खडानन्द चौलागाईकाे कर्णालीका गाउँखाने कथाहरुकाे विमोचन

 साउन ३१, २०८० बुधबार ११:५६:१५ | नेत्र शाही
unn.prixa.net

काठमाण्डौ – लेखक तथा अध्येता खडानन्द चौलागाईको पुस्तक कर्णालीका गाउँखाने कथाहरुकाे विमोचन भएकाे छ । पुस्तकमा कर्णाली भेगका एक हजार चार वटा गाउँखाने कथा संग्रहित छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मधुसुदन गिरी, चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्का लगायतका अतिथिले पुस्तक विमोचन गर्नु भएको हाे ।

आयुषराज मल्टिमिडियाका भरतबहादुर मल्लको आतिथ्यतामा भएकाे कार्यक्रममा आलु विज्ञ डा भिम के सी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाकाे सहभागिता रहेकाे थियो ।

विमाेचित पुस्तकमा तीन खण्ड छन् । पहिलो खण्डमा गाउँखाने कथाको परिचय, पृष्ठभूमि, वर्गीकरण, प्रयोगको बारेमा उल्लेख गरिएको छ । दोस्रो खण्डमा वर्णानुक्रमको आधारमा एक हजार चार वटा गाउँखाने कथाहरु समावेश गरिएको छन् ।

मेयर राजुसिंह कठायतले कर्णालीको लोकजीवनमा साहित्यिक फाँटले अग्रणी भूमिका खेलेको छ । यसमा विभिन्न तह र तप्काका व्याक्तित्वहरुको अतुलनीय भूमिका छ तीमध्ये कर्णालीको साहित्यिक बगैँचालाई मलजल गर्न खडानन्द चौलागाईले अविराम कलम चलाइरहनु भएको छ । त्यो कर्णालीको लागि गौरवको कुरा हो ।

पुस्तकका लेखक चौलागाईले नेपाली भाषाको जन्मकुण्डलीका रुपमा रहेको खस भाषालाई आज सरकारले जसरी उपेक्षा गरेको छ त्यसैगरी कर्णालीको लोकजीवनका साहित्यिक गाथालाई मलजल गर्न सकेनौँ भने भाषामा उपेक्षा गरेजस्तै कर्णालीको साहित्यिक विरासतमा पनि कुठाराघात हुने पक्का रहेकाे बताउनुभयाे ।

प्रमुख अतिथि गिरीले कर्णालीको लोकजीवनमा गुन्जिरहेको साहित्यक गाथालाई बङ्ग्याउँदै केही साहित्यकारहरुले आफू अनुकूलको लाभको सुविधा ग्रहण गरिरहेकाे र त्यो कर्णालीको लोक जीवनले कदापी स्वीकार नगर्ने बताउनुभयाे ।

उहाँले अहिले जसरी कर्णालीको नाम बेचेर आफूलाई फाइदा हुने काम गरेका छन् त्यो कालन्तरमा विष भएर निस्कन सक्छ त्यसैले समयमै सबैले सचेत भएर साहित्यमा कलम चलाउन आग्रह पनि गर्नु भयाे । खडानन्द चौलागाईको यो प्रयासले आउँदा दिनहरुमा अझै परिस्कृत भइ समग्र कर्णालीको लोकजीवनमा सहयोग पुग्नेछ भन्दै कृतिको सफलताको लागि पनि उहाँले शुभकामना व्यक्त गर्नुभयाे । कार्यक्रममा बीचबीचमा देउडा भाकामा गीतहरु गुञ्जिएका थिए । 

कर्णालीकाे परिचय २०६१, कर्णाली निबन्ध संग्रह २०६५, मझेरीबाट हेर्दा कर्णाली २०७३, कर्णालीका आह्वान तथा उखान संग्रह २०७५,साक्षरता पुस्तक २०७६,अनियन्त्रित मनका बरालिएका सपनाहरु, गंगा स्मृति ग्रन्थहरु र कर्णालीका गाउँखाने कथाहरु लेखकका प्रकाशित कृतिहरु हुन् ।

लेखक चौलागाई चन्दननाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख पनि हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया