अझै सुरु भएन स्याफ्रु-रसुवागढी सडकखण्डकाे स्तरोन्नतिकाे काम

 पुस १२, २०७७ आइतबार ११:४०:३९ | हिमनाथ देवकोटा
unn.prixa.net

रसुवा - चिनियाँ लगानीमा स्तरोन्नति हुन लागेको स्याफ्रु-रसुवागढी सडकको काम अझै सुरु हुन सकेको छैन ।

रसुवागढी नाका जोड्ने स्याफ्रु-रसुवागढी सडकखण्डमा पर्ने बिजुलीको पोल सार्ने, घरटहरा हटाउने तथा मुआब्जा वितरणको काम समयमै हुन नसक्दा स्तरोन्नतिको काम सुरु हुन नसकेको हो । यो सडकको स्तरोन्नति १४ महिनाअघि सुरु गरिएको थियो ।

चिनियाँ टोलीले २०७६ असोजमा नै स्तरोन्नति सुरु भएको घोषणा गरेका थिए । तर नेपाली पक्षले सडकखण्डमा पर्ने संरचना हटाएपछि मात्रै काम सुरु गर्ने गरी टोली फर्किएको थियो । त्यसयता नेपाली पक्षले बिजुलीको पोल सार्ने, घरटहरा भत्काउने तथा मुआब्जा वितरण गर्नेलगायतका काम सुरु गरे पनि प्रभावकारी रूपमा काम हुन सकेको छैन ।

मुआब्जा वितरणको काम अझै सुरु भएको छैन । घरटहरा हटाउने काम पनि सकिएको छैन । त्यसैगरी ६ महिनाअघि सुरु भएको बिजुलीको पोल सार्ने काम आधा मात्रै सकिएको छ । सडकखण्डमा पर्ने ३ सय २५ वटा पोल हटाउनुपर्नेमा झण्डै ५० प्रतिशत पोल हटाइएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले जनाएको छ ।

योजना प्रमुख नारायणदत्त भण्डारीकाअनुसार साइड क्लिएर गरेपछि मात्र चिनियाँ टोलीले आफ्नो काम सुरु गर्ने छ । नेपाली पक्षले जति छिटो काम गर्न सक्यो त्यति छिटो स्तरोन्नतिको काम सुरु हुने उहाँले बताउनुभयो । काम सुरु गर्न अझै केही समय लाग्ने उहाँको भनाइ छ ।

३९ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी चिनियाँ टोलीले कामअघि बढाएको थियो । स्याफ्रु-रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेकोमा चिनियाँ पक्षले १५ दशमलव ८ किलोमिटर स्तरोन्नति गर्नेछ । यो अहिले एक लेनको कच्ची सडक हो । चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने छ  ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हिमनाथ देवकोटा

रसुवाका पत्रकार हिमनाथ देवकोटाका उज्यालोका पनि जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया