नेहरुलाई मन्टोको पत्र

 असोज १३, २०७५ शनिबार १३:१४:५३ | सअादत हसन मन्टाे
unn.prixa.net

पण्डितजी,

अस्सलाम वालेकुम । 

तपाईँलाई पहिलो पटक म पत्र लेखिरहेको छु ।  तपाईँको त के कुरा गर्नु, अम्रिकनहरूको माझमा पनि बडो सुन्दर मानिनुहुन्छ । तर मलाई लाग्छ, मेरो रुपरेखा पनि त्यति साह्रै नराम्रो त छैन । यदि म पनि अमेरिका जाने हो भने मेरो सुन्दरताको पनि प्रशंसा हुनेछ । तर तपाईँ भारतको प्रधानमन्त्री हुनुहुन्छ, म पाकिस्तानको महान कथाकार । यो दुई कुरामा निकै नै अन्तर छ । तर पनि हामी दुईमा एउटा कुरा चाहिँ साझा छ– तपाईँ पनि कश्मीरी, म पनि कश्मीरी । तपाईँ नेहरु, म मन्टो...कश्मीरी हुनुको अर्काे मतलब सुन्दर हुनु हो र सुन्दरताको अर्थ अझसम्म मलाई थाहा छैन ।

तपाईँलाई भेट्ने अत्यन्तै चाहना छ (जीवनमा कुनै क्षण सायद भेट पनि होला ।) मेरो तर्फका ठूला मान्छे र तपाईँको तर्फका ठूला मान्छेहरूको  भेटघाट त भइरहेकै छ । तर तपाईँलाई भेट्ने त्यो सुअवसर कहिल्यै प्राप्त भएन ।

यो कस्तो ट्रेजेडी हो कि मैले तपाईँलाई देखेकोसम्म छैन । तपाईँको आवाज भने सुनेको छु रेडियोमा, त्यो पनि एकपटक मात्र । 

अघि नै भनिसकेँ तपाईँलाई भेट्ने चाहना धेरै पुरानो हो । यस कारणले कि तपाईँ र मेरो कश्मीरको सम्बन्ध छ । तर अब म सोच्छु, यसको आवश्यकता नै के छ र ? कश्मीरीहरू कुनै न कुनै चोक वा गल्लीमा एकअर्कासँग भेट भइरहेका हुन्छन् । 

तपाईँ कुनै नहरको नजिक बस्नुभयो र नेहरु हुनुभयो तर म अहिलेसम्म सोच्दैछु कि मन्टो कसरी भएँ ? तपाईँ त लाखौँ पटक कश्मीर जानुभएको होला । मैले त केबल बनिहालसम्म मात्रै जाने सौभाग्य पाएको छु । मेरा कश्मीरी साथीहरू जसले कश्मीरी भाषा जान्दछन्, उनीहरूले मलाई मन्टोको अर्थ ‘मन्ट’ अथार्त तौल गर्न मिल्ने डेढ सेरको ढुंगा हो भनेका थिए । यस पत्रको जवाफ दिन उपयुक्त ठान्नुभयो भने अवश्य मन्टो नामाकरण गर्नुको कारण लेख्नुहोला ।     

यदि म केबल डेढ सेरको हूँ भने त तपाईँ र मेरो मुकाबिलाको के अर्थ ? तपाईँ पूरा का पूरा नहर र म केबल डेढ सेर । तपाईँलाई म कसरी टक्कर दिन सक्छु र ? तर हामी दुई यस्तो बन्दुक हौँ कि जुन कश्मीरीहरूका बारेमा प्रचलित भनाईका अनुसार “अँध्यारोमा पड्कन्छ ।”

माफ गर्नुहोला, तपाईँ यसलाई अन्यथा नलिनुहोला । जब मैले यस्तो गलत कहानी सुनेँ, कश्मीरी भएको नाताले मेरो पनि कन्सिरी तातेर आयो । तर यो अलि रोचक भएकोले मैले यसलाई हल्का रुपमा लिएँ । हामी दुवैलाई राम्रोसँग थाहा छ कि हामी कश्मीरीहरू कुनै मैदानमा आजसम्म हारेका छैनौँ  ।

राजनीतिमा तपाईँको नाम म बडो गर्वका साथ लिन सक्छु किनकी तपाईँले आफैले भनेको कुराको खण्डन गर्न निकै जान्नुभएको छ । कुस्तीमा हामी कश्मीरीलाई आजसम्म कसले हराएको छ ? शायरीमा हामीलाई कसले चुनौती दिनसक्छ ? तर मलाई यो सुनेर दुःख लागेको छ कि तपाईँ हाम्रो नदीनाला थुन्दै हुनुहुन्छ रे । तर पण्डितजी, तपाईँ त केबल नेहरु हुनुहुन्छ । अफसोच छ कि म डेढ सेरको ढुंगा हुँ । यदि म तीस चालिस हजार मनको चट्टान भएको भए म आफैलाई नदीमा डुबाउँथेँ । तपाईँ यसलाई कसरी निकाल्ने भनेर आफ्ना इन्जिनियरहरूसँग सरसल्लाह गरिरहनुहुन्थ्यो होला । 

पण्डितजी, यसमा कुनै शंका छैन कि तपाईँ निकै नै ठूलो मान्छे हुनुहुन्छ, तपाईँ भारतको प्रधानमन्त्री हुनुहुन्छ । तपाईँ मेरो पहिलेको देशमा शासन गरिरहनुभएको छ । तपाईँ सबै थोक हो तर माफ गर्नुहोला तपाईँले यस व्यक्ति (जो कश्मीरी हो)को कुनै मतलब नै गर्नुभएन ।

तपाईँ अंग्रेजी भाषाको लेखक हुनुहुन्छ । म पनि उर्दूमा कथा लेख्छु...त्यो भाषा जसलाई तपाईँको हिन्दुस्तानमा मेटाउने प्रयास भैराखेको छ ।

हेर्नुहोस, म तपाईँलाई एउटा रमाइलो कुरा सुनाउन गइरहेको छु । मेरो पिता(स्वर्गीय) जो निसन्देह कश्मीरी नै हुनुहुन्थ्यो, जब कोही हातो        (कश्मीरमा पन्जाबको उपत्यकामा बस्ने समुदायलाई हातो भनिन्छ )लाई देख्नेबित्तिकै घर ल्याउनुहुन्थ्यो । उसलाई नमकिन चिया पनि पिलाउनुहुन्थ्यो । त्यसपछि बडो गर्वले भन्नुहुन्थ्यो “म पनि काशर हूँ ।” 

पण्डितजी, तपाईँ काशर हुनुहुन्छ ... भगवान कसम यदि तपाईँ मेरो ज्यान लिन चाहनुहुन्छ भने हर क्षण हाजिर हुन तयार छु । मलाई थाहा छ कि तपाईँ कश्मीरसँग यति टाँसिनुभएको छ कि तपाईँ कश्मीरी भएकाले तपाईँलाई कश्मीरसँग चुम्बकीय माया छ । हरेक कश्मीरीलाई चाहे उसले कश्मीर कहिल्यै नदेखेको होस, उसँग यस्तो माया हुनु जरुरी छ । 

जस्तो कि यो पत्रमा मैले पहिले नै लेखेको छु कि म केबल बनिहालसम्म मात्रै पुगेको छु । कद, बटौत, किश्तबारलगायतका सबै स्थानहरू मैले देखेको छु । तर सुन्दरताका साथ साथै मैले दरिद्रता पनि देखेँ । यदि तपाईँले दरिद्रता हटाउनुभएको छ भने कश्मीर आफैसँग राख्नुहोस । तर मलाई यकिन छ कि तपाईँ कश्मीरी भइकन त्यसलाई हटाउन सक्नुहुन्न, यसकारणले कि तपाईँलाई त्यत्रो फुर्सद नै कहाँ छ र ? 

तपाईँ यस्तो किन गर्नुहुन्न...म तपाईँको पण्डित भाइ, मलाई बोलाउनुहोस । पहिले म शलजमको शव हेरेर आउनेछु । त्यसपछि कश्मीरको सबै काम सम्हाल्नेछु । यी बख्शी र अरुहरू अब हटाउन लायक छन् ।यिनीहरुरू चार सय बीस छन् । खै किन तपाईँले यिनीहरुलाई यति उच्च सम्मान दिनुभएको छ ? मलाई थाहा छ कि तपाईँ राजनेता हो, जो म हैन । तर यसको मतलब यो होइन कि म कुनै कुरा बुझ्नै सक्दिन । 

तपाईँ अंग्रेजी भाषाको लेखक हुनुहुन्छ । म पनि उर्दूमा कथा लेख्छु...त्यो भाषा जसलाई तपाईँको हिन्दुस्तानमा मेटाउने प्रयास भैराखेको छ । पण्डितजी, म तपाईँको लेख पढिराखेको हुन्छु । यसबाट मैले यस्तो निश्कर्ष निकालेँ : तपाईँलाई उर्दूसँग प्रेम छ । तर मैले तपाईँलाई एकपल्ट रेडियोमा सुनेको थिएँ । त्यो हिन्दुस्तान दुई टुक्रा भएको बेला थियो ।...तपाईँको अंग्रेजीको प्रशंसक त जो कोही थिए, जब तपाईँ उर्दूमा बोल्न सुरु गर्नुभयो, यस्तो लाग्दथ्यो तपाईँको अंग्रेजी भाषणलाई कुनै हिन्दू महासभा सदस्यले अनुवाद गरेको होस्, किनकी तपाईँको उच्चारण दुरुस्त थिएन । तपाईँ शब्द शब्दमा अल्मलिरहनुभएको थियो । मैले यो बुझिन कि तपाईँ कसरी यो पढ्न स्वीकार गर्नुभयो । यो त्यतिबेलाको कुरा हो कि जब रेडक्लिफले हिन्दुस्तानको डबल रोटीको दुई टुक्रा पकाउन थालेका थिए, अफसोच त यो छ कि त्यो रोटी अहिलेसम्म पाकेको छैन । त्यता तपाईँ पकाइरहनुभएको छ  र यता हामी । तर तपाईँ हाम्रो चुल्होको आगो भने अन्त कतैबाट लगाइएको छ । 

पण्डितजी, आजभोलि बदामको मौसम छ । देख्न त धेरै नै देखेको छु तर खाने मौका भने पाएको छैन । यो तपाईँले यो के अन्याय गर्नुभएको सबै हकअधिकार बख्शीलाई सुम्पनुभयो, उसले भने मलाई उपहारमा समेत थोरै बदामसमेत पठाउँदैन । 

जहन्नुसम्म बख्शी आउँछ तर बदाम... अहँ । उ जहाँ होस आराम रहोस । वास्तवमा तपाईँसग मेरो गुनासो थियो, तपाईँ मेरा पुस्तक किन पढ्नुहुन्न ? यदि तपाईँले पढ्नुभएको भए पनि प्रशंसा गर्नुभएन । यदि पढ्नु नै भएको छैन भने अझ मलाई अफसोच हुनेछ, तपाईँ पनि त एउटा लेखक हो । 

अश्लील लेखनको आरोपमा ममाथि कैयौँ मुद्धा चलिसकेको छ । तर यो कति ज्यादती हो कि दिल्लीमा तपाईँकै नाककै तल एउटा प्रकाशकले मेरो कथासंग्रहलाई ‘मन्टोका अश्लील कथाहरू’ नाममा प्रकाशित गर्दछ ।

मैले पुस्तक लेखेको छु । त्यसको भूमिका यही पत्र हो जुन म तपाईँको नाममा लेख्दैछु । यो पुस्तक पनि तपाईँकोमा अवैधानिक तबरले प्रकाशित भयो भने भगवान कसम, जसरी भए पनि दिल्ली आएर तपाईँलाई पक्रनेछु । त्यसपछि छाड्नेछैन तपाईँलाई... तपाईँसँग यसरी टाँसिएर बस्नेछु कि तपाईँ जीवनभर सम्झनुहुनेछ । हरेक बिहान तपाईँसँग भन्नेछु कि चिया नमकिन खुवाउनुहोस । 

यो पुस्तक छापियो भने एकप्रति तपाईँलाई पठाउनेछु । आशा छ कि तपाईँले पुस्तक प्राप्तीको जानकारी दिनुहुनेछ, मेरो लेखनशैलीका बारेमा आफ्नो प्रतिक्रिया दिनुहुनेछ । 

मेरो पत्रबाट तपाईँलाई मासुको गन्ध आउनेछ । तपाईँलाई थाहा छ, हाम्रो कश्मीरमा एक ‘गनी’ नाम गरेको शायर बस्दथे जो गनी कश्मीरीको नामले प्रख्यात थिए । उनकोमा इरानबाट एक शायर आएका थिए ।

उनको घरको ढोका खुल्लै थियो, त्यसैले उनी घरमा थिएनन् । उनी मान्छेहरूसँग भन्दथे, ‘मेरो घरमा के छ र मैले ढोका बन्द गरुँ ? तर जब म घरमा हुन्छु ढोका बन्द राख्दछु । यसकारणले कि म मात्रै त यसको एकलौटी सम्पत्ति हूँ ।’ इरानी शायरले गनी कश्मीरीको सुनसान घरमा आफ्नो शायरीको कापी छोडेर गए । जसको एक सेर अपूर्ण थियो । दोस्रो पंक्ति त उनले लेखेका थिए तर पहिलो पंक्ति लेख्न सकेका थिएनन् ।

दोस्रो पंक्ति यस्तो थियोः तिम्रो कपडाबाट कबाबको गन्ध उडिरहेको छ 

जब इरानी शायर फर्के र आफ्नो शायरीको कापी हेरे, त्यहाँ दोस्रो पंक्ति यस्तो लेखिएको थियाे: के तिम्रो कपडा अभिशप्त आत्माले छोएको थियो ?

पण्डितजी, म पनि एक अभिशप्त आत्मा हुँ । म तपाईँको शरणमा परेको छु कि किनकी यो पुस्तक तपाईँमा समर्पित गरिरहेको छु । 

२७ अगस्ट, १९५४
सआदत हसन मन्टो 

–उर्दूका चर्चित कथाकार सआदत हसन मन्टोले यो पत्र आफ्नो निधनभन्दा केही महिना अघिमात्रै लेखेका थिए । सन् १९१२ मा जन्मेका मन्टोको निधन १९५५ मा भएको थियो । 

अनुवादः उपेन्द्रराज पाण्डेय  
 

अन्तिम अपडेट: असोज २१, २०७५

तपाईको प्रतिक्रिया