उपेन्द्र यादव र नवलिकशाेर साहद्वारा शपथ ग्रहण, उपप्रधानमन्त्रीको सङ्ख्या ४ जना पुग्यो

 फागुन २७, २०८० आइतबार १५:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले शपथ लिनुभएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ । जसमा एमालेले आठ, नेकपा (माओवादी केन्द्र) ले अर्थसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दुई/दुई वटा मन्त्रालय पाएका छन् ।

नयाँ मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको सङ्ख्या फेरि चार जना पुगेको छ । अघिल्लो वर्ष पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डले विष्णु पौडल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री राख्नुभएको थियो । त्यसपछि कांग्रेससँगको गठबन्धन बन्दा श्रेष्ठ र पूर्णबहादुर खड्का गरी दुई जनामात्र उपप्रधानमन्त्री थिए । अहिले फेरि एमालेसहितको नयाँ गठबन्धन बनाएपछि चार जना उपप्रधानमन्त्री बनाउनुभएको हो । अहिले एमालेबाट रघुवीर महासेठ, माओवादीबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बन्नुभएको छ ।

सरकारमा सहभागी भएको एकीकृत समाजवादीबाहेक सबै दलले एक/एक जना उपप्रधानमन्त्री पाएका छन् । मन्त्री मात्रै बन्दा पनि वरीयता तोकिने हुनाले उपप्रधानमन्त्री पद आवश्यक पर्दैन । उपप्रधानमन्त्रीहरूको काम पनि मन्त्रीहरूको भन्दा केही फरक हुँदैन । सचिवालय सुविधा र तलब भत्ता भने बढी हुन्छ । त्यही सुविधा र प्रतिष्ठाका लागि नेताहरू उपप्रधानमन्त्री पदका लागि जोड गर्छन् । यसअघि २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा छ जनासम्म उपप्रधानमन्त्री बनाइएका थिए ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया