नयाँ बसपार्कमा टिकट लिनेको भिड छैन, काउन्टरका कर्मचारी सोध्छन् : यात्रुले किन माया मारे ?

 असोज ९, २०७५ मंगलबार १९:४२:२५ | अर्जुन पोख्रेल

काठमाडौं – केही दिन अडान लिएको नाटक गरे पनि सरकारले खुरुक्क १० प्रतिशत भाडा बढाएपछि समितिसम्बद्ध यातायात व्यवसायीले मंगलबारदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला गरे ।

पोहोर परार टिकट खुल्दाको दिन नयाँ बसपार्कमा खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो । टिकट काट्न दलाल लगाउनुपर्ने अवस्था आउँथ्यो । गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङलगायतका जिल्लाको लागि त खुलेकै दिन टिकट सकिन्थ्थो ।

तर यसपटक भने नयाँ बसपार्कमा दसैँको लागि अग्रिम टिकट लिनेको भिड छैन । बिहान एकैछिन भिड भए पनि १२ बजेपछि भने लाइन थिएन । टिकट काउन्टरमा बसेका कर्मचारी हाई काढेर बसेको देखिन्थ्यो । कोटेश्वर, कलंकी, सुन्धारा, स्वयम्भूलगायतका कोठे टिकट काउन्टरमा लाइन भए पनि नयाँ बसपार्कमा भने दिउँसो टिकट लिनेले लाइनमा नै बस्नु परेन । 

‘म त एकदमै खुसी छु, पोहोर घर जाँदा टिकट लिन निकै दुःख गर्नुपरेको थियो, यसपटक भने आउनासाथ भनेकै सिटको टिकट पाएँ’, दार्चुलाको लागि टिकट लिएका लाल धामीले भन्नुभयो, ‘पोहोर आउँदा त काउन्टरका मान्छेले हामीलाई गन्दैनथे, अहिले त कता जाने हो आउनुस् भन्दै टिकट काटिदिए । जे होस् नयाँ बसपार्क सुध्रिएको पाएँ ।’

काउन्टरका कर्मचारी सोध्छन् : यात्रुले किन माया मारे ?

पोहोर परार बोल्न पनि फुर्सद नहुने टिकट काउन्टरका कर्मचारी यसपटक भने हाई काढेर बसेका थिए । कम्पनीमा दर्ता भएका गाडीले असोज ५ गतेदेखि नै टिकट काटेको अनि धेरैजना रिजर्भमा जाने भएकाले पनि टिकट काट्नेको संख्या कम भएको हुन सक्ने उनीहरुको अनुमान थियो । 

‘कम्पनीवालाहरुले ५ गतेदेखि नै टिकट खुलाए, अनि भाडा पनि बढ्ने या नबढ्ने भनेर धेरैदिनसम्म किचकिच भयो त्यसैले होला यात्रु नआएको’, काठमाडौ–धनकुटा–हिले रुटको टिकट काउन्टरका कर्मचारी दण्डराज शर्माले भन्नुभयो, ‘पोहोर परार सास फेर्ने फुर्सद हुने थिएन, यसपालि त खै यात्रुले किन माया मारेका हुन् कुन्नि ?’

दलालरहित बसपार्क

नयाँ बसपार्कका हरेक काउन्टर व्यवस्थित देखिन्छन् । सफा चिटिक्क छ । टिकट काउन्टरमा बस्ने हरेक कर्मचारीले ल्होत्से कम्पनीको परिचयपत्र लगाएका छन् । बसपार्कको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिएको ल्होत्से बहुउद्देश्यीय संस्थाले बसपार्कलाई दलालरहित बनाएको छ । अहिले कसैले पनि  बसपार्कमा ‘तपाईँको टिकट म काटिदिन्छु नि’ भन्दैनन । 

अलमलमा परेका यात्रुलाई सुरक्षा गार्डले सहयोग गरिदिन्छन् । बसपार्कमा रहेका ५० वटा प्राइभेट लिमिटेडका काउन्टर र २५ वटा समितिका काउन्टर व्यवस्थित बनाइएको छ । सीसीटीभी क्यामेरा राखिएको छ, भवनमा रंगरोगन गरिएको छ, अपाङ्गतामैत्री शौचालय बनाइएको छ, प्रतिक्षालय पनि सफा सुग्घर बनाइएको छ । 
‘हामीले यसपटक बसपार्कलाई निकै व्यवस्थित बनाएका छौँ, पहिलेको बसपार्क भन्दा धेरै राम्रो भएको यात्रुहरुले नै भन्नुहुन्छ’, ल्होत्से बहुउद्देश्यीय कम्पनीका प्रबन्धक पंकज मल्लले भन्नुभयो, ‘यातायात कम्पनीले बदमासी गरेमा हामी आफैले प्रहरीलाई बुझाइदिन्छौँ ।’

११ सय कम्पनी पञ्जीकरण, ४ हजार गाडी दर्ता

यातायात व्यवस्था विभागले गएको वर्षको चैतमा कार्यविधि जारी गरेर पञ्जीकरण नभइकन गाडी चलाउन नपाउने निर्णय गरेको थियो । वैशाखको पहिलो हप्ता मन्त्रिपरिषदको बैठकले यातायात समितिहरु एनजीओको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन नपाउने र पुरानाको पनि नवीकरण नगर्ने निर्णय गरेको थियो । व्यवसायीले आन्दोलन गरेपछि सरकारले बैंक खाता नै रोक्का गरिदिएको थियो ।

ठाउँ–ठाउँमा समितिसम्बद्ध व्यवसायीको अवरोध छिचोल्दै नयाँ गाडी पुग्न थालेपछि समितिहरु कमजोर भएका छन् । साउनसम्म ११ सय ९ वटा यातायात कम्पनीका

४ हजार भन्दा धेरै गाडी पञ्जीकरण भएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

४ हजार बसमध्ये आधाजति नयाँ बस रहेको उहाँले जानकारी दिनुभयो । ‘हामीले साउनपछिको डाटा पनि संकलन गरिरहेका छौँ, साउनसम्म ११ सय ९ कम्पनीका ४ हजार बस कम्पनीमा दर्ता भएका छन्’, प्रवक्ता उपाध्यायले भन्नुभयो, ‘धेरैजसो नयाँ बस नै आएका छन्, अहिले दसैँमा टिकटको लागि ठेलम्ठेल नभएको त्यही भएर होला ।’

अन्तिम अपडेट: फागुन २८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया