कोरोनाको कारण वैदेशिक रोजगारीमा रहेका ३ नेपालीको मृत्यु, लकडाउनले ९१ शव विदेशमै रोकियो

 बैशाख १४, २०७७ आइतबार १७:४२:३९ | सन्जिता देवकोटा

काठमाण्डौ – कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेका तीन जना नेपालीको ज्यान गएको सरकारले जनाएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार यूएईमा दुई र टर्कीमा एक गरी तीन नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो ।

 लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ९१ जनाको शव पनि उतै रोकिएको बोर्डले जनाएको छ ।  

यस्तै यो अवधिमा वैदेशिक रोजगारीमा रहेका ९५ जना नेपाली श्रमिकको ज्यान गएको छ ।  बोर्डका अनुसार विभिन्न कारणले मलेसियामा २९, साउदीमा ३०, कुवेतमा ६, कतारमा ८, यूएईमा १७ (दुईजना कोरोनाका कारण ज्यान गुमाउनेसहित), बहराइनमा १, साइप्रसमा १, सेसल्पमा १, टर्कीमा १ (कोरोनाका कारण) र दक्षिण कोरियामा १ गरी ९५ जना नेपालीको ज्यान गएको छ । 

चार जनाको शव गन्तव्य देशमै अन्त्येष्टि

वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका तीन जनाको कोरोनाका कारण ज्यान गएको आधिकारिक जानकारी आएको बताउनुभयो ।

मृत्युपछि कोरोना सङ्क्रमण भन्ने पुष्टी भएकी रुपन्देहीका बिनु पराजुलीको शव परिवारको सहमतिमा यूएईमै अन्त्येष्टि गरिएको छ । यूएईमै कोरोनाका कारण ज्यान गुमाउने धरानका युवाको भने परिवारबाट मञ्जुरी लिने प्रक्रिया भइरहेको निर्देशक श्रेष्ठले बताउनुभयो । यस्तै टर्कीमा कोरोनाका कारण ज्यान गुमाउने युवाको पनि शव उतै अन्त्येष्टि गर्नका लागि परिवारको मञ्जुरी लिन बोर्डले प्रक्रिया गरिरहेका छ ।

अन्य कारणले ज्यान गुमाएकामध्ये यूएईमा १, दक्षिण कोरियामा १ र सेसल्समा १ गरी अहिलेसम्म चार जना नेपालीको शव उतै अन्त्येष्टि गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

 १० देशमा ९१ जना नेपालीको शव भने लकडाउनका कारण उतै रोकिएको छ । 

उडान नखुल्दासम्म ल्याउन असम्भव, परिवारले सहमति दिए उतै अन्त्येष्टि गरिने

नेपालमा मात्र नभएर गन्तव्य देशले पनि अन्तर्राष्ट्रिय उडान बन्द गर्दा अवस्था सामान्य नहुँदासम्म शव नेपाल ल्याउन सक्ने अवस्था नहरेको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ । 

‘यो बेलामा पहिलो कुरा भनेको हामीले नागरिको सुरक्षाको लागि पनि शव ल्याउन सकेका छैनौं, शवसँगै कोरोना पो आउने हो कि भन्ने डर एकातिर छ भने अर्कोतिर उडान नहुँदा शव ल्याउन सकिने अवस्था नै छैन,’ श्रेष्ठ भन्नुहुन्छ, ‘आफ्नो मान्छेको मृत्युको खबर सुनेपछिको पीडा हामी बुझ्छौं, तर स्वस्थ्य मानिसलाई जोखिममा पर्ने अवस्था पनि भएकाले यसतर्फ सचेत हुनुपर्ने खाँचो छ ।’

खाडीका देश र मलेसियामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै जाँदा यी देशले लकडाउनको अवधि पनि लब्याउँदै लगेका छन् । कहिले खुल्छ, कहिले कोरोनाको जोखिम कम हुँदै जान्छ भनेर यसै भन्न सकिने अवस्था छैन । त्यसैले यो बेला कोरोनाका कारण नभइ अन्य कारणले ज्यान गुमाएकाका शवलाई परिवारको सहमतिमा गन्तव्य देशमै व्यवस्थापन गर्ने बोर्डको योजना छ । 

‘जे हुनु भैसक्यो, कहिलेसम्म कुर्नपर्छ भन्ने पनि थाहा छैन, त्यसैले परिवारले सहमति दिएमा गन्तव्य देशमै शव अन्त्येष्टि गर्ने भन्ने हो,’ बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ, ‘तर परिवारलाई आफ्नो मान्छेको अन्तिम पटक भने पनि मुख हेरौं भन्ने छ, उहाँहरुको भावनाको कदर गर्छौं, तर पनि यो असामान्य परिस्थिती भएकाले अहिले शव नेपाल ल्याउन सक्ने अवस्था छैन ।’

उहाँका अनुसार परिवारको सहमतिमै चार जनाको सदगत गरिएको छ । तर बाँकी मृतकका परिवारसँग कुरा गर्दा धेरैले असहमति जनाएपछि उतै सतदग गर्न पनि समस्या देखिएको छ । 

तर, कोरोनाकै कारण कोही नेपाली श्रमिकको ज्यान गएमा अहिलेलाई नेपाल ल्याउन सम्भव छैन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै कोरोनाको कारण ज्यान गुमाउनेको शव नेपाल ल्याउन कठिन हुने र गन्तव्य देशले पनि नदिने भएकाले गन्तव्य देशमै सदगत गर्नुको विकल्प छैन । 

मानसिक असर कम गर्न काउन्सिलिङ

वैदेशिक रोजगार बोर्डले कल सेन्टरमार्फत विदेशमा आफन्त गुमाउनेका परिवारलाई मनोसामाजिक परामर्श दिन थालेको छ ।  आफन्त गुमाउनुको पीडा र शव पनि उतै रोकिंदाको पर्खाइले परिवारलाई पर्ने मानसिक असर कम गर्न मनोसामाजिक परामर्श दिन थालिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

‘हाम्रो प्रयास त लामो समय शव कुराउनुभन्दा गन्तव्य देशमै अन्त्येष्टि गर्ने भन्ने नै हो,’ श्रेष्ठ भन्नुहुन्छ, ‘परिवारलाई पनि पर्खनुको पीडा, कहिलेसम्म कुर्नपर्ने हो थाहा छैन, शव ल्याउनुका जोखिम पनि उत्तिकै छन् ।’

लकडाउन खुल्नासाथ शव ल्याउनका लागि भने बोर्डले व्यवस्थापकीय तयारी गरेको उहाँले बताउनुभयो । अन्तर्राष्ट्रिय उडान खुलेपछि आउने शवलाई घरघरमा पु¥याउन बोर्डले एम्बुलेन्सदेखि व्यक्तिगत सुरक्षाका लागि पीपीईको समेत व्यवस्था गरिसकेको छ । 

सहयोग गर्न मृतकका परिवारसँग अनुरोध

सामान्य अवस्थामा पनि नेपालमा विदेशबाट दैनिक २ देखि ३ जनाको शव आउने गर्दथ्यो। साउदी लगायत केही देशबाट शव नेपाल आउन केही समय लाग्थ्यो । तर अहिले लकडाउनका कारणले अन्तर्राष्ट्रिय उडान रोकिंदा शव व्यवस्थापनमा सहयोग गर्न कार्यकारी निर्देशक श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

‘भोलिको अवस्था कस्तो हुन्छ भन्न सकिन्न, लामो समय शव उतै हुँदा परिवारको अनुमतिबिनै पनि गन्तव्य देशले अन्त्येष्टि गरिदिन सक्छन्,’ कार्यकारी निर्देशक श्रेष्ठ भन्नुहुन्छ, ‘त्यसैले जे हुनु भसक्यो, परिवारले सहयोग गर्नुभयो भने समयमै शव अन्त्येष्टि हुन्छ ।’

अहिले विदेशबाट फर्कनलेलाई पनि समाजले अर्कै नजरले हेर्ने समयमा शव ल्याउँदा परिवारलाई अर्को समस्या पनि हुन सक्छ ।

मृतकका परिवारसँग श्रेष्ठले आग्रह गर्नुभयो, ‘तपाईँहरुको मन मान्छ भने महिनौंसम्म शव कुर्नुभन्दा गन्तव्य देशमै शव व्यवस्थापनाका लागि अनुमति दिनुहोस्, बोर्ड तपाईँहरुको सहयोगको प्रतीक्षामा छ ।’

पालिकामार्फत नै क्षतिपूर्तिका लागि निवेदन

वैदेशिक रोजगार बोर्डले आफ्नो सेवालाई विस्तार गर्दै पालिकास्तरबाटै आर्थिक सहायतका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ । त्यसैले अहिले कोरोना वा अरु कारण विदेशमा ज्यान गुमाउनेका परिवारले पालिकाबाटै क्षतिपूर्तिका लागि निवेदन दिन सकिने बोर्डले जनाएको छ ।

पालिकामार्फत नै निवेदन दिन मिल्ने र क्षतिपूर्ति वापतको रकम बैंक खातामा जाने भए पनि आफन्तहरु अहिले पनि बोर्डमा नै आउने गरेका भन्दै कार्यकारी निर्देशक श्रेष्ठले खर्च गरेर काठमाण्डौ आउनुभन्दा पनि पालिकास्तरबाटै निवेदन दिन अनुरोध गर्नुभयो । 

लकडाउनका कारण अहिले बोर्डको सचिवालयको काम पनि बन्द छ । तर यो समयमा ज्यान गुमाउनेका परिवारले लकडाउन खुलेपछि क्षतिपूर्तिका लागि निवेदन दिन सक्छन् । 

‘अहिले इमेलमार्फत निवेदन दिन पाइन्छ कि पार्इंदैन भन्ने प्रश्न पछि छ, तर अहिले इमेलमार्फत पाइँदैन, आफ्नो पालिकामा गएर निवेदन दर्ता भने गराउन सक्नुहुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘लकडाउन खुल्नासाथ हाम्रो कार्यसञ्चालन हुनेछ ।’

पहिले नै मृत्यु भएको हो र निवेदन दिएको छैन भने पनि पालिकामा गएर निवेदन दिन सकिने पनि उहाँले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया