पशु बीमाको रकम पाएपछि किसानमा देखिएको खुशी

 कात्तिक १६, २०७५ शुक्रबार १०:३५:२२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – भैसी पालन गरेर जिविकोपार्जन गर्दै आउनुभएका मुसिकोट नगरपालिका ११ भलाक्चाका तुलसीराम ओलीको भैंसी भदौमा मर्‍याे। परिवारको आयस्रोत बनेको भैंसी नै गुमाएपछि ओलीको आयस्रोत नै बन्द भयो । उहाँ निराश हुनुहुन्थ्यो तर, विहीबार उहाँले भैसीको बीमा बापतको ५४ हजार रुपैयाँ पाउनुभयो । भैंसीको बीमाको रकम उहाँको हातमा परेपछि खुशीको सीमा भएन ।  

उहाँ जस्तै बाख्रापलनमा सक्रिय त्रिवेणी गाउँपालिका ६ मुरुकी भिमा पुन पनि पशु बीमाको रकम पाए खुशी हुनुभयो । उहाँका ३ ओटा बाख्रा निमोनियाको कारण असोजमा मरेका थिए । उहाँले ३६ हजारको चेक बुझ्दै भन्नभयो, ‘पशुको बीमा गर्दा बेलैमा आफ्नो गुमेको लगानी फिर्ता पाएँ ।’ 

ओली र पुन जस्तै रुकुम पश्चिमका ११ जना कृषकहरुले विहीबार लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम शाखाबाट पशु बीमा दावीको रकम प्राप्त गरेका छन् । कार्यालयमै बोलाएर रुकुमका ११ जना कृषकहरुलाई बीमा दाबीको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

बीमा कम्पनीका रुकुम शाखा प्रमुख मोतिलाल बोहराका अनुसार, १ जना भैंसी पालक किसान र अन्य भेडाबाख्रा पालनमा लागेका ११ जना कृषकहरुहरुको बीमा दाबी रकम महिना दिनमै उपलब्ध गराइएको छ । उहाँले जम्मा १ लाख ९५ हजारको पशु बीमा दाबी रकम एकै दिन वितरण गरेको जनाउनुभयो । 

कम्पनीका अनुसार, पशु बीमाको दाबी रकम पाउनेहरुमा मुसिकोट ४ का बीरबहादुर नेपाली, छिवांगका करुणा पुन, भलाक्चाका मनसरा खड्का, दिलसरा खड्का, योगमाया पुन, देविलाल खड्का र कर्णबहादुर ओली, पेउघाका उदीराम कसेरा रहेका छन्  । त्यसैगरी रुकुम पूर्व तकसेराका जवाहरलाल बुढाले पनि बाख्राको बीमा वातप १६ हजार दुई सयको चेक पाउनुभएको छ । 

मृत्यु पश्चात् दाबी रकम नपाउने डरले किसानहरु पशु बीमा गर्दैनन् । पशुपालनमा लागेका कृषकहरु पशुहरु मर्दा लगानी गुम्ने चिन्तामा हुन्छन् । कम्पनीका शाखा प्रमुख बोहराले भन्नुभयो, – पशु बीमालाई पनि  महत्व दिनु जरुरी छ । जसले गर्दा किसानमा पशुपालनप्रतिको रुची बढ्दै जान्छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया