‘पहिले न्याय नपाए गोरखा जानु भन्थे, अहिले महिलाले सुरक्षा नपाए कहाँ जाने ?’

 साउन १७, २०७५ बिहिबार १४:४८:४ | उज्यालो सहकर्मी

काठमाडौं – सांसदहरुले महिला अस्तित्वको संरक्षण गर्दै महिला सुरक्षाको प्रत्याभूति गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सांसदहरुको सुरक्षाको प्रत्याभूतिका साथै महिला सुरक्षामा संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समयमा मुलुकका विभिन्न जिल्लामा बालिका बलात्कार र हत्याका घटना सार्वजनिक भइरहेका बेला राजधानीमा सांसद निरु पालमाथि नै ज्यानमार्ने धम्की आएपछि सांसदहरुले महिला सुरक्षा तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

सांसद डिला संग्रौला पन्तले सांसदलाई राजधानीमा नै ज्यान मार्ने धम्की आउनु दुखद भएको भन्दै सांसद निरु पालमाथि भएको घटनाको भत्र्सना गर्नुभयो । सांसद निरुपालमाथिको घटनाले आम सांसदहरु पनि असुरक्षाको घेरामा रहेको भन्दै घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो ।  सासदलाई नै सुरक्षा दिन नसक्ने सरकारले आम नेपालीको सुरक्षा दिन सक्दैन भन्ने प्रश्न उब्जाएको भन्दै उहाँले महिला सुरक्षा प्रति संवेदनशील हुन सरकार र गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद दुर्गा पौडेलले डोटीको बोगाटन वडा नबर ४ मा श्याम बमको असार २७ गते हत्या भएको र किटानी जाहेरीपछि ७ जनालाई नियन्त्रणमा लिएको भए पनि अनुसन्धान प्रभावकारी नभएकाले दोषिको किटानी हुन नसकेको भन्दै सरकारको ध्यनाकर्षण गराउनुभयो । उहाँले महिला हिंसाका घटना बढ्दै गएको भन्दै महिलाको सुरक्षित बाँच्न पाउने अधिकार प्रत्याभुतिका लागि दोषीलाई कडा कारवाहीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । महिला हिंसाका घटनामा कमि नआएमा महिलाको बाच्ने अधिकार नै गुम्ने अवस्था श्रृजना हुने भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शशि श्रेष्ठले प्रतिनिधिसभाका सदस्यदेखि लिएर मुलुकभरका आम महिलाले दिउँसो पनि आफूलाई सुरक्षित महसुस गर्न नसकेको भन्दै महिला अस्तित्वको संरक्षण र सुरक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘पुर्खाहरुले भन्ने गर्थे न्याय नपाए गोर्खा जानु अहिले आम महिलाले भन्ने गरेका छन् सुरक्षा नपाए कहाँ जानु ?’

 बालिकादेखि वृद्धासम्मको बलात्कारका घटनाले मुलुकभरका बालिकादेखि वृद्धासम्मलाई असुरक्षित महसुस गराएको भन्दै उहाँले बलात्कारजस्तो जघन्य अपराधमा संलग्नलाई मृत्युदण्ड सम्मको सजायको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले मुलुकभरका बलात्कारजन्य घटनाको गम्भीर अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले बहुमतको सरकारलाई असफल बनाउनका लागि पनि कतै षड्यन्त्र त भइरहेको छैन भनि प्रश्न गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया