परदेशमा ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार बोर्डमा सम्पर्क गर्न आग्रह

 बैशाख ११, २०७७ बिहिबार १६:३६:२ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा परदेशमै ज्यान गुमाएका र लकडाउनका कारण स्वदेश ल्याउन नसकेका परिवारका सदस्यलाई फोन गरेर विवरण टिपाउन वैदेशिक रोजगार बोर्डको सचिवालयले आग्रह गरेको छ ।

यो लकडाउनको बेला कतिपय अवस्थामा कुन श्रमिकको ज्यान कसरी गयो भनेर पनि थाहा नहुने भएकाले आफूसँग भएको जानकारी टिपाइदिन आग्रह गरिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो ।

वैदेशिक रोजगार बोर्डको कल सेन्टरमा फोन गरेर मृतकको नामथर, पासपोर्ट नम्बर, मृत्यु भएको मिति र नेपालमा सम्पर्क व्यक्तिको नाम र फोन नम्बर टिपाइदिन आग्रह गरेको हो ।

यस्तै उहाँले यो समयमा परदेशमा ज्यान गुमाएका नेपाली श्रमिकको शव ल्याउने विषयमा पनि यो सूचनाले सहयोग हुने बताउनुभयो । तर अहिले नै परदेशबाट शव ल्याउने विषयमा कुनै तयारी नभएको उहाँको भनाइ छ ।

कल सेन्टरको सम्पर्क फोन नम्बर ११४१ अथवा १६६००१५०००५ (निस्शुल्क)  र विदेशबाट ९७७१०९७०००८ (सशुल्क) मा सम्पर्क गर्न बोर्डले आग्रह गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया