बर्दियाकाे ठाकुरबाबा नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा

 बैशाख २८, २०८० बिहिबार १९:४३:४० | भावुक योगी
unn.prixa.net

बर्दिया – 'पूर्ण सरसफाइयुक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हात धुने स्थान' भन्ने नारासहित बर्दियाको ठाकुरबाबा नगरपालिकालाई नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिएको छ । ठाकुरबाबा नगरपालिकाभित्र रहेका सबै वडाका गाउँटोलका घरघरमा टुटीसहितको बाल्टी र साबुन राख्न लगाई यसअघि पूर्ण हात धुने वडा घोषणा गरिसकेपछि आज बिहीवार एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण हात धुने पालिका घोषणा गरिएको हो ।

ठाकुरबाबा–१ भुरीगाउँमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय जन्मजय तिमिल्सिना र कृष्णा कुष्मा थारु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टलगायतको सहभागितामा नगरपालिकालाई नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिएको नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।

विभिन्न प्रकारका सरुवा रोग र नसर्ने रोग अन्त्य गर्नका लागि सबै घरघरमा हात धुने ठाउँ बनाई पूर्ण हात धुने नेपालकै पहिलो नमुना पालिका घोषणा भएकाेमा ठाकुरबाबा नगरवासीलाई धन्यवाद दिँदै निरन्तरता दिनका लागि लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले आग्रह गर्नुभयो । 

२०७९ साल भदौ ५ गतेदेखि ठाकुरबाबामा सुरु गरिएको पूर्ण हात धुने अभियानअन्तर्गत सामुदायिक अभियानकर्ताहरूलाई प्रशिक्षण दिएर पालिकाका नौ वटै वडाका गाउँटोलका प्रत्येक घरमा टुटीसहितको बाल्टी र साबुन राख्न लगाई घरभित्र पस्दा, फोहोर वस्तु छुँदा, चर्पीको प्रयोगपछि र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने बानी बसाल्न आग्रह गरिएको थियो ।

सामाजिक अभियन्ताहरूलाई खटाएर हात धुने ठाउँ बनाउँदा आइपर्ने चुनौती, नीति तथा कार्यविधिको अभाव, सर्वसाधारणमा हात धुँदा हुने फाइदाका बारेमा अनभिज्ञता, बालबालिका अपाङ्ग र लैङ्गिकमैत्री हात धुने ठाउँ र साबुन पानीको अभाव, स्रोतको अभाव र व्यवस्थापकीय अभावजस्ता पूर्ण हात धुने अभियान रणनीतिका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । 

‘समुन्नत ठाकुरबाबा सबल नगरवासी बनाउने उद्देश्यका साथ केही लक्ष्य तथा योजना बनाएको र त्यही लक्ष्य पूरा गर्नका लागि नगरपालिकाले विभिन्न दातृ सङ्घ–संस्थासँग सहकार्य गर्दै अगाडि बढेकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पनि उदाहरणीय काम गर्ने अभियान सुरु गरेका छौँ । यसमा सबै नगरवासीकाे साथको पनि अपेक्षा राखेका छाैँ’, मेयर लम्सालले भन्नुभयो ।

गेरुवा ग्रामीण जागरण सङ्घ बर्दिया र तेर दे जोम्ससँगको सहकार्यमा ठाकुरबाबामा झन्डै नाै महिनाअघि देखि पूर्ण हात धुने अभियान सञ्चालन भइरहेकोमा अनुगमनका क्रममा पालिकाभित्रका ११ हजार एक सय १५ घरधुरीमा सतप्रतिशत हात धुने ठाउँ निर्माण गरिएको पाइएको गेरुवा ग्रामीण जागरण सङ्घका सरसफाइ अधिकृत मनोज पौडेलले बताउनुभयो । 

पूर्ण हात धुने अभियानलाई सफल बनाउन पालिकाभित्रका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, बडघर, विद्यार्थी, शिक्षक र स्थानीय सामुदायिक अभियानकर्ताहरू खटिएका थिए ।

फोहर हातको माध्यमबाट लाग्न सक्ने रोगको रोकथामका लागि घरघरमा टुटी र ढक्कनसहितको हात धुने ठाउँ बनाउन उपयुक्त हुने निष्कर्ष निस्किएसँगै नगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग छलफल गरेर पालिकाभरि नै हात धुने कार्यलाई अभियानको रूपमा सञ्चालन गरिएको गेरुवा ग्रामीण जागरण सङ्घका कार्यकारी निर्देशक हरि सुवेदीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया