कोरोनाको प्रकोप महामारीको रुप : विश्व स्वास्थ्य सङ्गठन

 फागुन २९, २०७६ बिहिबार ७:९:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको बताएको छ ।

बुधबार डब्ल्यूएचओको प्रधान कार्यालय जेनेभामा भएको पत्रकार सम्मेलनमा सङ्गठनका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी रुपमा निम्ताएको प्रकोपलाई महामारी भन्न सकिने बताएका हुन् । महानिर्देशक गब्रराइससले अहिले विश्वमा देखिएको गम्भीर प्रकोपबाट आफूहरु चिन्तित भएको बताए ।

उनले महामारी शब्दले मानिसमा डर उत्पन्न गराउने भएकोले जहाँ पायो त्यही प्रयोग गर्न नहुने भन्दै कोरोनाको सङ्क्रमणले भने महामारीको रुप लिएको डब्ल्यूएचओले मूल्याङ्कन गरेको बताए । विश्वमा यस किसिमको महामारी पहिलोपटक देखिएको भन्दै उनले यो कोरोना भाइरसले नै सिर्जना गरेको जानकारी दिए । 

चीनको वुहानबाट तीन महिनाअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका एक सय २३ देशमा फैलिएको छ । एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको कोरोना भाइरसका कारण चार हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन् ।

६८ हजार दुई सय ४० जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार दुई सय ७४ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने तीमध्ये पाँच हजार ९ सय ३८ जना सिकिस्त रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र तीन सय ३१ जनाले ज्यान गुमाएका छन् भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएका छन् । चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अन्य देशमा फैलने क्रम तीव्र बनेको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । 

यसैबीच इटलीमा खाद्यान्न भण्डार र औषधि पसल बाहेक सबै व्यवसाय बन्द गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण यात्रामा देशव्यापी प्रतिबन्ध लगाएको इटलीले थप प्रतिबन्धको घोषणा गर्दै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसायमा रोक लगाएको बीबीसीले जनाएको छ ।

यसलाई युरोपमा अहिलेसम्मको सबैभन्दा कडा प्रतिबन्ध भनिएको छ । घरमै सामान पुर्‍याउने सेवालाई भने अनुमति दिइएको छ । प्रधानमन्त्री जुसेफ कोन्टेले इटलीमा भाइरसको नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेकाले थप कडाइ गरिएको बताए । 

https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019/events-as-they-happen

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया