झन्डै ६ महिनादेखि ओछ्यानमा, उपचार गर्न आर्थिक समस्या

 साउन १६, २०८० मंगलबार १८:२०:१२ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ आम्बासा सुकुम्बासी गाउँकी २८ वर्षीया कमला परियार बिरामी भएको झन्डै एक वर्ष भयो । आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि उहाँ गएकाे छ महिनादेखि ओछ्यानमा हुनुहुन्छ ।

स्थानीय नगर अस्पताल, जिल्ला अस्पताल र नेपालगञ्ज मेडिकल कलेजसम्म पुगेर उपचार गर्दा कमलालाई निको हुन सकेन । शुरुमा टनसिल भएपछि उहाँ बिमारी हुनुभएकाे हाे, अहिले हातखुट्टा दुख्ने, ज्वरो आउने र उठ्न बस्न नसक्ने समस्याले ग्रसित हुनुहुन्छ । डाक्टरले क्षयराेग भएकाे बताएपछि उहाँले जिल्ला अस्पालबाट औषधि ल्याएर खान पनि सुरु गर्नुभयो तर निको भएन । उठ्न बस्नसमेत समस्या भएपछि कमला अहिले घरमै ओछ्यानमा हुनुहुन्छ ।

उपचारका लागि नेपालगञ्जको निजी क्लिनिकमा पुग्नुभएका उहाँलाई डाक्टरले रोग पत्ता लगाउन सबैभन्दा पहिले एमआरआई र शरीरको पूरै जाँच गर्नुपर्ने बताएपछि आर्थिक अभावले जाँच गर्न नसकी घर फर्किनु पर्‍याे । आर्थिक समस्याका कारण डाक्टरले भनेअनुसार श्रीमतीकाे जाँच गर्न नसकेको कमलाका श्रीमान् अमरसिंहले बताउनुभयो । ‘सबैभन्दा पहिले बिरामीको रोग पत्ता लगाउनु पर्‍याे, अनि उपचार गर्ने हो, उपचारबाट ठिक हुने सम्भावना छ तर खर्च भने धेरै लाग्छ’, डाक्टरले उहाँलाई भने ।

दैनिक ज्याला मजदुरी गरी परिवारकाे गुजारा गर्दै आउनुभएका अमरसिंह श्रीमती बिरामी भएपछि अहिले घर छाेड्न पाउनुभएकाे छैन । उहाँका छ वर्ष र चार वर्षका दुई जना छाेरा छन् । कमलाकाे उपचारमा आर्थिक अभाव भएपछि उहाँकी जेठानी दिदी ऋषिकलाले सहयाेगकाे अपिल गर्नुभएकाे छ । उहाँले भन्नुभयाे, दैनिक मजदुरी गरेर परिवारको साँझ बिहानको छाक टार्ने देवर (अमरसिंह) श्रीमती बिरामी भएपछि स्याहार गर्न घरमै बस्नुपरेको छ । ज्याला मजदुरी गरेर कमाएकाे पैसा उपचार गर्दामै सकियो ।’

सुकुम्बासी बस्तीको थोरै जग्गामा बसिरहनुभएकाे ऋषिकलाले बैंकबाट ऋण पाउने घरजग्गासमेत नहुँदा आर्थिक समस्याले देउरानीकाे उपचार गराउन नसकिएको बताउनुभयो ।

नगरपालिकाबाट मेयर र वडाध्यक्षले व्यक्तिगत १०/१२ हजार रुपैयाँ सहयोग गरेकाे तथा छिमेकी र भारतमा रहेका आफन्तको सहयोगबाट नेपालगञ्जसम्म पुगेर उपचार गरे पनि निको नभएकाे उहाँकाे भनाइ छ । ‘बिरामी बोल्न सक्छिन् तर उठ्न बस्न समस्याले ओछ्यानमै सुत्नुपरेको छ । ठूलो अस्पतालमा उपचार गरेको भए कुन रोग हो, कति खर्च लाग्छ भन्ने थाहा हुन्थ्याे, रोग पत्ता लगाउन शुरुमा जाँच गर्ने नै पैसा छैन’, दुःख पोख्दै उहाँले भन्नुभयो ।

सहयोगका लागि अमरसिंहले ९८६४९२०७१५ मा सम्पर्क गर्न वा आफ्नाे नाममा रहेको राष्ट्रिय वाणिज्य बैंककाे भुरिगाउँ बर्दिया शाखाको खाता नम्बर ४४७०००५९१३१० मा सहयोग रकम जम्मा गर्न अपिल गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया