आहा ! त्यो दसैँ

 असोज ३१, २०७५ बुधबार ७:१५:४७ | मिलन तिमिल्सिना
unn.prixa.net

सोह्रश्राद्ध सकिनेबित्तिकै आमैले औंला भाँचेर भाका हाल्नुहुन्थ्यो – दसैँ आयो, खाउँला पिउँला । बुढी औंला र चोर औंला भाँच्दा खुशीले बुरुक्क हुने हामीलाई कान्छी औंलाको पालो सकिँदा निराश लाग्थ्यो ।

कान्छी औंला – दसैँ आयो,
साईंली औंला – खाउँला पिउँला
माझी औंला – कहाँ पाउँला ?
चोर औंला – चोरी ल्याउँला
बुढी औंला – धत्त पापी, म त छुट्टै बसौंला ।

औंला भाँचेर भाका हालिसकेपछि आमैले प्रष्ट पार्नुहुन्थ्यो, दसैँ भनेको जसरी पनि मीठो मसिनो खाने चाड हो । तर चोरेर चाहिँ खानु हुँदैन, पाप लाग्छ । त्यसपछि हामी केटाकेटी फुरुँग हुन्थ्यौं, अरुबेला भन्दा मीठो मसिनो खान र राम्रो लगाउन पाइने आशमा ।

नभन्दै दसैँमा नयाँ लुगा लगाउन पाइन्थ्यो । स्कुल बिदा हुने भएकाले जमरा राख्ने दिनदेखि नै दसैँ लाग्थ्यो । 

नयाँ लुगा सिउनेबेलाको रमाइलो झनै बढी हुन्थ्यो । पिठ्युँमा लुगा सिउने कल बोकेर परबाट रने दाइ घरतिर आउँदै गरेको देख्ने बित्तिकै हामी केटाकेटीका भूईंमा खुट्टा हुन्नथ्यो ।

रने दाइ नयाँ लुगा सिउने बेला मात्र घरमा आउँथे । पिँढीको छेउमा कल बिसाएर उनी एकपटक खुईय।।। सुस्केरा हाल्थे । हामीसँग गुन्द्री माग्थे र आँगन या पिँढीको एक छेऊमा ओछ्याएर कल मिलाउँथे । खल्तीबाट धागो झिकेर कलमाथिको छेस्कोमा राख्थे । कलको बिँड फनननन घुमाएर धागो बेर्थे ।

अनि यता र उता उनेर एकैछिनमा लुगा सिउन मिल्ने गरी धागो फिटफाट पार्थे । सियोको सानो प्वालमा उतिखेरै धागो छिराउँथे उनी । हामीलाई सियोमा धागो घुसाउन निकै बेर लाग्थ्यो । तर रने दाइ सियोमा राम्ररी नहेरीकनै एकैक्षणमा धागो छिराउँथे ।

कलमा धागो फिटफाट गरेपछि उनी लुगा मगाउँथे । हामी बुरुकबुरुक उफ्रिँदै भित्रबाट आमासँग मागेर लुगा ल्याउँथ्यौ । लुगा छेक्ने भनेर उनी हामीलाई अगाडी बोलाउँथे र फित्ताले नापो लिन्थे । उनी हामी केटाकेटीलाई पनि तपाईं भनेर बोलाउँथे ।

हामी ठूला केटाकेटी कपाल दाह्री फुल्नै लागेका ती दाइलाई तिमी भनेर बोलाउँथ्यौ । उनलाई मात्रै होइन बुढाबुढी भैसकेका सबै दलितहरुलाई हामी यसैगरी सम्बोधन गथ्र्यौं । उनीहरुलाई तपाईं भनेर बोलाउनुपर्छ भनेर हामीलाई कसैले सिकाएन । अरुले उनीहरुलाई तिमी भनेर सम्बोधन गरेकोले हामीले पनि त्यही सिक्यौं ।

तपाईं भनेर बोलाउन नमिल्ने र छुन नहुने तिनै रने दाइले सिएको नयाँ लुगा लगाउन पाउँदा हामी दंग परेर फुरफुर हुन्थ्यौं । उनले लुगा सिउँदासम्म कहिंकतै हलचल नगरी एकटकले हेरिरहन्थ्यौं ।

नयाँ लुगाको बास्ना पनि सुँघिरहन मन लाग्ने । कहिलेकाहीं घरमा सिलाउन नभ्याएको लुगा रने दाइले उनकै घरमा लगेर सिलाउँथे । अनि त्यो लुगा लिन बा आमाले हामीलाई पठाउँथे ।

स्कूलबाट फर्कने बेला लुगा लिन हामी उनको घर जान्थ्यौं । धेरैपटक उनको घर जाँदा लुगा सिएकै हुन्नथ्यो । रने दाइलाई सितिमिति घरमा भेट्न समेत मुश्किल । उनको घर जान नपरोस् जस्तो लाग्ने ।

उनको घरमा गाईभैंसी हुँदैनथ्यो, तर देख्दै डरलाग्दो भुक्ने कुकुर चाहिँ सधैं आँगनमा बसिरहेको हुने । तगारामै सुँगुरको खोर । च्याऊँच्याऊँ कराइरहने त्यो सुँगुर पनि खोरबाट निस्केर टोक्ने हो कि भन्ने डर । तैपनि नयाँ लुगा लिन बेलाबेला रने दाइको घर गइरहनुपर्थ्यो ।

टाढा घर भएका रने दाइ लुगा सिउनको लागि मात्र हाम्रो घरमा आउँथे । घर नजिकका अरु दमाइ दाईहरु दसैँ डाक्ने बेला बाजा बजाउन आइपुग्थे । जमरा राख्ने आसपासको दिन केसरे दाइ काँधमा नरसिंगा भिरेर आँगनमा झुल्कन्थे । 

काँधबाट नरसिंगा झिक्थे । तल्लो छेउ जोड्थे र सानो प्वालमा यसो मुख रगड्थे । अनि एकपटक तुर्र, तुरुरु पारेपछि नरसिंगाको ताल निस्कन्थ्यो । अनि भन्थे, ल ठूल्बाबु दसैँ डाकिदिएँ । अनि हामी फुरुंग उफ्रन्थ्यौं ।

घरमा हजुरबा, बा, हजुरआँबै र आमाहरुले त पहिलेदेखि नै दसैँ ल्याइदिनुहुन्थ्यो । हजुरबाले बाबियो भिजाएर पिङको डोरी बाट्नुहुन्थ्यो । बाले बर्रोको दाउरा मठारेर कापे बनाइदिनुहुन्थ्यो । काकाले आँगनमा खाँबो गाड्नुहुन्थ्यो । उतिखेरी आँगन छेउको घिरौंला पातलाई मच्चिएर छुन मिल्ने गरी पिङ बन्थ्यो ।

गाउँका सबै मिलेर डढ्या चौतारो र टाकुरो चौतारोमा पनि पिङ हाल्थे । सबैका घरबाट दुईदुई मुठा बाबियो जम्मा पारेर बेलुकी पिङको डोरी बाट्ने बेला छुट्टै रमाइलो हुन्थ्यो ।

आमा र हजुरआमैहरुको छुट्टै काम । ढिकीमा पहिले धान कुट्ने दाँत भएको मुसल झिकेर सोलोमोलो काठको मुसल फेर्नुहुन्थ्यो । छेउमा अँगेना बनाएर हाँडी बसाल्नुहुन्थ्यो । भिजाएको धान ल्याएर काकीले भुट्नुहुन्थ्यो । आमाले भकुर्नुहुन्थ्यो । हजुरआमै तल बसेर घान लाउनुहुन्थ्यो ।

आमाले उचालेको बेला हजुरआमैले ओखलमा हात हाल्दा कतै लाग्ने हो कि भनेर हामीलाई डर लाग्थ्यो । तर यस्तै काम गरेर बानी भएकी हजुरआमै हामीभन्दा चलाख हुनुहुन्थ्यो । धान कुटेको बेला ढिंकीको वरपर नपर्ने बा, हजुरबाले पनि चिउरा कुटेको बेला चाहिँ सघाउनुहुन्थ्यो । ढिकीका कुटेको तातो चिउरा मुखमा हाल्नु कम स्वादको हुन्नथियो ।

सामान किन्न मलेखु जाने बेला बाले सबैलाई बोलाएर खुट्टाको नापो लिनुहुन्थ्यो । बालाई हुने चप्पल आमालाई मिल्थ्यो । आमा र बाको भन्दा अलि ठूलो आकारको हजुरबालाई चाहिन्थ्यो । बा नै पसल जाने भएकाले उहाँहरुको नापो लिनै परेन । तर हामी दाजुभाइको चाहिँ एउटा कागजको पन्नामा खुट्टा राखेर वरपर पेन्सिलले कोरेर बाले नापो लिनुहुन्थ्यो । 

यसरी जुत्ता चप्पलको नापो दसैँताका नै लिइन्थ्यो । अरुबेला आक्कलझुक्कल मात्रै हाम्रो नयाँ चप्पल र जुत्ताको रहर पूरा हुन्थ्यो । छिनेको तुना दश ठाउँमा गाँसेर एउटै पुरानो चप्पलले महिनौं काम चलाइन्थ्यो । जुत्ता त झन् वर्षौंसम्म टिकाउनुपर्थ्यो ।

बाले नयाँ ल्याउने समयभन्दा अघि नै जुत्ताचप्पल फाट्यो भने खाली खुट्टा नै हिड्नुपर्थ्यो । पैतालामा काँडा बिझाउँदै र दशतिर ढुंगोमा औंला ठोकाउँदै यसरी खाली खुट्टा धेरै हिंडियो । खाली खुट्टा हिंड्दा ठेस लाग्ला भनेर कति पटक त दुई औंला धागोलेसमेत बाँधियो । यसो गर्दा ठेस लाग्दैन भनेर आमाले भन्नुहुन्थ्यो ।

अरुबेला खाली खुट्टा हिँडेपनि दसैँको बेला भने हाम्रो चुरीफुरी नै बेग्लै हुन्थ्यो । बेलुका बा मलेखुबाट फर्किएपछि नयाँ लुगासँगै चप्पल पनि पाउँदा हामी केटाकेटी तीनबित्ता उफ्रिन्थ्यौं । पट्याक पट्याक चप्पल बजाउँदै बाटोमा हिँड्दा गाडी चढेको भन्दा बढी आनन्द महशुस हुन्थ्यो ।

दसैँमा मात्र पाइने राम्रो नाना, मीठो पापा, चिची र टिकी दशैंको त्यो रमझम अहिले त सम्झनामा मात्र छ । फेरि यसैगरी दसैँ मनाउन पाए पो १
 

अन्तिम अपडेट: कात्तिक १५, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

1 Comments

तपाईको प्रतिक्रिया