्कुट र कन्फेसनरी उद्योग मात्र नभई, उपभोक्ता पनि महँगो मूल्यमा चिनी किन्न बाध्य हुन्छन् ।

नेपालमा उत्पादन हुने र भारतबाट आयात हुने चिनीले यहाँको माग धानिरहेको छैन । नेपालमा पाकिस्तान, बंगलादेश, ब्राजिल, थाइल्यान्डबाट चिनी आयात भइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । अहिले चिनी आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । 
मूल्य बढेपनि फरक पर्दैन 

चिनीमा भन्सारदर बृद्धि गरेपनि चिनीको मूल्य भने नबढाउन सरकारले व्यवसायीलाई आदेश दिएको थियो ।

तर व्यवसायीले भन्सारदर बढेपछि अघोषित रुपमा चिनीको मूल्य बढाउँदै आएका थिए ।  बिस्कुट र कन्फेसनरी उद्योगले पनि चिनीको मूल्य बढ्दा आफ्ना उद्योग धरासायी हुने भन्दै भन्सारदर नबढाउन लविङ गर्दै आएका थिए ।

चिनीको मूल्य बढ्दा बिस्कुट र चकलेटको मूल्य पनि बढाउनु पर्ने अवस्था आएको एसियन थाइ फुड्स एन्ड कन्फेसनरीका सञ्चालक महेश जाजु बताउनुहुन्छ ।

तर बिस्कुट र चकलेटमा मूल्य बढाएपनि उपभोक्तालाई खासै ठूलो असर पर्दैन । धेरै मात्रामा बिस्कुट र चकलेट बन्ने र वितरण पनि त्यसै अनुसार हुने हुँदा केही पैसामा बृद्धि मूल्य उपभोक्ताले तिर्नु पर्छ ।
  
तर आयातित चिनीमा भन्सार मूल्य नबढाइए लाखौँ किसानसँगै नेपाली चिनी उद्योग धरासायी हुन पुग्छ । उद्योग नै चल्न नसके उखु खेती गरेर जीविका चलाउने किसान समस्यामा पर्छन् । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया