डोटीमा ३ सय ४३ पदको लागि १ हजार ६९ जनाको उम्मेदवारी

 बैशाख १४, २०७९ बुधबार १०:५८:२९ | विमल बिष्ट
unn.prixa.net

डोटी – यही वैशाख ३० गते हुने पालिका तहको लागि डोटीमा रहेका नौ वटा स्थानीय तहका ३४३ पदको लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा दिपायल सिलगढी नगरपालिकाको प्रमुखको लागि मात्रै ७ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखको लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

दिपायल सिलगढी नगरपालिकाको नौ वटा वडा अध्यक्षको लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुल्ला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिनुभयो । डोटीकै अर्को नगरपालिका शिखर नगरपालिकाको प्रमुखमा ५ जना र उपप्रमुखमा ३ जनाको उम्मेदवारी परेको छ। शिखर नगरपालिकामा ५७ पदमा १४८ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिकामा ३७ पदको लागि ११६ जनाको उम्मेदवारी परेको छ। सायल गाउँपालिकामा ३२ पदको लागि ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आदर्श गाउँपालिकामा ३७ पदको लागि १२० जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी केआइसिंह गाउँपालिकामा ३७ पदको लागि ११८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदको लागि ११५ जनाको उम्मेदवारी परेको छ। बडीकेदार गाउँपालिकामा २७ पदको लागि ८२ जनाले उम्मेदवारी परेको छन् भने जोरायल गाउँपालिकामा ३२ पदको लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएको स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन् ।

डोटीमा जम्मा सात वटा पार्टीले उम्मेदवारी दर्ता गराएको बताइएको छ । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डोटीका नौँ वटा पालिकामा कुल जम्मा ६५ वटा वडा रहेका छन् । जिल्लामा राजनैतिक दलहरुको उम्मेदवारी दर्ता भएसँगै नेताहरुले अहिले घरदैलो अभियान चलाएका छन् । नेता तथा कार्यकर्ताहरु गाउँ गाउँमा घर दैलो अभियान लिएर पसेपछि गाउँमा निकै चहल पलह बढेको दिपायल सिलगढी नगरपालिका–४ का जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “नेताहरु गाउँमा पसेका छन्, सुनसान भएका गाउँमा अहिले रमाइलो भइरहेको छ ।”

डोटीमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले तालमेल गरी पाँच पालिका तहको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले तथा चार स्थानीय तहमा नेकपा (एकीकृत समाजवादी) ले निर्वाचनमा भाग लिएका छन् । यहाँका राजनैतिक पार्टीका नेता कार्यकर्ताहरु अहिले घरदैलो अभियान अन्तरगत गाउँका नागरिकसँग भेटघाट कार्यक्रममा जुटेका छन् । यसपटक स्थानीय तहमा नयाँ अनुहार सहित युवाहरु बढी उम्मेदवार भएकाले युवाले विकास गर्न सक्नेमा यहाँका स्थानीयहरु आशावादी बनेका छन् । नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) बीच जिल्लामा ताल मेल भएपछि सँगै घरदैलो अभियानमा जुटेका छन् भने नेपाली कांग्रेस र नेकपा एमालेका नेता कार्यकर्ताहरु भने अलग अलग अभियान लिएर हिँडिरहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया