लकडाउनमा ताजा तरकारीको व्यापार : होम डेलिभरी गर्न सुजनलाई भ्याइनभ्याइ

 जेठ ८, २०७७ बिहिबार १८:२८:३८ | जानुका दुवाडी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको नागार्जुन नगरपालिकाको रामकोटका किसान सुजन श्रेष्ठलाई हिजोआज तरकारी घरघर पुर्याउन भ्याइ नभ्याइ छ । कृषि फार्ममा  उब्जाएको तरकारी कुहिने र उपभोक्ताले खान नपाउने स्थिति आएपछि उहाँले घरघरमा तरकारी पुर्याउन थाल्नुभएको छ । कोरोना भाइरस नियन्त्रणको लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि सुरुमा उहाँका केही तरकारी कुहिए । तर पछिल्लो समय उहाँले घरघरमा लगेर तरकारी बेच्न थाल्नुभएको छ । 

सुजनले वि.सं २०७१ सालमा ४६ रोपनी जग्गा भाडामा लिएर खेती गर्न सुरु गर्नुभयो । राम्रै आम्दानी गर्दै आउनुभएको थियो । लकडाउनभन्दा अगाडिजस्तो व्यापार नभएपनि उहाँलाई अहिले फुर्सद छैन । सुजन बिहानै आँखा मिच्दै आफ्नो कृषि फार्ममा पुग्नुुहुन्छ । बारीभरि लटरम्म फलेका काँक्रो, करेला, लौका, फर्सी, बोडी र गोलभेँडालगायतका ताजा तरकारी टिप्नुहुन्छ । अनि ग्राहकको मागअनुसार घरघरमा पुर्याउनुहुन्छ । 

फेसबुक र फोनबाट अर्डर   

लकडाउन हुनुभन्दा अगाडि हप्ताकै १ लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्दै आउनुभएका उहाँको अहिले १ लाख रुपैयाँ पुग्न महिना दिन कुर्नुपर्छ । लकडाउनअघि विभिन्न पसलबाट र हाटबजारबाट व्यापार गर्दै आउनुभएका उहाँले हाटबजार बन्द भएपछि केही पसलमार्फत् व्यापार गर्नुहुन्छ भने बाँकी उपभोक्ताहरुको घरघरमा पुर्याउनुहुन्छ । 

धेरैले फेसबुक र मोबाइलबाट तरकारीको माग गर्ने गरेका छन् । तरकारी फार्ममा उहाँको एक जना साथीको पनि लगानी छ । लकडाउनको समयमा घरघर तरकारी पुर्याउन पाउँदा उहाँ खुसी हुनुुहुन्छ । ‘लकडाउनले बजार बन्द छ । बारीमा उत्पादन भएका ताजा तरकारी घरघरमै पुगेर बेच्छु,’ उहाँले भन्नुभयो, ‘अरु विभिन्न ठाउँका किसानको सबै तरकारी कुहिएको भन्ने समाचार सुन्दै आएको छु । तर मेरो धेरैजसो तरकारी बिक्री हुन्छ ।’

तरकारीको व्यापारबाटै घर खर्च र केही बचत पनि भएको छ । कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्दै कसैलाई तरकारी छुन र छान्न  नदिने गरेको उहाँ बताउनुहुन्छ ।  सुरक्षाकर्मीबाट पनि उहाँलाई असजिलो भएको छैन । 

उपभोक्ता खुसी 

सुजन भन्नुहुन्छ, ‘लकडाउनमा ताजा र विषादीरहित तरकारी पाउन मुस्किल छ । भारतबाट ल्याइएका तरकारी विषादीयुक्त हुन्छन् । टाढाबाट आयात गरिएका तरकारीबाट कोरोना सर्छ कि भन्ने चिन्ता पनि छ । यस्तो अवस्थामास्वच्छ, ताजा र विषादीरहित तरकारी आफ्नै घरमा पाउँदा उपभोक्ताहरु खुसी छन् ।’  
स्थानीय उत्पादनलाई टिकाइराख्न उपभोक्ताले स्वदेशी कृषि उपजलाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।

भारतबाट आएका तरकारी आकर्षक देखिएपनि स्वास्थ्यको लागि त्यति फाइदाजनक नभएको सबैलाई जानकारी छ । तर थोकमा कम मूल्य पर्ने हुँदा धेरै उपभोक्ताले स्थानीय उत्पादन उपभोग गर्न नचाहेको उहाँको गुनासो छ । लकडाउनमा उपभोक्ताले स्थानीय उत्पादन सहज र स्वच्छ भएको बुझ्न थालेकाले आफू उत्साहित भएको उहाँले बताउनुभयो । 

रोगको समाधान फोनबाटै   

तरकारी तथा फलफुलमा सामान्य रोग वा किरा लाग्नु स्वभाविक नै हो । तर त्यसको समयमै उपचार नभए ठूलै नोक्सानी बेहोर्नुपर्ने हुन्छ । लकडाउनको कारण रोग र किरा लागेको तरकारीको उपचार गर्न अहिले कठिन भएको सुजन बताउनुहुन्छ । तरकारीमा लाग्ने रोग र किरासमबन्धी समस्याको समाधान पनि उहाँले फोनबाटै खोज्ने गर्नुभएको छ । तरकारीमा कुनै रोग वा किरा लागे उहाँ विज्ञहरुलाई फोनबाट सम्पर्क गर्नुहुन्छ । उहाँले वेला वेला युट्युब र गुगलमा खोजेर पनि तरकारी खेतीबारे थप जानकारी लिनुहुन्छ । 

अहिले ‘टनेल’ बनाएर धेरैजसो तरकारी खेती गर्नुपर्ने हुन्छ । टनेल खेतीको लागि आवश्यक पर्ने किलाकाँटी र प्लास्टिकलगायतका सामग्री उपलब्ध हुन सकिने अवस्था छैन । त्यस्तै रोग र किरा निर्मूल गर्न आवश्यक औषधिहरुको स्टक सकिँदै गएकोले यतिवेला तरकारी खेती केही थप चुनौतीपूर्ण भएको उहाँको अनुभव छ ।  

‘कोरोनाबारे सचेत छु’ 

डकडाउनकै समय भएपनि तरकारी तथा फलफुल किन्न मानिसहरुको भिड लाग्ने गर्दछन् । तीनै तहका सरकारले भिड नगर्न र कम्तीमा तीन फिटको दूरी कायम गर्न भने पनि त्यस्ता सुरक्षाका उपाय अवलम्बन गरेको देखिँदैन । जोखिम निम्तिने गरी ठेलमठेल हुन्छ । यसबारे सुजन सचेत हुनुहुन्छ । तरकारी किन्न जाँदा हुने भिडभाडले निम्तिन सक्ने खतरालाई कम गर्न तरकारी घरमै मगाउँदा राम्रो हुने उहाँको सुझाब छ । वेलावेला साबुन पानीले हात धुने र सेनेटाइजरको प्रयोग गर्ने गरेको उहाँले भन्नुभयो ।  

‘मागअनुसार तरकारी टिप्छु’  

लकडाउनमा ३५ देखि ४० प्रतिशत ताजा तरकारी कुहिने गरेको पाइएको छ । कतिपय किसानले बिक्री भइहाल्छ कि भनेर एकैपटक धेरै तरकारी टिप्ने गरेको तर नबिकेपछि ठूलो क्षति बेहोर्नुपर्ने स्थिति छ । सुजन भने ग्राहकको मागअनुसार मात्रै तरकारी टिप्ने गर्नुहुन्छ । उ

हाँ भन्नुहुन्छ, ‘मेरो एक सय जना ग्राहकले पाँच/पाँच किलोको दरले काउलीको अर्डर गरेका छन् भने म पाँच सय किलो मात्रै टिप्छु । बाँकी रहेको तरकारी ग्राहकको मागअनुसार भोलि र पर्सि टिप्दा पनि भयो ।’ यसरी मागलाई मध्यनजर गरी तरकारी टिप्दा उपभोक्ताहरुले ताजा तरकारी पाउने र तरकारी कुहिने जोखिमबाट किसान पनि जोगिने उहाँको भनाइ छ । 

तरकारी खेतीमा लाग्न आग्रह

स्नातकोत्तर तहको पढाइ सक्नुभएका सुजनले युएईको एउटा कम्पनीमा म्यानेजरको रुपमा ८ वर्ष काम गर्नुभयो । त्यतिवेला महिनाको एक लाख रुपैयाँभन्दा धेरै कमाइ हुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला पैसा थियो । तर जीवन थिएन । अहिले पैसा पनि छ । जीवन पनि छ । सन् २०१३ मा नेपाल फर्किएपछि उहाँले नेपाल कृषि अनुसन्धान परिषद्मा सल्लाह गरेर तरकारी खेती थाल्नुभएको हो । अहिले विदेशमा रहेका धेरै नेपालीको जागिर गुम्ने खतरा छ । त्यसैले स्वदेश फर्किएपछि कृषि पेसामा आबद्ध हुन उहाँले सबैलाई आग्रह गर्नुहुन्छ । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

जानुका दुवाडी

जानुका दुवाडी उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया