कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ
पुस २६, २०८१ शुक्रबार
काठमाडौं – बेनीमाया ह्योजुको बाल्यकाल पर्यटकहरुकै वरिपरी बित्यो । बेनीमाया भक्तपुरको दरबार स्क्वायर क्षेत्रमै जन्मिएर हुर्किनु भयो । बिहान, दिउँसो, बेलुका वरिपरि पर्यटक नै देखिन्थे ।
बुझ्ने भएपछि धेरै संगत पर्यटककै भयो । कारण, दरवार स्क्यावरमै बेनीमायाका बुवाको हस्तकलाका सामानको पसल थियो । बेनीमाया पसलमा बसेका बेला आउने ग्राहक पर्यटक नै धेरै हुन्थे ।
उनीहरुले आफ्ना देशका बारेमा कुरा गर्थे । ‘त्यतिबेला मलाई पनि पर्यटकलाई हाम्रो देशका बारेमा सुनाउन अनि देखाउन काम गर्न पाए भन्ने लाग्थ्यो’ यही कुराले बेनीमाया पर्यटन क्षेत्रसँग नजिकिनुभयो ।
यही चाहनाले स्नातक पढेपछि बेनीमाया इटाली पुग्नुभयो भाषा पढ्न । दुई वर्ष पढेपछि बेनीमायाका लागि इटालीमै काम र कमाईको अवसर थियो । तर त्यो अवसर उहाँलाई ठूलो लागेन ।
परिवारसँगै बसेर काम र कमाई हुने अवसर बेनीमायाले बुझिसक्नुभएको थियो । इटालीबाट फर्किएर बेनीमायाले टुरिष्ट गाइड हुन चाहिने तालिम लिनुभयो । प्रमाणपत्र लिएपछि सुरु भएको टुरिष्ट गाइड जीवन तन्नेरी भइसकेको छ । तन्नेरी यसर्थमा कि पर्यटकको गाइडको काम थालेको १६ वर्ष पुगेर १७ वर्षमा टेकिसकेको छ ।
पर्यटकलाई शहर बजार घुमाउँदा घुमाउँदै बेनीमायालाई काममा सिपालु मात्रै बनाएन यो क्षेत्रको सम्भावना पनि बुझाइदियो ।
‘बाहिरबाट हेर्दा टुरिष्ट आए होटलमा बसे, घुमे गए भनिन्छ तर त्यही बीचमा कतिले काम पाइरहेका छन’ बेनीमायाले थप्नुहुन्छ ‘शहर घुमाउने टुरिष्ट गाइड, ट्रेकिङमा जानेहरुलाई ट्रेकिङ गाइड, उनीहरुका सामान बोक्ने पोटर गाइड हुँदै गाउँ पुगेका पर्यटकलाई गाउँमा फलेका चिज खुवाउनुपर्दा किसानले पनि काम पाउँछन् ।’
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार अहिले ४ हजार १ सय ८ जनाले टुरिष्ट गाइडको काम गरिरहेका छन् । अझै पनि यो क्षेत्रमा सम्भावना उत्तिकै छ ।विभिन्न देशबाट पर्यटक आउने भएकाले उनीहरुलाई चाहिने भाषा सिक्ने हो भने टुरिष्ट गाइडको कामबाट राम्रो कमाउ सकिन्छ ।
टुरिष्ट गाइडको काम मौसम अनुसारको हुन्छ । वर्षमा ६ देखि ८ महिनासम्म काम पाउँछन् । काम पाउने यो मौसममा अङ्ग्रेजी भाषाका गाइडले दिनको २ हजार पारिश्रमिक पाउँछन भने अरु भाषाका गाइडले ६ घण्टा खट्दा दिनको ३ हजार रुपैयाँसम्म कमाई हुन्छ ।
पर्यटन क्षेत्रमा अहिले सबैभन्दा धेरै ट्रेकिङ गाइड छन् । १६ हजार ८४ जना यसमै रोजगार भएका छन् । विभिन्न ठाउँमा जाने पर्यटकहरुलाई हिँडेर पुर्याउने ट्रेकिङ गाइडले पनि दिनमा २ हजार देखि ३ हजार रुपैयाँसम्म कमाउँछन् ।
सोलुखुम्बुका कर्ण थापामगर यस्तैमध्येका एक हुनुहुन्छ । उहाँले ट्रेकिङ गाइडको काम गरेको १५ वर्ष भयो । पोटर गाइड अर्थात पर्यटकका सामान बोक्ने कामबाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका कर्णले यसकै कमाईले काठमाडौंमा घडेरी किन्नुभएको छ ।
पर्यटक आएपछि उनीहरु नफर्किउञ्जेल गर्ने कामबाट लाखौंले रोजगारी पाएको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाउँछ । अहिले र्याफ्टीङ गाइडका रुपमा २ सय ५३ जना र संस्थाका रुपमा ७३ वटा संस्थाले पर्यटन बोर्डमा दर्ता भएर काम गरिरहेका छन् ।
अवसर त्यतिमा मात्रै छैन । झण्डै ३५ सय ट्राभल एजेन्सी, २६ सयभन्दा धेरै ट्रेकिङ एजेन्सी, ६ सय ३५ वटा होटल र १ सय १९ वटा होमस्टेले लाखौंलाई रोजगारी दिएको छ ।
पर्यटनले रोजगारी मात्रै दिएको छैन, स्वरोजगार पनि बनाएको छ । यसकै उदाहरण हुनुहुन्छ सोलुखुम्बुकै कामी शेर्पा । पर्यटक सामान बोकेर काम सुरु गरेका कामी शेर्पा अहिले ट्रेकिङ एजेन्सीको साहु बन्नुभएको छ ।
३९ वर्षअघि कामी शेर्पाले पोटर गाइडको काम सुरु गर्नुभयो । टुरिष्ट गाइड बनेका कामी शेर्पाले ११ वर्षपछि तीन जना साथीहरुसँग मिलेर ट्रेकिङ एजेन्सी खोल्नुभयो । साझेदारीमा ५ वर्ष बिताएपछि सन् १९९६ मा उहाँले आफ्नै ट्रेकिङ एजेन्सी खोल्नुभयो ।
कामदारबाट साहु बनेका कामी शेर्पाले अहिले पर्यटक आउने मौसममा सयौंलाई रोजगारी दिनुभएको छ । ‘१५ जना पर्यटक आए भने उनीहरुलाई विभिन्न गन्तव्यमा घुमाएर ल्याउन ४५ जना चाहिन्छ ।’ शेर्पाले भन्नुभयो ।
कामी शेर्पा र कर्ण थापामगर जस्ता ट्रेकिङ गाइड र संस्थाका सञ्चालक अनि बेनीमाया जस्ता टुरिष्ट गाइडलाई मात्रै होइन, पर्यटनले चक्र जस्तै गरेर व्यक्तिहरुलाई रोजगार बनाइरहेको छ ।
कसरी बेनीमाया ह्योजु थप्नुहुन्छ ‘सिधै हेर्दा चाहिँ टुरिष्ट आउँछन, होटलमा बस्छन्, रेष्टुरेण्टमा बस्छन अनि गाडीमा हिँडेको देखिन्छ तर त्यति मात्रै हुँदैन । उनीहरु शहर घुम्छन, घुमाउने गाइडले काम पाउँछन, ट्रेकिङमा जाँदा ट्रेकिङ गाइड, पोटर गाइड, कुक हुँदै गाउँमा पुग्दा उनीहरुले गाउँमा फलाइएका कुरा खाने हुनाले किसानले पनि त कमाउने अवसर पाए ।’
पर्यटन बोर्डको तथ्याङ्कले पनि बेनीमायाले भन्नुभएकै कुरालाई पुष्टि गर्छ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।