बर्दियाको जब्दीघाटमा पुल निर्माणकाे माग गर्दै सांसद सञ्जय गौतम अनसनमा

 बैशाख ३१, २०८० आइतबार १०:३३:१२ | भावुक योगी
unn.prixa.net

बर्दिया - नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम आमरण अनसनमा बस्नुभएको छ । बर्दियाको जब्दीघाटमा रहेकाे बबई नदी माथि भासिएको पुलको स्पान हटाउनु पर्ने र तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने लगायतका माग राख्दै उहाँ हिजाेदेखि अनसनमा बस्नु भएकाे हाे । 

उहाँले बबई नदीको जब्दीघाटमा भासिएको पुलको स्पान हटाएर तत्काल नयाँ पुल निर्माण गर्नुपर्ने, बबई नदीमा तटबन्ध निर्माण गर्नुपर्ने, बबई सिँचाइ आयोजनामा बजेट थप्नुपर्ने, बर्दियाको भुरिगाउँदेखि तेलपानी हुँदै सुर्खेतसम्म सडक निर्माण यसै वर्षदेखि सुरु गर्नुपर्ने लगायतका १५ बुँदे माग राख्नु भएकाे छ । नदीको जब्दीघाट पुलमुनि सांसद गौतमसँगै लुम्बिनी प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी पनि अनसनमा बस्नुभएको छ ।  स्थानीय पालिकाका जनप्रतिनिधिहरु पनि उहाँलाई साथ दिन रिले अनसनमा बसेका छन्।

आफूले सदनमा धेरै पटक बाढीमा भत्किएको बबई नदीको जब्दीघाटमा पुल निर्माणका लागि आवाज उठाए पनि राज्यले बेवास्ता गरेकाले बाध्य भएर अनसनमा बस्नु परेको उहाँले बताउनुभयो । पप्पु कन्स्ट्रक्सनले निर्माण कार्य सम्पन्न गरेको केही महिनामै जब्दीघाटको पुल २०७४ साल साउनमा भासिएको थियो भने ०७९ साल असोज २० गते बबई नदीमा आएकोे बाढीले पुल बगाएको थियो । 

'पुल भासिएको ६ वर्ष भइसक्यो, अझैसम्म पनि निर्माण गर्नतर्फ सरकारले चासो दिएको छैन, पुल नहुँदा सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाका झण्डै १ लाख स्थानीयबासिन्दा प्रभावित भएका छन् 'उहाँले भन्नुभयाे ।  आफ्नो क्षेत्रको जनप्रतिनिधि भएकाले पुल निर्माणलगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय पूरा नभएसम्म अनसन जारी राख्ने उहाँले बताउनुभयो।

बाढीले आधा भत्किएको पुल बगाएपछि पूर्व पश्चिम राजमार्गमा जोड्ने सदरमुकाम गुलरियादेखि बारबर्दिया नगरपालिकाको रम्मापुर सडक खण्डमा गाडी आउजाउ बन्द छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया