पोर्चुगलमा राहदानी बनाउन तथा नवीकरण गर्न नपाउँदा नेपाली समस्यामा

 फागुन ६, २०८० आइतबार ९:२३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न देश हुँदै पोर्चुगल पुगेका नेपालीले राहदानीमा भैरहेको समस्याले थप मर्कामा परेका छन् ।

विशेष गरी : पोर्चुगल बसाइको वैधानिकताका लागि त्यहाँको अध्यागमन निकाय एकीकरण, आप्रवासन र शरणमा बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरू धेरै समस्यामा परेका हुन् । राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपालीले घुम्ती टोलीसम्म पनि नआएको भन्दै गुनासो गरेका छन् ।  

पोखराका रवि थापाले राहदानी बनाउन जोखिम मोलेरै भए पनि स्पेनमा रहेको नेपाली दूतावास जाने तयारी गरेको बताउनुभयो । लामो समयदेखि परिवारसहित पोर्चुगल बस्दै आएका गोरखाका दिनेश श्रेष्ठले पनि राहदानीको म्याद गुज्रेका कारण धेरै सास्ती खेप्नुपरेको गुनासो गर्नुभयो ।

लिस्बनमा रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावासको कार्यालयले दिएको तथ्याङ्क अनुसार राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउने नेपालीको संख्या दुई हजार ६ सयभन्दा धेरै छ । दुई हजार ९७ जनाको नवीकरण, चार सय ५० जनाको हराएको र ६५ जना बालबालिकाको नयाँ राहदानी बनाउनुपर्ने आवेदन छ ।

पोर्चुगलमा नेपाली दूतावास खुलिनसकेका कारण राहदानी बनाउन स्पेन, फ्रान्स, बेल्जियम र डेनमार्कमा रहेको नेपाली दूतावाससम्म पुग्नुपर्ने हुन्छ । पोर्चुगलमा रहेका नेपालीको यकिन तथ्याङ्क नभए पनि ५० देखि ६० हजार हाराहारीमा हुनसक्ने अनुमान छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया