ए डिभिजन लिगको ट्रफी टुर सुरु

 असोज १, २०७५ सोमबार १८:४४:५९ | उज्यालो सहकर्मी

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले  सहिद स्मारक ए डिभिजन लिगको ट्रफी टुर सुरु गरेको छ । 

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ट्रफी टुरको शुभारम्भ गरेका हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रंगशाला पुनर्निर्माणकै चरणमा रहेकाबेला एन्फाले  पहिलो पटक औपचारिक कार्यक्रम रंगशालामा गरेको हो ।  उपत्यकाका विभिन्न सात स्कूलहरुमा  गरिने ट्रफी टुर अन्र्तगत आज विश्व निकेतनका विद्यार्थीहरु  सहभागी भएका थिए ।

‘स्कोर अ गोल’ नाम दिइएको ट्रफी टूरमा नेपालका अन्तरराष्ट्रिय खेलाडी, प्रशिक्षक र सेलिब्रेटीहरुको समेत उपस्थिति थियो ।

यो टुर काठमाडौंका पाँच विद्यालय तथा ललितपुर र भक्तपुरको एक–एक स्थानमा  गरी सात स्थानमा गरिने छ ।

ट्रफी टुरको शुभारम्भ गर्दै एन्फा अध्यक्ष शेर्पाले ग्रास रुटसम्म फुटबल पुर्‍याउन यो कार्यक्रम गरिएको जानकारी दिए । विद्यालय तहबाटै खेलाडीहरु उत्पादन हुने भएकाले उनीहरुमा फुटबलप्रति खेलभावना जगाउन  ट्रफी टुरको परिकल्पना गरिएको पनि बताए । उनले बालबालिकाहरुलाई फुटबलमा लाग्दा  भविष्यमा  राम्रो खेलाडी बन्न सक्ने बताएका थिए ।

नेपाली टिमका कप्तान विराज महर्जनले पहिला नेपालीहरुले फिफाले विश्वकप ट्रपी  टुर गरेको सम्झँदै   एन्फाले गरेको यो कामको प्रशंसा गरेका थिए ।

पूर्व  कप्तान उपेन्द्रमान सिंहले सानै उमेरदेखि फुटबलमा  लाग्न प्रेरणा दिने उद्देश्यले एन्फाले ग्रासरुट कार्यक्रम सुरु गरेको जानकारी दिँदै यसले भविष्यमा राम्रो गर्ने बताए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया