माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजनाले अर्को वर्षदेखि विद्युत् उत्पादन सुरु गर्ने

 कात्तिक १, २०७७ शनिबार ११:४७:२९ | हिमनाथ देवकोटा
unn.prixa.net

रसुवा - माथिल्लो मैलुङ 'ए' जलविद्युत् आयोजनाले अर्को वर्षदेखि विद्युत् उत्पादन सुरु गर्ने भएको छ ।

रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको ६.४२ मेगावट क्षमताको आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन गर्ने भएको हो । आयोजनाका अनुसार अहिले आयोजना निर्माणतर्फ ९८ प्रतिशत काम सकिएको छ । आयोजनामा अब करिब ६ महिनाको काम बाँकी रहेको आयोजना प्रमुख जितमान शेर्पाले बताउनुभयो ।

‘नियमित काम गर्न सकिएमा करिब ६ महिनामा काम सकिन्छ’, उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा वर्षको ६ महिनामा मात्र काम हुने भएकाले उत्पादन तालिका केहीपछि धकेलिए पनि अबको एक वर्षमा हामी विद्युत् उत्पादन सुरु गर्छौँ।’

आयोजनाले प्रसारण लाइन निर्माणतर्फको काम मात्र बाँकी रहेको जनाएको छ । उहाँका अनुसार प्रसारण लाइनको काम तिहारपछि सुरु हुन्छ । हिउँ पर्ने समय, वर्षा र चाडपर्वको समयमा आयोजनामा काम नहुने भएकाले आयोजना निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो । ‘साइडमा रहेका कामदार दशैँ मनाउनका लागि घर जाने तयारीमा छन्’, उहाँले भन्नुभयो, ‘अब कामदार फर्किएपछि बाँकी काम अगाडि बढ्छ ।’

तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न हुन नसकेपछि अहिलेसम्म तीन पटक म्याद थप भइसकेको छ । आयोजनाका अनुसार भूकम्प, नाकाबन्दी, ठेकेदार परिर्वतन, भौगोलिक विकटता, कोभिड-१९, हिउँ पर्ने समयमा काम गर्न नसकिनेलगायतको कारण समयमा नै विद्युत् उत्पादन हुन नसकेको हो ।

 हरेक वर्ष असारदेखि भदौसम्म र पुषदेखि चैतसम्म दुई चरणमा निर्माण कार्य अवरुद्ध हुने गरेको छ । आयोजनाको निर्माणको काम २०६९ सालदेखि सुरु भएको हो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया