अंग्रेजलाई युद्धमा हराएको २०० औँ उत्सव : मध्यरातमा रथ, आगोको झिल्काले चम्कियो तानसेन

 भदौ १८, २०७५ सोमबार ११:२५:० | देव पचभैया
unn.prixa.net

पाल्पा – अंग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा सोमबार पाल्पाको तानसेनमा  श्री रणउजिरेश्वरी भगवतीको २०० आैँ बिजय उत्सव मनाइएको छ । जात्राको अघिल्लो दिन आइतबार राति आतिसवाजी, लाखेनाच प्रस्तुतसँगै भगवतीको रथ उचालेर बली दिइएको छ । 

रातभरी जाग्राम बसेर भगवतीको महिमा गाइएको र सोमबार बिहानैदेखि पूजा पाठ भैरहेको भगवती मन्दिर गुठि व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले जानकारी दिनुभयो ।  सोमबार साढे १२ बजे कर्णेलपुजा गरेर रथ उठाउने र सरकारी पुजा पछि भगवतीको रथलाई बजार परिक्रमा गराउने तयारी छ । 

नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक बर्ष मनाइँदै आइएको हो । अंग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानुअघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने  भाकल गरेको र विजय पश्चात् जात्रा मनाउन सुरु भएको इतिहासमा उल्लेख छ ।

पाँचवटा नाकाबाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार व्यहोर्नु परे पनि जितगढीको लडाँइमा अंग्रेज फौजलाई नेपाली फौजले हराएको थियो । त्यसैको संझनामा विक्रम सम्वत् १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठि व्यवस्थापन समितिका सचिव भीमसेन कार्कीले जानकारी दिनुभयो ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया