हनुमानढोका भित्र्याइयाे गाेरखा दरबारकाे फूलपाती

 असोज ३०, २०७५ मंगलबार १८:२३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोका दरबारको दसैँघरमा भित्र्याइएको  छ । ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याउने चलन बसेको हो । 

धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका ६ जनाले ल्याउने फूलपाती जीवनपुरदेखि जमलसम्म काठमाडौंबाट गएका ब्राम्हण जातिका ६ जनाले ल्याउने परम्परा छ । २०६६ सालसम्म हिंडाएर ल्याइने फूलपाती त्यसयता गाडीमा ल्याइन्छ । 

जमलबाट उच्च सरकारी अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ ल्याइने फूलपाती हर्षबढाइँका साथ हनुमानढोकाको दसैँघरमा भित्र्याइन्छ ।

गोरखाबाट बिहान पठाइएको फूलपाती साँझ हनुमानढोकामा भित्र्याएपछि मात्रै विधिवत रूपमा दसैं सुरू भएको मानिन्छ । विक्रम सम्वत् १७९९ सालमा गोरखाको राजा भएका पृथ्वीनारायण शाहले १८२५ मा कान्तिपुर राज्यमा विजय हासिल गरी यहीं राजधानी बनाएपछि गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती भित्र्याउन थालिएको परम्परा अझैसम्म जिवित रहेको हो ।

भगवती मन्दिरप्रतिको श्रद्धा र भावभक्तिले पृथ्वीनारायण शाहले यो परम्परा सुरु गरेको ठानिन्छ । फूलपातीमा के–के मिसाइएको छ भन्ने जानकारी गोरखा दरबारका सुसारेबाहेक अरुलाई हुँदैन । त्यहाँका थापा परिवारले संकलन गरेको फूलपाती आधा हनुमानढोका ल्याइन्छ भने बाँकी साँझ हर्षबढाइका साथ बन्दुक पड्काएर गोरखाको दसैं घरमा भित्र्याउने चलन छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया