मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग

 जेठ १२, २०७९ बिहिबार १९:१६:३६ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियन ईयू राजदूत नोना डिप्रेजबीच आज बिहीवार मन्त्रालयमा भेट र छलफल भएको छ । उहाँहरूबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको प्रतिबन्धबाट कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिनुभयो ।

भेटमा मन्त्री आलेले राजदूत डिप्रेजलाई नेपाली आकाश सुरक्षित रहेको भन्दै भन्नुभयो, आईकाओको नतिजाले नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाली विमानलाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउनुपर्छ ।’ 

मन्त्री आलेसँगको भेटमा राजदूत डिप्रेजले नेपाललाई ईयूको प्रतिबन्ध सूचीबाट हटाउने भन्ने कुरा प्राविधिक विषय भएकाले यसबारे छलफल गरी जानकारी गराउने बताउनुभयो ।

आठ वर्ष अगाडि ईयूले नेपालको हवाई सुरक्षा कमजोर भएको मूल्याङ्कन गर्दै कालोसूचीमा राखेको हो । नेपालले हवाई सुरक्षाको क्षेत्रमा राम्रो सुधार गरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले नेपालको नाम आफ्नो कालोसूचीबाट हटाइसकेको छ । ईयूले नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पाइलटको योग्यता र तालिम हुनुपर्ने जनाएको थियो । 

भेटका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीपकुमार अधिकारीले अहिले प्राधिकरणले आईकाओको मापदण्डअनुसार पाइलटको योग्यता र तालिम व्यवस्थित रहेको दाबी गर्नुभयो । अहिले नेपाल वायु सेवा निगम, बुद्ध एअर र हिमालय एअरलाइन्स गरी तीन वटा नेपाली वायु सेवाले अन्तर्राष्ट्रिय उडान गर्ने गरेका भए पनि ईयूको कालो सूचीबाट नहटेसम्म युरोप उडान गर्ने अवस्था नभएको हो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया