बादलभित्र मुस्कुराएको हिमाल ! (फोटो फिचर)

 जेठ १५, २०७८ शनिबार ९:४८:२९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - हिमालका साथै देशको महिमा समेटिएको शब्दमा रामकृष्ण ढकालले गाएको गीत ‘बिहान उठ्ने बितिकै हिमाल देख्न पाइयोस्......’ या राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेले कोर्नुभएको ‘लाग्दछ मलाई रमाइलो मेरै पाखापखेरो, हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो...’ यी र यी जस्ता थुप्रै गीत, साहित्यमा हिमालको चर्चा गरिएको पाइन्छ । 

नेपालको राष्ट्रियता, गौरव र शानसँग जोडिएका विषय पनि हुन्, हाम्रा हिम श्रृङ्खलाहरु । नेपालमा रहेका थुप्रै हिम श्रृङ्खलाहरु पर्यटकको रोजाइमा पर्छन् । हिमालको सौन्दर्य आँखै अगाडि नअघाइन्जेलसम्म हेर्नुका साथै हिमाल आरोहण गर्ने प्राय: धेरैको सपना हुन्छ । 

कवि, गीतकार, साहित्यकारका सिर्जनामा मात्र होइन ‘बादलुको घुम्टो’ओढी मुसुक्क मुस्कुराएको हिमाल देख्दा कस्को मन पो प्रफुल्लित नहोला र ! त्यसैमध्येको एक सुन्दर हिम शृङ्खला हो, ‘हिमालचुली’। लमजुङको दोर्दी गाउँपालिकाको उत्तरी भेगमा रहेको यस हिमाल देख्दैमा सबैको मन प्रफुल्लित हुन्छ । यसैलाई मुहान बनेर बगेको छ, हिमनदी दोर्दी खोला । 

यस हिमालमा आजसम्म आरोहण नभएको जानकारहरु बताउँछन् । धेरै वर्ष पहिले यस हिमालमा विभिन्न समयमा आरोहण टोलीले आरोहण परीक्षण गरेता पनि सफल नभएको उनीहरु बताउँछन् । ‘धेरै पहिले विभिन्न आरोहण टोली आएर यस हिमालमा आरोहण परीक्षण भएको थियो । तर सफल नभएको बुझिन्छ,’ दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले भन्नुभयो ।

यसैगरी, लमजुङको दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिका क्षेत्रमा रहेका घुम्ती गोठहरु बर्सेनि हिमालचुलीको काखैमा पुग्छन् । पशु चौपायाका लागि प्रशस्त घाँस हुने भएकाले जेठ महिनामा यस हिमालको काखैमा पुगिने र असार, साउन, भदौ महिनासम्म यतै घुम्ती गोठ राखिने गरिएको भेडीगोठाला कुमार गुरुङले बताउनुभयो ।

‘यहाँ प्रशस्त घाँस हुन्छ । त्यसैले बर्सेनि घुम्ती गोठ हिमालचुलीको काखैमा पुर्याइन्छ,’ उहाँले भन्नुभयो। घामको झुल्को पर्दा ‘मोहनी’ मुस्कान छरी मुस्कुराएकी हिमालचुली देख्दा सबैको मन रोमाञ्चित हुन्छ ।

हिमालचुलीको सौन्दर्यलाई दोर्दी गाउँपालिकाको उत्तरी भेगमा अवस्थित कैँलो माडी, कोदो खर्क, पिरिम्चे डाँडाबाट आँखै अगाडि देख्न/हेर्न पाइन्छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया