दसैँको बेला महेश दोभानमा गोरखबहादुर हजुरबाको दोमन !

 असोज २८, २०७५ आइतबार ९:२३:३२ | मिलन तिमिल्सिना
unn.prixa.net

सडकमा दोहोरीलत्त गाडी गुडिरहेका छन् । गाडीमा दसैँ मान्न घर फर्किनेहरुको घुईंचो छ । बजारमा किनमेल गर्नेहरुको चहलपहल बढ्दैछ । खेतको डिल, बारीको कान्ला, पाखापखेरा र खोल्सीमा सयपत्री र मखमली फूल ढकमक्क छन् । खेतमा धान झुलेर पहेँलपुर छ । बादल हटेर आकाश खुल्दैछ । यी सबै घटनाक्रमले दसैंको रौनक बढ्दैछ भन्ने प्रष्ट हुन्छ ।

तर दसैँको रौनक बढ्दै जाँदा सबैको मनमा उस्तै उत्साह र उमंगले डेरा जमाउन पाउँदैन । आफ्नै बाध्यता, नियती र परिस्थितिका कारण रमाइलोमा पनि मन रमाउन नसक्नेहरु धेरै छन् । यस्तै अवस्थाका एक हजुरबासँग शनिबार धादिङ गल्छीको महेश दोभानमा भेट भयो ।

खरानी रंगको दौरासुरुवाल, शीरमा कालो टोपी र गलामा मफलर भिरेका हजुरबाले पछिल्तिर कालो झोला भिर्नुभएको छ । हातमा सेतो लौरो समातेर सडक छेउको शितलमा टुक्रुक्क बसिरहेका उहाँ कहिले सडकमा गुडेको गाडी हेर्नुहुन्छ, कहिले त्रिशुली पारिको पाखातिर हेरेर टोलाउनुहुन्छ । बेलाबेला खुइय सुस्केरा हाल्नुहुन्छ । 

निराश मुद्रामा बसिरहेका हजुरबासँग एकछिन भलाकुसारी गर्न मन लाग्यो । 

उहाँको नाम गोरखबहादुर सिजापती । घर धादिङ गल्छी गाउँपालिकाको कल्लेरी गाउँ । पृथ्वी राजमार्गको आदमघाट बजारबाट पारि तरेर तीनघण्टा उकालो चढेपछि घर पुगिन्छ । घरमा बुढाबुढी मात्र हुनुहुन्छ । छोराहरु कोही काठमाडौंमा छन्, कोही विदेशमा । 

तीन वर्षअघिको भुईंचालोमा घर भत्कियो । सरकारको अनुदान र ऋणधन गरेर बल्लतल्ल घर बनाउने काम सकिन लागेको छ । तर तेस्रो किस्ता लिन ईञ्जिनियरलाई घर देखाउनुपर्छ । ईञ्जिनियर गाउँपालिकाको कार्यालय रहेको ठाउँ गल्छी बजारमा बस्छन् । उहाँ बिहान झिसमिसेमै ईन्जिनियर भेट्न घरबाट गल्छी आउनुभएको हो । 

कल्लेरीबाट आदमघाटसम्म झर्न तीनघण्टा लाग्यो । त्यहाँबाट गाडी चढेर गल्छी पुग्दा बिहानको ११ बजिसकेको थियो । शनिबार भए पनि ईञ्जिनियरसँग भेट हुन्छ भन्ने उहाँले सुन्नुभएको थियो । तर गाउँपालिकाको कार्यालय पुग्दा ईन्जिनियर भेटिएनन् ।

‘खै गाउँका मान्छेले त शनिबार पनि भेट हुन्छ भनेका थिए, तर भेट नै भएन’ गोरबहादुरले निराश हुँदै भन्नुभयो, ‘लेक गएका छन् रे, कहिले पो फर्कने हुन् ।’ यसअघि पनि धेरैपटक ईञ्जिनियरलाई भेट्न आउँदा रित्तै फर्कनुपरेको उहाँले सुनाउनुभयो ।

‘तपाईंलाई सुन्दा अचम्म लाग्यो होला, हाम्रो लागि त यस्तो हिँडाई र दुःख कष्ट केही होइन बाबु’ हजुरबाले आफ्नो अनुभव सुनाउनुभयो, ‘बिहान तीनघण्टा हिँडेर आइयो, अब तीन घण्टा हिँडेर घर पुगिन्छ । फेरि यसैगरी आइन्छ, गइन्छ ।’

यति धेरै हैरानी र कष्टलाई पनि सामान्य मान्ने हजुरबाको कुरा सुनेर अचम्म लाग्यो । स्थानीय तहको चुनाव भएपछि गाउँगाउँमा ‘सिंहदरबार’ पुगेको छ ।

हातहातमा टेलिफोन छ । आफ्नो समस्या गाउँमै रहेका जनप्रतिनिधिलाई सुनाउन सकिन्छ । भेट्न खोजेको मान्छेलाई पहिल्यै फोन गरेर समय निर्धारण गर्न सकिन्छ । यति सजिलो र सहज उपाय भए पनि हजुरबाले किन यति धेरै दुःख भोग्नुभयो त ?

‘हजुरबा ईन्जिनियरलाई फोन गर्नुभएको भए त यति धेरै दुःख पाईंदैनथियो नि ?’ मैले सोधें ।

‘आफूसँग फोन गर्ने भाँडो छैन, ईञ्जिनियरको फुन लम्बर पनि छैन’ हजुरबाले बाध्यता सुनाउनुभयो ।

‘आफूसँग नभएर के भयो त, वल्लोघर, पल्लोघर कसैलाई भनेर ईञ्जिनियर कहाँ छन्, भेट हुन्छ कि हुँदैन भनेर निश्चित गर्नुपर्थ्याे नि’ मैले फेरि भनें ।

‘आ बाबु, कसलाई सोध्नु, कसलाई भन्नु, यसरी आउँदा कहिलेकाहीँ त भेट हुन्थ्यो’ हजुरबाले भन्नुभयो ।

हजुरबालाई त फोन गरेर सोध्ने मेसो भएन, दुःख पाउनुभयो । तर स्थानीय जनप्रतिनिधिले त उहाँलाई सहयोग गर्नुपर्ने हो नि । नत्र गाउँगाउँमा ‘सिंहदरबार’ पुगेको के काम ?

‘तपाईंको वडाका अध्यक्ष, सदस्यले यसो यसो गर्नु भनेर सिकाउँदैनन् हजुरबा’ मलाई अझै जान्न मन लाग्यो ।

‘आ बाबु चुनावमा उठे, जिते, अहिले सबै आआफ्नै सुरमा छन् । हामीलाई सिकाउन, सहयोग गर्न कहाँ भ्याउँछन्’ हजुरबा हाँस्नुभयो । 

हजुरबाको यो सहज, सरल र निर्दोष भनाईबाट प्रष्ट हुन्छ, गाउँगाउँमा ‘सिंहदरबार’ पुगे पनि नागरिकलाई अझै भनेजस्तो सजिलो भएको छैन । जनप्रतिनिधिले नागरिकका समस्या बुझ्न र उनीहरुको समस्या हल गर्न सकेका छैनन् । गुनासो गर्नेहरुको मात्र होइन, गुनासो गर्न नसक्नेहरुको पनि समस्या बुझिदिने र सजिलो बनाइदिने काम जनप्रतिनिधिको हो । तर धेरै जनप्रतिनिधिले आफ्नो जिम्मेवारीअनुसार काम गरेका छैनन् ।

जनप्रतिनिधिको आँखामा नपरेका गोरखबहादुरको यो दसैँ खल्लो हुने भएको छ । नयाँ घर त बन्यो, तर तेस्रो किस्ता पाइएन । घर बनाउने ठेकेदारले पैसा मागिरहेका छन् । समयमा पैसा दिन नसक्दा घर अधकल्चो भएको छ । त्यसमाथि छोराहरु दसैँमा आउने, नआउने टुंगो छैन ।

‘विदेशमा भएको त आउँदैन बाबु, काठमाडौंमा प्रहरीको जागिर खाएको छोरो आउनुपर्ने हो, तर बिदा मिलाउन सक्छ कि सक्दैन’ हातको लौरोले भुईं खोस्रंदै हजुरबाले भन्नुभयो । 

‘घर भए, अनि घरका सबै सँगै भए पो दसैँ’ उहाँले आफ्नै अवस्था सुनाउनुभयो, ‘बनेर नसकेको घरमा उही ढुक्रुक्क बुढाबुढी मात्रै बसेर त के रमाइलो हुन्छ र खै ?’
फूलपाती आउन लाग्दासम्म हजुरबाले दसैँको किनमेल गर्नुभएको छैन । अझ भनौं उहाँलाई दसैँ आएकै छैन । 

‘अब त घर जानुपर्छ, अघि आउँदा ओरालो बाटो सजिलै थियो, अब फर्किंदा त आदमघाटबाट उकालो हिँड्नुपर्छ, तीनघण्टा नि बेसी लाग्छ’ हिँड्नेबेला हजुरबाले भन्नुभयो । तर उहाँसँग बिदा भएर म पर पुग्दासम्म उहाँ बसेको ठाउँबाट उठ्नुभएको थिएन । 

अन्तिम अपडेट: असोज ३०, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

2 Comments

  • Dinesh jung sijapati

    Oct. 15, 2018, 9:47 p.m.

    आफ्नै हजुरबुबा को कथा बेथा सुन्दा र बिदेस भयेको छोरा आउँछ भन्दा भन्दै मन रोयेर आयो 😑बिदेस मा रहनु भयेको छोरा यो सन्सार बाट टाडा हुनु भको आज बर्ष दिन पुग्न लाग्यो😑

  • राजेंद्र श्रेष्ठ

    Oct. 14, 2018, 10:29 a.m.

    तपाईँ को यो लेख बिसुद्द नेपालि छ खुशी लाग्यो !

तपाईको प्रतिक्रिया