निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नाममा सरकारले ब्रम्हलुट मच्चाउन खोजेको आरोप

चीनसँग जोडिएका नाकाहरुमा पूर्वाधारको संरचना सुधार गर्न सांसदहरुको माग

 भदौ ३१, २०७५ आइतबार १६:४९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले चीनसँग जोडिएका नाकामा नेपालको पूर्वाधारको अवस्था सुधार गर्न सरकारसँग माग गरेका छन् ।

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले चीनसँग पारबहन प्रोटोकलमा सहमति जुटाउने ऐतिहासिक र क्रान्तिकारी काम गरेकोमा आभार व्यक्त गर्दै चीनसँग जोडिएको नाकामा नेपालको पूर्वाधारको अवस्था सुधार गर्न सरकारसँग माग गर्नु भएको हो ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले चीनसँगको प्रोटोकलमा जुटेको सहमतिले नेपालले तेस्रो मुलुकसँग सिधा आवातजावत गर्न सक्ने भए पनि नेपालतर्फको नाकाहरुको अवस्था नाजुक रहेकोे बताउनुभयो । सांसद भट्टराईले नेपाल तर्फको नाकामा यातायातको पूर्वाधारमा सुधार गर्न तत्काल काम गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नाममा सरकारले ब्रम्हलुट मच्चाउन खोजेको आरोप लगाउनुभयो । उहाँले विमानस्थल निर्माणको नाममा लाखौं रुख कटानी गर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सांसद राजभण्डारीले उपराष्ट्रपतिको कार्यालय लैनचौंरस्थित समाज कल्याण परिषदमा बनाउने सरकारको निर्णयको पनि विरोध गर्नुभयो । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही नगरे  सरकारको प्रतिष्ठानमै गम्भिर आँच आउने चेतावनी दिनुभयो । उहाँले पहुँचवाला व्यक्तिको त्योे घटनामा हात रहेको उल्लेख गर्दै रोशनी बम र बबिता बमलाई पनि छानबिनको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।

हुम्लाका सांसद छक्कबहादुर लामाले शिक्षा सेवा आयोगको परीक्षा हुम्लाको सिमिकोटमा लिने व्यवस्था गर्न माग गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया