एसिया कप छनोट : नेपालको दोस्रो जित, सिंगापुर चार विकेटले पराजित

 भदौ १७, २०७५ आइतबार १३:०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप छनोट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले सिंगापुरलाई चार विकेटले हरायो ।

सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा पूरा गरेको हो । नेपालको जितमा अनिलकुमार साहले ४३ रन जोडेका थिए । ओपनिङ आएका अनिलले ३२ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

यसैगरी दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाउँदा ३ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्लले २९ रन जोड्दा सुवास खकुरेल र सागर पुनले १४–१४ रन जोड्दा पारस खड्काले ११ रन जोडे । मोहम्द आरिफ शेख ४ तथा सोमपाल कामी ० रनमा नटआउट रहे । सेलाडोर विजयकुमार र अनन्त कृष्णले दुई–दुई विकेट लिएका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भएको थियो । सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुरुवात राम्रो गर्न नसकेको सिंगापुर विरुद्ध नेपाली बलर हावी भए । पहिलो ओभरमा नै सोमपाल कामीले विकेट लिदा सिंगापुरले खाता खोलेको थिएन ।

त्यसपछि उसले १८ रन बनाउदा तीन विकेट गुमाएको थियो । सिंगापुरका सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन् । चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेजारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।

तर उनको जोडीलाई दिपेन्द्र ऐरीले तोडे । अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो । तर सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन ।एक सय १८ रन बनाउदा सिंगापुरका ६ जना खेलाडी पेभेलियन फर्किएका थिए । जब उसका कप्तान चेतन ६० रनमा आउट भए त्यसपछि सिंगापुरको पारी पुरै खस्कियो ।

नेपाली बलरसँग संघर्ष गरेर खेलेका उनले टिमका लागि कप्तानी पारी खेले । बलिङतर्फ ललित राजवंशी र सन्दीप लामिछाने तीन तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया