बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी : धुवाँले गाउँबस्ती ढाक्याे, सास फेर्न समस्या

 बैशाख १५, २०८० शुक्रबार १३:२८:० | भावुक योगी
unn.prixa.net

बर्दिया - झण्डै दुई हप्तायता बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका जङ्गलभित्र आगलागी हुँदा मानव स्वास्थ्यमा समस्या देखिन थालेको छ । बर्दिया निकुञ्जभित्र जङ्गलमा लागेको आगोका कारण निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका गाउँबस्ती धुवाँले ढाकेको छ। 

धुवाँका कारण आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने, निकुञ्जभित्र रहेको पूर्व पश्चिम राजमार्ग क्षेत्रमा गाडी चलाउन गाह्रो हुनेलगायतका समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । बर्दिया निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने चुरे पहाडबाट सल्किएको आगो निकुञ्जको पश्चिम तथा दक्षिण क्षेत्रमा समेत फैलिँदै गएको छ ।

निकुञ्जभित्रको जङ्गलमा लागेको आगोको धुवाँले निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्ती ढाकेको छ । पुष र माघ महिनामा कुहिरोले ढाकेझैँ यतिबेला धुवाँले गाउँबस्ती ढाकेको छ । बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औँरी, ठाकुरद्वारा लगायतका धेरैजसो गाउँ केही दिनयता धुवाँले ढपक्कै ढाकिएका छन् । निकुञ्जको चुरे पहाडदेखि फैलिएको आगो केही दिनयता तराई क्षेत्रको जङ्गलमा समेत फैलिएको बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रका केशव खनालले बताउनुभयो । 

बर्दिया निकुञ्ज आसपासका गाउँबस्तीका स्थानीय बासिन्दा वन जङ्गलभित्र लागेको आगोको धुवाँबाट वर्षौँदेखि पीडित हुँदै आएका छन् । ‘झण्डै एक महिनासम्म धुवाँको समस्या हुन्छ, गाउँबस्तीमा धुवाँ दिउँसोको तुलनामा राति र बिहानमा अझैँ बढी हुने गर्छ,’ खनालले भन्नुभयो । 

‘दिउँसो हावा चल्ने हुनाले धुवाँको प्रभाव धेरै नभए पनि बेलुका हुनासाथ धुवाँले गाउँबस्ती ढाकिन्छ,’ कर्मला गाउँका फिरु थारुले भन्नुभयो । ‘धुवाँका कारण यस क्षेत्रमा हिँडडुल गर्नेलाई समस्या छ, बिहान बेलुका घर बाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ,’ थारुले बताउनुभयो ।

धुवाँले बालबालिका र ज्येष्ठ नागरिकलाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिन थालेको छ । बेलुका ७ बजेदेखि बिहान ९ बजेसम्म धुवाँका कारण राजमार्गमा गाडी चलाउनसमेत गाह्रो हुने गरेको चालक गोपाल रानामगरले बताउनुभयो ।

निकुञ्जभित्र सेनाका दर्जनभन्दा बढी सुरक्षा पोष्टहरु छन् । धुवाँले निकुञ्ज सुरक्षार्थ खटिएका सेना र कर्मचारीलाई असर पर्न थालेको छ । गर्मीयाममा पश्चिमी वायुसँगै चल्ने हावाका कारण निकुञ्ज भित्र सल्केको आगो फैलिँदै गएको निकुञ्जले जनाएको छ ।

‘आगो नियन्त्रमा लिने प्रयास जारी छ, नेपाली सेना र कर्मचारीको आगो नियन्त्रण गर्ने र्यापिड टिम बनाएर खटाएका छौँ, निकुञ्ज भित्रको लालमाटी र राजमार्ग आसपासका क्षेत्रमा खटाएका छौँ, धेरै ठाउँमा आगो लागेका कारण र पानी नपरेका कारणले पनि आगो निभाउन नसकिएको हो’ बर्दिया निकुञ्जका सूचना अधिकारी आषि न्यौपानेले भन्नुभयो ।

निकुञ्जमा लागेको आगोका कारण हरेक वर्ष चराचुरुङ्गीका अण्डा, बच्चा, गुँड र नयाँ बोटबिरुवा तथा जडीबुटी जलेर नष्ट हुने गरेको छ । वन जङ्गलभित्रको आगलागीका कारण मानवस्तीसँगै निकुञ्ज र सामुदायिक वन भित्रका वन्यजन्तु समस्यामा छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया