बसपार्कमा यात्रुलाई तानेर सास्ती दिने सात पक्राउ

 भदौ २७, २०७५ बिहिबार ५:३०:३९ | रासस

सुर्खेत - बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । 

आफ्नो निश्चित गन्तव्य तय गरी आरामदायी यात्राको सोचका साथ आउने यात्रुलाई असहज वातावरण सिर्जना गर्ने गरेकाले सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका–१ का २३ वर्षीय अर्जुन मल्ल, सुर्खेतको गुर्भाकोट नगरपालिका–६ का १८ वर्षीय महेश सोमैमगर र वीरेन्द्रनगर नगरपालिका–९ का २५ वर्षीय चक्रबहादुर शाही रहेका छन् । 

त्यसैगरी, जुम्ला डुग्रीका १९ वर्षीय रमेश शाही र अछामको तुर्मखाँद गाउँपालिका–७ का १८ वर्षीय नमराज न्यौपाने, वीरेन्द्रनगर–९ का २८ वर्षीय नकेन्द्र खत्री र ३८ वर्षीय सन्दीप परियारलाई यात्रुलाई जबर्जस्ती गाडीमा चढाउन क्रममा नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताउनुभयो । गाडीमा चढाउन सर्वसाधारणलाई जबर्जस्ती तान्ने र नआउने यात्रुलाई अभद्र व्यवहार गर्ने विभिन्न यातायातका कर्मचारीलाई नियन्त्रणमा लिइएको प्रवक्ता चौधरीले बताउनुभयो । 

यातायात व्यवसायीले यात्रुलाई दैनिक तानेर सास्ती दिने गरेको जनगुनासो बढेपछि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुको दादागिरीले दैनिक यात्रुले सास्ती भोग्दै आइरहेका थिए । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया