धर्तीमै ‘स्वर्ग’ को अनुभूति गराउने तिलिचो ताल ! (फोटोफिचर)

 चैत १, २०७७ आइतबार १९:९:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – जीवनमा एकचोटि भए पनि ‘तिलिचो ताल’ पुग्ने धेरै पहिलेदेखिकै धोको थियो, सन्देश सापकोटाको । स्याङ्जा घर भएका सापकोटा अहिले सुन्दरबजार नगरपालिकाकाे प्राविधिक शाखामा अमिनका रूपमा काम गर्दै आउनुभएको छ ।

तिलिचो पुग्ने योजनामा उहाँसँगै सरिक भए साथीहरू परेक बोहोरा, सन्दीप केसी, विदुर सुवेदी, विकास सेढाईँ, विनोद विष्ट, ऋषिराम पौडेल र सुरेन्द्र पोख्रेल । उनीहरू सबै सुन्दरबजार नगरपालिकामा कार्यरत कर्मचारी हुन् ।

बिदा र फुर्सदको समय मिलाएर उनीहरू तिलिचो यात्रामा निस्कने योजना बनाए । गएको बुधवार दिउँसो ३ बजे उनीहरू सुन्दरबजारबाट तिलिचो यात्रामा मोटरसाइकलमा हुइँकिए । उनीहरूको यात्रामा सहभागी भए मर्स्याङ्दी गाउँपालिकामा कार्यरत भेषराज लम्साल, अर्जुन चपाइँ, अशोक अधिकारी पनि ।    

उनीहरू मोटरसाइकल यात्रापछि बेलुकी ९ बजे मनाङ धारापानी पुगे, रातमा यतै बास बसे ।

भोलिपल्ट (बिहीवार) बिहानै ७ बजे उनीहरू त्यहाँबाट निस्के, १२ बजे पिसाङ हुँदै साढे २ बजे मोटरसाइकलमा खाङ्सार पुगे ।

त्यसपछि उनीहरू पैदल हिँडेरै तिलिचो ताल बेस क्याम्पसम्मको यात्रामा अघि बढे ।

‘तिलिचो लेक’ पुग्ने ‘एक्साइटमेन्ट’ !

अँध्यारोमै उकालो, ठाडो, साँघुरो बाटो हिँड्दै उनीहरू ९ बजे बेस क्याम्प पुगे । निरन्तरको यात्राको थकाइले ‘लखतरान’ भएका उनीहरू बेस क्याम्पमै बास बसे । बेस क्याम्प पुगेपछि, ‘ड्रिम प्लेस’ ‘तिलिचो लेक’ कति बेला पुग्ने होला ? भन्ने उत्साह उनीहरूको मनमा थियो ।

‘बेस क्याम्प पुगेपछि कति बेला तिलिचो पुगिएला भन्ने ‘एक्साइटमेन्ट’ थियो’, सन्देशले भन्नुभयो, ‘बेस क्याम्पमा रहेकाे होटलमा बस्दा तिलिचो पुगेर फर्किएकासँग छलफल पनि गरियो ।’

शुक्रवार बिहानै ७ बजे उनीहरूले बेस क्याम्पबाट तिलिचो तालको यात्रामा पाइला अघि बढाए ।

तिलिचो ताल पुग्दाको खुसी : ‘शब्दमा बयान नै गर्न सकिन्नँ’

निरन्तरको यात्रापछि उनीहरू १२ बजे तिलिचो ताल पुगे । उनीहरूले तिलिचाे तालकाे प्राकृतिक सौन्दर्यलाई आँखै अगाडि नियाल्न पाए । उनीहरूले उकालो बाटो हिँडेको सारा थकाइ क्षणभरमै भुलिहाले ।

चिसो बतास चलिरहेको, हिमालको काखैमा रहेको संसारकै बढी उचाइमा रहेको हिमताल तिलिचो ताल आँखै अगाडि नियाल्न पाउँदा उनीहरूलाई ‘संसारै जितेको’ अनुभूति भयो ।

‘तिलिचो ताल पुग्दाको खुसी शब्दमा बयान नै गर्न सकिँदैन’, उत्साहका साथ सापकोटाले भन्नुभयो, ‘यहाँ पुगेपछि त सारा थकाइ भुलियो । आँखै अगाडि धर्तीमै ‘स्वर्ग’को अनुभूति भयो ।’

उनीहरू यस तालमा पुग्दा अन्य १५/२० जना आन्तरिक पर्यटक पनि तिलिचो पुगिसकेका थिए, उनीहरू फोटो भिडियो खिच्न व्यस्त थिए ।

उनीहरूले झण्डै दुई घण्टाकाे समय तिलिचो तालमा बिताए । ‘हिउँ खेलियो । तस्बिर खिचाइयो । तिलिचो तालमा रमाएपछि फर्कियौँ’, उहाँले भन्नुभयो ।

त्यसपछि उनीहरूको टोली बेस क्याम्पतर्फ झर्‍याे । शुक्रवार बेसक्याम्पै बास बसेर उनीहरू शनिबार बिहान फर्किए ।

जीवनकै सुखद क्षण !

मन मिल्ने साथीहरूसँगको तिलिचोसम्मको चार दिने यात्रा जीवनकै सुखद क्षण रहेको सन्देशले सुनाउनुभयो । ‘तिलिचो ताल जीवनमा एकचोटि भए पनि पुग्नुपर्ने ठाउँ रहेछ’, उहाँले भन्नुभयो, ‘तिलिचो पुगियो । त्यो क्षण जीवनकै अविस्मरणीय क्षण हो ।’

संसारकै अनुपम सौन्दर्यको रूपमा रहेको यस हिमताल सामुद्रिक सतहदेखि चार हजार नाै सय १९ मिटर उचाइमा छ ।

प्राकृतिक सौन्दर्यमा पर्यटक भुतुक्कै !  

उहाँका अनुसार तिलिचो तालमा बिहान १० बजेदेखि चिसो हावा बहन थाल्छ । तिलिचो तालसम्म पुग्नका लागि तयारीका साथै आवश्यक औषधि र साथीको साथमा जानुपर्ने त्यहाँ पुगेर फर्कनेहरू सुझाउँछन् ।

ताल नजिकैबाट देखिने मुसुक्क मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृङ्खलाकाे दृश्यले पर्यटक भुतुक्कै हुन्छन् ।

प्राकृतिक रूपले मात्र नभइ धार्मिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ, तिलिचो ताल । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्तीअनुसार धार्मिक आस्था राख्नेहरू तीर्थ, व्रतका लागि पनि तिलिचो तालसम्म पुग्छन् ।

जानकारहरूका अनुसार मुख्यतः असोजदेखि पुस महिनासम्म तिलिचो पुग्ने उचित समय मानिन्छ । फागुनदेखि वैशाखसम्म दोस्राे सिजनको रूपमा लिने गरिएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया