एनपीएल क्रिकेट : पाटन सेमिफाइनलमा

 कात्तिक १३, २०७५ मंगलबार १९:५४:४९ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – शैलेश कठायतको उत्कृष्ट प्रदर्शनले पाटन नगरपालिका बैतडीको देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

यसअघि सिगास गाउँपालिका र दशरथचन्द नगरपालिका ‘सी’ अन्तिम चारमा पुगिसकेका छन् ।  मंगलबार सम्पन्न खेलमा लगातार दोस्रो जित दर्ता गर्दैै पाटन सेमिफाइनल अन्तिम चारमा पुगेको हो । निंगलासैनी  खेल मैदान देहीमाडौंमा समूह ‘सी’को लिग चरणको अन्तिम खेलमा पञ्चेश्वर गाउँपालिकालाई ९१ रनले पाखा लगाउँदै पाटन फाइनल नजिक पुगेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको पाटनले २० ओभरमा ३ विकेटको क्षतिमा २३४ रन बनायो । पाटनका लागि उत्कृष्ट प्रदर्शन गर्दै शतकीय पारि खेल्दै शैलेश कठायतले १०४ रन जोडे भने खगेन्द्र जोशीले ३३ रनको योगदान गरे । शैलेश प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । पञ्चेश्वरका भरत चन्दले एक विकेट हात पारे । 

२३५ रनको विशाल लक्ष्य पन्छाएको पञ्चेश्वरले २० ओभरमा ६ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो । रमेश भण्डारीले ४८ तथा धनवीर मातरले ३१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । पराजयसँगै पञ्चेश्वरको आउँदो यात्रा टुंगिएको छ । पाटनका पारस विष्ट र मदन चन्दले १-१ विकेट हात पारे । खेलका म्यान अफ् द म्याच पाटनका शैलेश कठायतभएका प्रतियोगिताका संयोजक विर सिंह बोहराले बताए । 

यस्तै मंगलबार नै सम्पन्न दोस्रो खेलमा मेलौली नगरपालिकाले विजयी सुरुवात गरेको छ । मंगलबार निंगलासैनी  खेल मैदान देहीमाडौंमा सम्पन्न खेलमा दशरथचन्द नगरपालिका ‘बी’ लाई १०३ रनले स्तब्ध पार्दै मेलौलीले सुखद सुरुवात गरेको हो । 

टस  हारेर ब्याटिङको निम्ता पाएको  मेलौलीले किरण ठगुन्नाको ३६ तथा आकाश चन्दको १८ रनको मद्दतमा २० ओभरमा  ८ विकेटको क्षतिमा २०२ रन बनायो ।

दशरथचन्द ‘बी’ का हिमाल ऐरीले ३ विकेट झारे । २०३ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको दशरथचन्द ‘बी’ १७ दशमलब ३ ओभरमा ९९ रनमा समेटियो । 

दशरथचन्द ‘बी’को पारी ध्वस्त पार्ने क्रममा मेलौलीका आकाश चन्दले ४ तथा किरण ठगुन्नाले २ विकेट हात पारे । मेलौलीका आकाश चन्द म्यान अफ् द म्याच घोषित भए । 

योसँगै लगातार दुई खेलमा पराजय भोगेको दशरथचन्द ‘बी’ लिग चरणबाटै घर फर्किन बाध्य भएको छ ।  यसअघि सिगास गाउँपालिका र दशरथचन्द नगरपालिका ‘सी’ अन्तिम चारमा पुगिसकेका छन् । 

प्रतियोगिता अन्तर्गत बुधबार लिग चरणको अन्तिम खेल हुने भएको छ । मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाको त्यो अन्तिम खेलले सेमिफाइनल पुग्ने अन्तिम टोलीको समेत टुंगो लाग्ने भएको छ ।  

निंगलाशैनी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिताको  प्रथम पुरस्कार १ लाख ११ हजार १११ रहेको छ ।  कात्तिक ८ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका छन् । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया