एक सय वटा पेन्गुइन मारेको आरोपमा अर्जेन्टिनाका किसानलाई तीन ...
मंसिर ६, २०८१ बिहिबार
मल्लिका थापा
घटना १
२०८० सालको वैशाखमा तनहुँको व्यास नगरपालिका वडा नम्बर १० का मनबहादुर (नाम परिवर्तन) धन कमाउने आशा बोकेर साउदी अरबका लागि उड्नु भयो । त्यहाँ पुगेर काम गर्न थालेको केही दिनमै उहाँ बिरामी पर्नुभयो । कमाउन भनेर घरपरिवारको जिम्मेवारी काँधमा लिएर खाडी छिर्नु भएका मनबहादुरलाई बिरामी हुँदा के भयो भनेर सोध्ने कोही भएन । न समयमा खाना, न आवश्यक परेका बेला आराम । बिरामी परेका बेला पानीसमेत दिने मान्छे भएन उहाँलाई । न बिरामी शरीरले आराम पायो, न मनले शान्ति । कमाउन नसके नेपालमा ऋण कसरी तिर्ने, घर खर्च कसरी टार्ने, समाजले हुतिहारा भन्ने भए भन्ने चिन्ताले भित्रभित्रै खाइरह्यो । साहुसँग घर फर्कन बिन्ती गर्दासमेत पनि दिएनन् ।
परदेशिएको तीन महिनापछि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सहयोगमा मनबहादुर बल्लतल्ल नेपाल फर्किनुभयो । उहाँकाे शरीरभन्दा बढी मन गलेको थियो । उहाँलाई घरपरिवारले साथ दियो । वडा कार्यालयको सहयोगबाट सामीका मनोपरामर्शकर्ता संगीत गुरुङसँग भेटेपछि उहाँको हराएको आत्मबल फेरि भेटियो । उहाँँले मनबहादुरको मनको उपचारसँगै शारीरिक उपचारमा सहयोग गर्नुभयो । अहिले मनबहादुर शारीरिक र मानसिक दुवै रूपमा स्वस्थ हुनुहुन्छ । नेपालमै गाईपालन गरिरहनुभएको छ । आम्दानी राम्रो छ । २०८१ सालकाे साउनमा उहाँ विदेशबाट फर्किनुभएको एक वर्ष हुन्छ । उहाँ भन्नुहुन्छ, 'विदेशमा गर्ने दुःख नेपालमा गर्ने हो भने स्वदेशमा नै धेरै राम्रो हुने रहेछ । आफ्नो परिवार र आफन्त नजिक हुँदा छुट्टै आत्मबल र हौसला मिल्ने रहेछ, सबैभन्दा ठूलो कुरा मनको भारी बिसाउने चौतारी पाइने रहेछ ।'
घटना २
धादिङकाे नीलकण्ठ नगरपालिकाकी सुनिता कार्की (नाम परिवर्तन) का श्रीमान् १० वर्षभन्दा धेरै समयदेखि वैदेशिक राजगारीको शिलशिलामा साउदी अरबमा हुनुहुन्छ । उहाँको परिवारमा सासू, एक छोरा र एक छोरी हुनुहुन्छ । शुरुमा श्रीमान् विदेश गएपछि घर व्यवहारको कामदेखि छोराछोरीको हेरचाहसम्म सबै जिम्मेवारी सुनिताको थाप्लोमा आयो । काठमाण्डौमा बसेर काम गर्ने उहाँले कामको बोझले छोराछोरीको पढाइलेखाइमा ध्यान दिन भ्याउनु भएन । घरपरिवार र काम समाल्न नसकेर उहाँले काम नै छोडेर भए पनि छोराछोरीलाई पढाउन थाल्नुभयो । घरमा सासू एक्लै भएपछि फेरि गाउँ नै गएर विभिन्न सङ्घ–संस्थामा आबद्ध भएर काम गर्न पनि थाल्नुभयो । केही समयपछि बिस्तारै उहाँको १३ वर्षीय छोराको व्यवहारमा परिवर्तन आउन थाल्यो । उहाँले छोरा एक्लै बस्ने, अरूले बोलेको मन नपराउने, धेरै रिसाउने गर्न थालेको ख्याल गर्न थाल्नुभयो । उहाँ भन्नुहुन्छ, 'राम्रो पढाइ भएको छोराको पढाइ पनि बिग्रिन थाल्यो । ऊ झर्किन्थ्यो, फन्किन्थ्यो । आफूलाई भने पीर लाग्थ्यो ।'
छोराले आत्महत्यासम्म गर्ने प्रयास गरेको पनि सुनिताले थाहा पाउनुभयो । छोरालाई आफूले समय दिन नसकेको र उसको बुबा पनि नभएका कारण छोरामा मनोसामाजिक समस्या भएछ भन्ने लाग्यो । उहाँँले सामी कार्यक्रमअन्तर्गत आफ्नै नगरपालिकामा आएका परामर्शकर्ता रामकुमार थापालाई भेटेर समस्या सुनाउनुभयो । सरिता भन्नुहुन्छ, 'सरले छोरालाई भेटेपछि छोराले सहज महसुस गर्न थालेको छ । हामीलाई नभनेका र भन्न नसकेका कुरा सरसँग भनेछ ।' मनोपरामर्शकर्ताले सरितालाई छोरालाई कडा खालको मानसिक स्वास्थ्य समस्या भइसकेकाले औषधि नै खानपर्ने परामर्श दिएपछि उहाँले काठमाण्डौ आएर जचाएर औषधि खुवाउन थाल्नुभयो । औषधिसँगै परामर्श पनि निरन्तर लिइरहनुभयो । सरिता खुशी हुँदै भन्नुहुन्छ, ‘छोरालाई ठीक हुन थालेको छ । पढाइ पनि बिस्तारै राम्रो हुँदै गएको छ ।'
घटना ३
श्रीमान् विदेश गएपछि बाग्लुङकी कालिका (नाम परिवर्तन) लाई घरपरिवारले निकै दुःख दिए । परिवारमा विभिन्न कुराले कलह भइरह्यो । उहाँले परिवारको अनेक लाञ्छना, आरोप र कुटपिट निकै सहनुभयो । मन त हो, कति थेगोस् ... कालिकाले यो सब सहन नसकेर बरु मर्याे भने टन्टै साफ भनेर आत्महत्या गर्ने प्रयास पनि गर्नुभयो । उहाँ सम्झनुहुन्छ, 'मर्न भनेर जङ्गल नगएको पनि होइन तर छोराछोरीको अनुहार झल्झली याद आयो । एकछिन रोएपछि छुट्टै आँट आयो । आफू मरेर समस्या समाधान नहुने रहेछ बरु बाँचेर आफूलाई दुःख दिनेहरूसँग लड्छु भन्ने लाग्यो र फर्किएँ ।'
त्यसपछि एकदिन बाग्लुङ नगरपालिका जाँदा उहाँँको भेट मनोपरामर्शकर्ता मधु पौडेलसँग भयो । कुराकानी हुन थाल्यो । कालिकालाई उहाँको घरमै गएर मनोपरामर्शकर्ता पौडेलले ढाडस दिन थाल्नुभयो । कालिकाले पनि उहाँसँग आफ्नो मनको गाँठो फुकाउँदै जानुभयो, 'एक्लै बस्न मन लाग्छ, केही गर्न जाँगर चल्दैन, बच्चाहरूले के गरे, के खाए, कहाँ गए भन्ने पनि वास्ता हुँदैन । निद्रा पटक्कै पर्दैन ।' मनोपरामर्शकर्ता पौडेलले कालिकाको विगतदेखि वर्तमानसम्मको व्यक्तिगत, पारिवारिक, सामाजिक र आर्थिक अवस्थाबारे सोध्दा कालिकाले निर्धक्क बताउनुभयो । मनोपरामर्शकर्ताले डर व्यवस्थापन र आत्मबल बढाउन विभिन्न विधि तथा परामर्श सीप प्रयोग गर्दै सेवा दिएपछि जस्तै परिस्थितिमा पनि सामना गर्नुपर्छ, अरूको अत्याचार सहेर बस्न हुँदैन रहेछ भनेर साहस बटुलेको कालिकाको भनाइ छ । उहाँले परामर्शसँगै डाक्टरले सुझाएको औषधि पनि खानुभयो । अहिले त मनोपरामर्शसँगै सीप विकासका कार्यक्रममा सहभागी भएर आयआर्जनसम्म गर्न थालेको कालिकाको अनुभव छ ।
...
यी घटना र घटनामा संलग्न व्यक्तिहरू उदाहरण मात्र हुन् । उनीहरूको समस्या समाधानमा खटिने मनोसामाजिक परामर्शकर्ता नेपाल सरकार र स्विस सरकारबीच भएको दुईपक्षीय सम्झौताअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गतका हुन् । यस कार्यक्रमअन्तर्गत नेपालका विभिन्न जिल्लामा मनोसामाजिक परामर्श सञ्चालन भइरहेको छ । बाध्यताले होस् या रहरले वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेसँगै यस्ता घटना र समस्या पनि बढ्दै गएका छन् ।
धेरै परदेशी र परदेशीका परिवारले विभिन्न किसिममा मानसिक समस्या भोगिरहेका छन् । कतिले आफू विदेश गएपछि घरपरिवारलाई कसले समाल्छ भन्ने पीर लिएका हुन्छन्, कतिले विदेशमा सोचेअनुसार काम नपाएर परिवारलाई के भन्ने, ऋण कसरी तिर्ने भन्ने तनाव लिएका हुन्छन् भने कतिले श्रीमान् वा श्रीमती विदेश गएपछि यता एक्लै हुँदा गाउँ समाजको आरोप सहेर बस्नुपरेको हुन्छ । घरपरिवारकै सदस्यले कतिलाई असहयोग गरिरहेका हुन्छन् । बाबुआमाले छोरा या छोरीलाई नभेटी मरिन्छ कि भन्ने चिन्ता लिएर बसेका हुन्छन् । बालबालिकामा पनि एकाेहोरो हुने, व्यवहारमा समस्या हुने हुन्छ ।
त्यसैले सबैलाई मनोपरामर्शको खाँचो हुन सक्छ । यस्ता सबै समस्याको समाधानका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत मनोसामाजिक परामर्श सञ्चालन भइरहेका छन् । सामी कार्यक्रमले विशेषगरी खाडी देश र मलेसिया गएका श्रमिकका परिवारलाई मनोपरामर्श सेवा दिइरहेको छ । मनोपरामर्श सेवा सबैका लागि आवश्यक छ भन्ने बुझेर पछिल्लो समय स्थानीय सरकार (पालिका) मार्फत कार्यक्रम सञ्चालन भइरहेको छ ।
तनावले मनोसामाजिक समस्या बढ्दा ज्यानै जाने घटना
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीका लागि नेपाली सबैभन्दा धेरै खाडी देश तथा मलेसिया जाने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार नेपाली सबैभन्दा धेरै साउदी अरब गएको पाइएको छ । डेढ दशकको अवधिमा वैदेशिक रोजगारीका क्रममा झन्डै साढे १० हजार जनाभन्दा बढी श्रमिकले ज्यान गुमाएको सरकारी प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये झन्डै १२ दशमलव ७५ प्रतिशतको आत्महत्याका कारण ज्यान जाने गरेको तथ्याङ्क छ । आत्महत्या गर्ने व्यक्तिमा कुनै न कुनै किसिमको मनोरोग भएको पाइन्छ । सामीअन्तर्गतको सेवाको विश्लेषणमा मनोसामाजिक समस्याको कुरा गर्दा सबैभन्दा धेरै झन्डै ६० प्रतिशतभन्दा बढी पीरचिन्ताको समस्या भएको देखिएको छ । उदासिनता अर्थात् 'डिप्रेशन' को समस्या २० प्रतिशतमा पाइएको छ ।
यसभित्र आत्महत्याको जोखिम र प्रयासको समस्या ३ प्रतिशत भएको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) नेपालले जनाएको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाका परिवारलाई आघातपूर्ण घटना, गुमाएकाका परिस्थितिका कारण पनि समस्या, स्वास्थ्य समस्या र अत्यधिक कामको बोझले दिने तनाव, वैदेशिक रोजगारीमा जाँदा लिएको ऋण, ठगीका कारण पनि मनोसामाजिक समस्या हुने गरेको छ । वैदेशिक रोजगारीमा काम गर्दागर्दै मनोसामाजिक समस्या देखिन थालेपछि कतिपय कामदार स्वदेश फर्किने पनि गरेका छन् । वैदेशिक रोजगारीमा गएका कामदार र उनीहरूको परिवारमा चिन्ताको समस्यादेखि आत्महत्या गर्ने प्रयासका घटना बढी नै पाइएको छ ।
सीएमसी नेपालकी कार्यक्रम संयोजक मनोविद् स्मृति घिमिरेका अनुसार समाजमा परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीका लागि गएपछि उसको अनुपस्थितिमा घरमा हुनेलाई जिम्मेवारी थपिने तर यसबारे न परिवारले बुझ्छ न समाजले । बरु उल्टै नचाहिँदा आरोप र प्रत्यारोप लगाएर उसलाई मानसिक रूपमा तनाव दिने काम गरिरहेको पाइन्छ । त्यसैगरी बच्चालाई पनि बुबा वा आमा एक जनाले मात्र हुर्काउँदा जिद्दीपना पनि आउने गरेको देखिएको छ । परिवारका ज्येष्ठ नागरिकलाई विदेशमा जाने आफ्नो छोराछोरी वा बुहारी वा नातिनातिनाले ज्यान गुमाउने पो हो कि भन्ने डर र चिन्ताले भित्रभित्रै सताउने गरेको भेटिएको छ । घिमिरे भन्नुहुन्छ, 'योबीचमा आएका सबै समस्यासँग जुध्दै अघि बढ्ने क्रममा यो सबै कुरा सामना गर्न सके राम्रो हो तर सामना गर्न नसकेमा भने मानसिक रूपमै समस्या हुने हो । त्यसैले उनीहरूलाई आफ्नो वरपर रहेका सबैको साथ र सहयोगको आवश्यकता पर्छ । यदि नपाएमा मनोसामाजिक समस्या निम्तने जोखिम धेरै हुन्छ ।'
वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई कमाउन नसकेर फर्केको भन्ने जस्ता लाञ्छना लाग्ने गरेकाले मनमा चोट लाग्ने गरेको पाइएको छ । सबैको वैदेशिक रोजगारीको यात्रा सुखद नहुन सक्छ । त्यसैले कति कमाएको, किन नकमाएको, कामउनैपर्छ भन्ने जस्ता दबाब परिवारको तर्फबाट सिर्जना हुँदा पनि उनीहरूलाई मनोसामाजिक समस्या हुन सक्छ । जसले गर्दा कतिपयले समस्या समाधानको उपाय भन्दै आत्महत्याको बाटोसमेत रोज्ने गरेको पाइन्छ । कतिपयले भने कमाएर पनि विदेशमै उल्टो खर्च गरेर रित्तै घर फर्कने अनि घरको आवश्यकता पूरा गर्न नसक्ने, ऋण तिर्न समस्या हुने जस्ता समस्या भएपछि तनावका कारण मानसिक रूपमा विक्षिप्त हुन पुग्छन् । तर मनोपरामर्शकर्ताले भेटेर परामर्श दिन थालेपछि उनीहरूमा सकारात्मक परिवर्तन आएको धेरै उदाहरण छन् । सामी कार्यक्रमले उनीहरू लयमा नआउन्जेलसम्म परामर्श दिने गरेको छ । योसँगै वित्तीय साक्षरताका कार्यक्रममा सहभागी गराउने, सीपमूलक तालिम सञ्चालन गर्ने गरेकाले पनि उनीहरूको सामाजिक र आर्थिक अवस्थामा सुधार ल्याउन धेरै सहयोग मिलेको छ ।
सामी कार्यक्रमले मनोपरामर्श कार्यक्रममा विशेषत कसलाई समेट्छ ?
मनोपरामर्शकर्ताले कसरी काम गर्छन् ?
मनोपरामर्शकर्ताले वैदेशिक रोजगारीसम्बन्धी परिवारमा भएको अन्योलताको स्थितिले निम्त्याएको भावनात्मक परिस्थितिलाई समाल्ने प्रयास गर्छन् । मनोपरामर्शकर्ता रामकुमार थापा भन्नुहुन्छ, 'हामी परदेशीका छोराछोरी वा श्रीमान्, श्रीमती वा परिवारका अन्य जोकोही सदस्यसँग बसेर सम्बन्ध राम्रो बनाउने, बिस्तारै उनीहरूलाई परेको गाह्रो, अफ्ठ्यारोमा हामी सहयोग गर्न तयार छौँ, हामी तपाईँहरूसँगै छौँ भन्ने भान गराउँछौँ । त्यसपछि उनीहरूसँग ठ्याक्कै के–के कुरामा समस्या, कठिनाइ भइरहेको छ भन्ने पहिचान गरेर चाहे आर्थिक होस् या सामाजिक, पढाइ, घरको कामकाजले तनाव भइरहेको अवस्थामा उनीहरूलाई आवश्यक परेको समस्या समाधानका लागि स्थानीय निकायले के–कस्ता कार्यक्रममार्फत सहयोग गर्न सक्छन् त्यसमा जोडिदिने काम गर्छाैँ ।'
कडा खालको मानसिक समस्या भएकालाई मनोपरामशसँगै औषधि खान प्रोत्साहन गर्ने काम मनोपरामर्शकर्ताको हुन्छ । समस्यामा हुनेहरूलाई समाज र परिवारको साथ र सहयोग धेरै चाहिन्छ । त्यसैले मनोपरामर्शकर्ताले घरपरिवारमा परामर्श दिने, नियमित औषधि खान प्रोत्साहन गर्ने, औषधि छुटेमा समस्या फेरि बल्झिने कुरा बुझाएर निरन्तर डाक्टरको सल्लाहअनुसार औषधि खाएमा रोग निको हुने, दैनिक क्रियाकलापमा फर्कने, पहिलेजस्तै आर्थिक आर्यआर्जन गर्न सक्ने लगायतका बारेमा जानकारी दिने गरेका छन् ।
बालबालिकालाई मनोसामाजिक समस्या हुँदैन भन्ने भ्रम चिर्न आवश्यक
नेपाली समाजमा बच्चामा मनोरोगको समस्या हुँदैन भन्ने गलत धारणा भएको पाइएको छ । तर सीएमसी नेपालले गरेको अध्ययनले धेरै बालबालिका मनोसामाजिक समस्याको जोखिममा रहेका पाइएको छ । अझ वैदेशिक रोजगारीमा जाने अभिभावकको बच्चामा मनोसामाजिक समस्यासँगै आत्महत्याको सोच आउने धेरै रहेका भेटिन्छन् । बाबुआमाले धेरै अपेक्षा गर्ने, अरूसँग तुलना गर्ने, पढ्नैपर्ने भन्ने दबाब धेरै दिने गरेकाले समस्या बढ्न थालेको देखिन्छ । मनोपरामर्शकर्ता रामकुमार थापाका अनुसार ६ वटा विद्यालयमा गरेको अनुगमनको आधारमा सय जना बालबालिकामध्ये ३५ जनामा केही न केही मानसिक समस्या रहेको पाइएको छ । उहाँ भन्नुहुन्छ, 'अभिभावकले आफ्ना बालबालिकामा हिजो गरिरहेको रुचि घट्दै गयो भने, हिजो गरिरहेको काम गर्न छोड्यो भने, खाइरहेको कुरा खान छोड्यो भने, राम्रो पढाइ बिग्रिन थाल्यो भने विशेष ख्याल गर्नुपर्छ । बच्चा एक्लै बस्ने, रिसाउने, झर्किने, दुब्लाउने, कुरा गर्दा झिझो मान्ने जस्ता लक्षण देखियो भने उनीहरूलाई स्वास्थ्य संस्था लैजानुपर्छ ।'
मनको समस्या हुनेले आफैँ उपचार खोज्ने प्रवृत्ति बढ्यो
सामी कार्यक्रमको शुरुवाती चरणमा मनोामाजिक परामर्श सेवा दिन गाउँगाउँमा सेवाग्राही खोज्नका लागि परामर्शकर्ता आफैँ मात्रै जानुपरेको अवस्था थियो । तर अहिले त्यो अवस्थामा परिवर्तन भएर स्वयम् सेवाग्राही सेवा खोज्दै आउने गरेका सामीले जनाएको छ । कसैको ज्यान बच्छ, कसैको सम्बन्ध र कसैको सम्पत्ति बच्ने भएकाले मलाई समस्या छ भनेपछि म नै अघि आएर उपचार खोज्न र गर्न हिच्किचाउनु हुँदैन भन्ने चेतना बढेको पाइन्छ । यसबाहेक पालिकासँग समन्वय गरेर, महिला समूह, आमा समूह, सहकारी लगायतसँग जानकारी लिएर सामी परियोजनाका मनोपरामर्शकर्ताले आवश्यक पर्नेलाई सेवा दिने गरेको अभ्यास छ ।
मनोपरामर्शसँगै आयआर्जनसँग जोड्न पाए अझ प्रभावकारी हुने रहेछ :
बिमला राई, मेयर– हलेसी तुवाचुङ नगरपालिका
कोशी प्रदेशको खोटाङ जिल्लामा पर्ने हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले शुरुमा वैदेशिक रोजगारीमा जानेको परिवारको मानसिक अवस्थाबारे पहिचान गर्ने गरिएको बताउनुभयो । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने मात्र नभएर स्वदेशमा सँगै भएकाहरू पनि मनोसामाजिक समस्याको शिकार भएका छन् भन्दै उहाँले विशेषगरी वैदेशिक रोजगारीमा गएका परिवारका लागि परामर्श दिने गरिएकोमा उनीहरू पहिले जस्तै दैनिक लयमा आएपछि र आउने क्रममा पनि उनीहरूकाे आम्दानी र आयआर्जनसँग जोडिदिएर छुट्टै बजेटको व्यवस्था गरेर भए पनि नगरपालिकाले काम गरिरहेको बताउनुभयो । मेयर राई भन्नुहुन्छ, 'आम्दानीसँग जोडिएपछि उहाँहरू अलि धेरै सहभागी भएको पाइएकोले मनोसामाजिक परामर्शको मात्र कुरा नगरेर वित्तीय साक्षरता र नगरपालिकाका अन्य कार्यक्रममा जोडिएपछि उहाँहरूको सक्रियता बढेको छ । परिणाम पनि आइरहेको छ ।'
त्यहाँ घरघर नै पुगेर तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । उनीहरू मनस्थिति कमजोर बनाउने, अरूले लाञ्छना लगाउनेसँगै आफूले काम गर्ने आँट नगरेको, हिम्मत नगरेको, आत्मबल बलियो नभएर काम गर्न नसकेको लगायतका अवस्थामा भेटिने गरेका परामर्शकर्ताको अनुभव छ । धेरैजसोको श्रीमान् बाहिर गएपछि घरमा राम्रो सम्बन्ध नभएको, उनीहरू पनि घरमा बस्न मन नगर्ने, बाहिरै बस्ने इच्छा गर्ने धेरै छन् । बच्चाको पठनपाठनको कुरालाई लिएर पनि राम्रो विद्यालय खोजेर त्यतै पायक पर्ने ठाउँमा बस्ने गरेको पाइन्छ । तर त्यो पूरा नभएपछि घरपरिवारप्रति वितृष्णा आउने, आफैँलाई तनाव हुने हुन्छ ।
पछिल्लो समय मानिसको मनोविज्ञान कमजोर बनेको सङ्ख्या ठूलो छ । उनीहरूलाई परामर्शसँगै औषधि आवश्यक परेमा पनि पालिकाले उपलब्ध गराउँछ । उपचारका लागि पनि पठाउँछ । सबै क्षेत्रमा मनोरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । ७ वर्ष जनप्रतिनिधि भएर काम गरिसक्नुभएकी मेयर राईले पहिला र अहिलेको समस्या भिन्नाभिन्नै रहेको पाइएको बताउनुभयाे । पहिला श्रीमान् नहुँदा परिवारमा हिंसा खेप्नुपर्ने, लाञ्छना सहनुपर्ने लगायत समस्या हुन्थ्यो, अहिले उनीहरूको माग बढ्न थालेको, श्रीमानले माग पूरा गर्न नसकेपछि समस्या हुने गरेको पाइएको छ । परामर्शमा खटिने परिपक्व रहेका र आर्थिक आयआर्जनसँग जोडिएपछि कार्यक्रम प्रभावकारी हुन थालेको र अवस्था सुधार भएको उहाँको भनाइ छ ।
शारीरिक स्वास्थ्य जस्तो मानसिक स्वास्थ्यबारे चासो कम
विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यलाई शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मक स्वास्थ्यको रूपमा व्याख्या गरेको छ । सम्पूर्ण स्वास्थ्यमा कोही स्वस्थ छ भने मात्र यसलाई पूर्णरूपमा स्वस्थ मानिसको रूपमा लिन सकिन्छ । त्यसमा मानसिक स्वास्थ्यको कुरा अभिन्न कुरा हो । कहिलेकाहीँ शारीरिक समस्याले मानसिक स्वास्थ्य समस्या निम्त्याउने र कहिले मानसिक समस्याले शारीरिक स्वास्थ्य समस्या निम्त्याउने गरेको पाइन्छ । यी दुई वटाको अन्तर्निहीत सम्बन्ध छ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाले 'No Health without Mental Health' भन्छन् अर्थात् मनमा लाग्ने रोग पहिचान गरेर उपचार नगरेसम्म कोही पनि स्वस्थ हुन सक्दैनन् । नेपाली समाजको कुरा गर्दा मलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या छ भन्ने कुरा स्वीकार गर्नलाई चुनौती रहेको सीएमसी नेपालकी कार्यक्रम संयोजक मनोविद् स्मृति घिमिरेले बताउनुभयो । उहाँका अनुसार कोभिडको महामारीपछि यसमा अलिकति सचेत हुन थालेको पाइएको छ ।
सामीले काेराेनाकालमा पनि क्वरेण्टीनमा रहेका मानिसहरूसामु पुगेर आवश्यक पर्नेलाई दिनरात नभनी परामर्श दिएको थियो । तर अझै जनचेतनाका कार्यक्रम पर्याप्त भएका छैनन् । मानसिक रूपमा स्वस्थ हुनपर्छ, मनमा रोग लाग्छ, उपचार गरे निको हुन्छ भन्ने चेतनाको विकास गर्नैपर्छ । मनोविद् घिमिरे भन्नुहुन्छ, 'मधुमेह, थाइरायड, उच्च रक्तचाप लगायतका शारीरिक समस्या भएमा उपचारका लागि कुदिहाल्छौँ तर मानसिक स्वास्थ्य समस्या भएमा भने समस्या पहिचानमै ढिला गर्छाैँ, स्वीकार गर्दैनाैँ, अरूलाई भन्न हिचकिचाउँछौँ । शरीरमा जस्तै रोग मनमा पनि लाग्छ भन्ने कुरा बुझ्न सकेका छैनौँ । औषधि खाए पनि अरूलाई भन्न लाज मान्छौँ ।'
उहाँका अनुसार मानसिक समस्यालाई लाजको विषय बनाउँदा समस्याको जरा गाडिँदै गएर निको हुन गाह्राे हुन्छ । मेरो परिवारमा कसैलाई मानसिक समस्या छ भने परिवारका सबैले सहयोग गर्न पर्याे । जसरी ज्वरोको उपचार र औषधि हुन्छ, पेट दुखेको औषधिले निको हुन्छ त्यसरी मन दुखेको औषधि पनि पाइन्छ, परामर्श मात्र पनि आवश्यक भएको हुनसक्छ, त्यसतर्फ ध्यान दिएर उपचारमा सघाउन पर्छ, हौसला दिनुपर्छ । 'जस्तोसुकै बिरामीलाई परिवारले गर्ने हेरचाहमा विभेद हुन भएन । बाँधेर राख्न भएन । परिवारले, समाजले बोझको रूपमा लिन भएन । धारणा फेरिनुपर्छ । नेपाली समाजमा मनोसामाजिक समस्याको सङ्ख्या बढेको र सामी कार्यक्रमको प्रभावकारिता बढ्दै गएको सन्दर्भमा सामी बाहेक पनि सरकारले छुट्टै कार्यक्रम ल्याएर सेवाग्राहीको सहज पहुँचमा पुर्याउन जरुरी छ', मनोविद् घिमिरेले भन्नुभयो ।
मनोपरामर्शकर्ताको सुझाव
वैदेशिक रोजगारीका कारण सिर्जना भएका मनोसामाजिक समस्यालाई समाधान वा कम गर्ने उद्देश्यले सञ्चालन भइरहेका कार्यक्रमले थुप्रै टुटेका मन जोडिदिने काम गरिरहेको छ । निभ्न लागेको दियोमा तेल थपेर बत्ती जगाइदिएको छ अनि आलो घाउमा मल्हम भएर निको बनाइदिएको छ । सामीले ३८ जिल्लाका १ सय ५६ वटा पालिकामा मनोपरामर्श सेवा दिइरहेको छ ।
सामीमार्फत पाएको मनोपरामर्शले कयौँ परदेशी र परिवारले नयाँ जीवन पाएका छन् । सामीले सन् २०१९ देखि २०२४ को जुलाईसम्म १३ हजार नौ सय १२ जनालाई मनोसामाजिक परामर्श दिएको जनाएको छ । जसमा सबैभन्दा धेरै महिला १२ हजार चार सय ९९ र पुरुष एक हजार चार सय २३ जनाले मनोसामाजिक परामर्श लिएका मानसिक स्वास्थ्य परामर्श केन्द्रले जनाएको छ ।
तर श्रम र मानसिक स्वास्थ्य मामिलाका विज्ञले श्रमिकका मानसिक स्वास्थ्यसम्बन्धी चुनौती सम्बोधनका लागि सरकारले भने पर्याप्त कदम चाल्न नसकेको बताउँदै आएका छन् । रेमिट्यान्सको क्षेत्रमा आप्रवासी कामदारकै कारण उल्लेख्य प्रगति भइरहेकामा श्रमिकको बढ्दो आत्महत्या गर्ने प्रवृत्ति सम्बोधन गर्न सरकारले नगन्य प्रयास गरेको विज्ञको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मनोचिकित्सक डा. सरोज ओझा वैदेशिक रोजगारीमा जाने व्यक्तिमा चेतना अभिवृद्धि गर्नुपर्ने र उनीहरूलाई आत्महत्या रोकथामका लागि स्थापना गरिएका हटलाइनमा पहुँच हुने कुरा सुनिश्चित गर्नुपर्ने बताउनुहुन्छ । उहाँँ भन्नुहुन्छ, 'कामदार विदेश जानुअघिको प्रणालीमा हाम्रो संरचनागत सुधार आवश्यक भइसकेको छ । जानुभन्दा अघि दिइने तालिम र अभिमुखीकरणमा हामीले मानसिक स्वास्थ्य समस्याका लक्षणहरू के–के हुन् भन्ने कुरा सिकाउनुपर्छ । आफू र आफ्ना साथीभाइलाई लक्षण देखियो भने चिकित्सकलाई भन्नुपर्छ भनेर समेत उनीहरूलाई जानकारी गराउनुपर्छ ।'
(सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौताअन्तर्गत सञ्चालनमा छ । यो कार्यक्रम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ ।)