नुवाकोट जिल्ला प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनेको अनलाइन आवेदन निःशुल्क भरिदिने

 बैशाख २६, २०८० मंगलबार १५:५८:१६
unn.prixa.net

नुवाकोट – नुवाकोटको विदुर नगरपालिकाले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम निःशुल्क भरिदिने भएको छ ।

आउँदो जेठ १ गतेदेखि जिल्ला प्रशासन कार्यालय नुवाकोटमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन आउनेहरूको अनलाइन आवेदन फारम निःशुल्क भरिदिने नगरपालिकाले जनाएको छ । 

सोमबार नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठसहितको सरोकारवालाबीच भएको छलफलमा यस्तो निर्णय भएको हो । 

जिल्ला प्रशासन परिसरमै नगरपालिकामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्रको सहायता कक्षबाट निःशुल्क फारम भर्ने कर्मचारी खटाउने मेयर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम भर्नका लागि नगरपालिकाले दुई जना कर्मचारी र आवश्यक उपकरणको व्यवस्था गर्ने छ । 

पछिल्लो समय सरकारले राहदानी र राष्ट्रिय परिचयपत्रको आवेदन अनलाइनमार्फत दिनु पर्ने नियम बनाएको छ । 

जिल्ला प्रशासन कार्यालयले नुवाकोटमा विभिन्न व्यक्ति र व्यवसायीले राहदानीको फारक भरिदिए बापत तीन सय र राष्ट्रिय परिचयपत्रको फारम भरिदिँदा एक सय रुपैयाँ शुल्क लिन पाउने नियम लागू गरेको थियो । तर अब आउने जेठदेखि भने नागरिकले निःशुल्क सेवा लिन पाउने भएका छन् । 

‘अनलाइन आवेदन फारम भर्ने क्रममा निजी तथा व्यावसायिक सेवा प्रदायकहरूले पाँच हजारसम्म रुपैयाँ लिने गरेको गुनासो आएसँगै शुल्क निर्धारण गरेका थियौँ’, प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयो ‘विदुरले निःशुल्क सेवा उपलब्ध गराउन तयार भएसँगै सेवाग्राहीलाई सहज हुनुका साथै आर्थिक भारको समस्यासमेत हट्ने विश्वास छ ।’

प्रशासन कार्यालयका अनुसार राहदानी बनाउन आवेदन फाराम भरेपछि पालो आउन करिब तीन हप्ता लाग्ने गरेको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन दिने सेवाग्राही दैनिक दुई सयभन्दा बढी  भएको प्रशासनको तथ्याङ्क छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया