सम्झिइयो हिरोसिमामा अमेरिकाले गरेको नरसंहार

 साउन २१, २०७५ सोमबार १६:२:४० | एजेन्सी
unn.prixa.net

जापानको हिरोसिमा शहरमा आजभन्दा ७३ वर्षअघि दोस्रो विश्वयुद्धका क्रममा विश्वमै पहिलो पटक भएको आणविक बम हमलाको सोमबार स्मरण गरिएको छ । 

सोमबार बिहान हिरोसिमा शहरमा घण्टा बजाएर उक्त नरसंहारको स्मरण गरिएको थियो । जापानभर आज त्यस नरसंहारको स्मरण गरिएको छ ।

 

हिरोसिमामा सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले गरेको आणविक बम आक्रमणबाट भएको नरसंहारको स्मरण गर्न हिरोसिमामा रहेको शान्तिपार्कमा हजारौँ नागरिक जम्मा भएका थिए । झण्डै १ लाख ४० हजारभन्दा बढी नागरिकको हिरोसिमामा ज्यान गएको थियो भने त्यसको तीनदिनपछि अर्थात अगष्ट ९ मा नागासाकीमा भएको आक्रमणमा झण्डै ७० हजारभन्दा धेरै नागरिकले ज्यान गुमाएका थिए । त्यसपछि जापानले आत्मसमर्पण गरेको थियो र दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो ।

सन् १९४५ मा आजकै दिन बिहान अमेरिकी सैनिकको एक युद्धक विमानले बी–२९ नामको आणविक बम जापानको बन्दरगाह शहर हिरोसिमामा खसालेको थियो । त्यस बमको नाम ‘लिटिल ब्वाइ’ राखिएको थियो ।

त्यस बमको असरबाट कम्तीमा पनि १ लाख ४० हजार हिरोसिमावासी नागरिकको ज्यान गएको थियो । बमको असरले अरु हजारौँ व्यक्ति नराम्ररी प्रभावित भएका थिए । 

सोमबार बिहान हिरोसिमा शान्ति पार्कमा उक्त नगरका नगर प्रमुख काजुमी मात्सुइ वार्षिक समारोहमा सहभागी हुनुभएको थियो र आणविक अस्त्र बिनाको विश्वको लागि विश्व समुदायसँगै अपिल गर्नुभएको थियो। उहाँले राष्ट्रवादले विश्व शान्ति खल्बलिएको बताउनुभएको थियो ।

संसारका देशहरुमा बढ्दो राष्ट्रियतावादको नारा आणविक अस्त्र बिनाको विश्वको लागि एक चुनौती बन्दै गएको उहाँको भनाई थियो । 

कुनै पनि देशको नाम नलिई उहाँले भन्नुभयो, ‘विश्वका कतिपय देशहरुले आत्मकेन्द्रित रुपमा नै राष्ट्रियतावादको नारा दिएका छन् र यसको संरक्षणका लागि भन्दै आणविक अस्त्रहरुको आधुनिकीकरण गरिरहेका छन् ।’ 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यस्ता आणविक अस्त्रहरुको वृद्धि गर्ने कुरा गरेको एक वर्षपछि हिरोसिमाका नगर प्रमुख मात्सुइले विश्वबाटै यस्ता हतियारहरुको उन्मूलन गर्न आग्रह गर्नुभएको हो । 

उहाँले भन्नुभयो, ‘आणविक अस्त्र उन्मूलन गर्ने प्रयासहरुलाई निरन्तरता दिइनैपर्छ । यस्ता हतियारहरु निर्माण नगर्ने र त्यस्ता देशलाई पनि सहयोग नगर्ने जापान सरकारको नीति छ ।’ 

दोस्रो विश्वयुद्धको उत्तरार्धतिर अमेरिका र जापानबीच युद्ध भएको थियो । त्यस क्रममा अमेरिकाले जापानको हिरोसिमामा अगष्ट ६ र नागासाकीमा अगष्ट ९ मा अणु बम हानेको थियो । 

नागासाकीमा गरिएको त्यो हमलाबाट ७४ हजार जापानी नागरिकको ज्यान गएको थियो । अरु हजारौँ नागरिकमा यस बमको प्रभावले स्वास्थ्यमा नकारात्मक प्रभाव परेको थियो । पछि सम्म पनि आणविक बमको विकिरणका कारण अंगभंग भएका थिए ।

अमेरिकले जापानको हिरोसिमामा गरेको आक्रमणपछि सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति बाराक ओबामा हिरोसिमा पुग्नुभएको थियो । उहाँ त्यस शहरमा सन् २०१६ को मे महिनामा पुग्नुभएको थियो ।

सन् १९४५ अगष्ट ६ र अगष्ट ९ मा भएको हमलापछि विश्व राजनीतिले ६ दशक नयाँ मोड लिएको थियो । सन् १९९१ मा सोभियत युनियनको पतन भएपछि विश्व राजनीतिमा आतंकवादले पनि जरो गाड्यो । विश्वका शक्तिशाली देशहरु अहिले आतंकवादसँग जुधिरहेका छन् ।

आणविक हतियारको प्रयोग विश्वमै निस्तेज पार्ने विश्व राष्ट्रहरुले भने पनि सिरिया युद्ध, उत्तर कोरियाको आणविक कार्यक्रम, इरानको आणविक क्रियाकलाप, भारत र पाकिस्तानबीच जम्मू–कश्मीरमा भएको सीमा विवाद जस्ता समस्याले आणविक कार्यक्रमको विकास भैरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया