साउदीमा कोही पनि नेपालीलाई भोकभोकै पार्दैनौं, समस्या समाधान गर्छौं : राजदूत सिंह

 जेठ ५, २०७७ सोमबार १७:३७:३८ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले कोरोनाको कारण साउदीमा रहेका कोही पनि नेपालीलाई भोकभोकै नपार्ने र समस्या समाधान गर्ने बताउनुभएको छ । अहिलेको अवस्थामा श्रमिकको समस्या तत्काल समाधान गर्नु नै पहिलो प्राथमिकता रहेकाले कोही पनि श्रमिक भोकै नपर्ने राजदूत सिंहले दावी गर्नुभयो । 

‘अलपत्र परेका श्रमिकलाई मात्र नभएर दूतावासमा गुनासो गर्ने हरेक श्रमिकको गुनासो सम्बोधन गरिरहेका छौं र गर्छौं पनि,’ राजदूत सिंहले उज्यालोसँग टेलिफोनमा कुरा गर्दै भन्नुभयो, ‘दुई घण्टा ढिलो होला तर हामी सहयोगका लागि तयार छौं ।’

साउदीमा अहिले खाद्यन्न र बासको समस्या बढी देखिएको छ । साना कलकारखाना र उद्योग बन्द भएर समस्यामा परेका झण्डै पाँच सय जनाको खाद्यन्न लगायतको व्यवस्थापन अहिले पनि दूतावासले गरिरहेको राजदूत सिंहले जनकारी दिनुभयो । 

तत्काल २० हजार नेपाली फर्कन सक्ने अनुमान

साउदीमा अहिलेकै अवस्थामा पनि केही नेपाली श्रमिकले रोजगारी गुमाइसकेका छन् । कोरोना सङ्क्रमण बढदै जाँदा त्यहाँ रहेको नेपालीको रोजगारी गुम्ने खतरा पनि अझैं बढ्दै गएको छ ।

अहिले साउदीका होटर, रेस्टुरेन्टहरु, सलुनहरु बन्द हुँदा त्यहाँ कार्यरत नेपालीको रोजगारी गुमेको छ । यस क्षेत्रमा काम गर्ने श्रमिकलाई खाद्यन्न र बासको समस्या भएको छ । 

कोरोना र अरु समस्याका कारण दूतावासमा दैनिक कम्पतीमा पनि १५ जनाले सम्पर्क गर्ने गरेका छन् । दूतावासले गएको अप्रिल २७ देखि दुई वटा फोनमार्फत श्रमिको गुनासो टिप्ने र अभिलेखिकरण गर्ने गरेको थियो । एक हप्ताअघिदेखि अनलाइनमाफर्त पनि दूतावासले समस्यामा पर्नेको विवरण लिइरहेको छ । 

यसरी विभिन्न माध्यममार्फत अहिलेसम्म १० हजार जतिले आफ्नो समस्या दूतावासमा टिपाएका राजदूत सिंहले उज्यालोलाई जानकारी दिनुभयो । 

दूतावासले यसरी आउने समस्यामा पनि आन्तरिक रुपमा वर्गीकरणको काम गरिरहेको छ । काम र कमाइ नुहँदा खाद्यान्न समस्या, बस्ने समस्या, विभिन्न रोग लागेका, गर्भवती महिला, भिजिट भिसामा साउदी पुगेर फसेकाहरु, साउदी सरकार स्वयंले नेपाल फर्काउन खोजेका, कागजात विहिन भएका लगायतलाई समस्याको आधारमा दूतावासले वर्गीकरण गरिरहेको छ ।

घरफिर्ती केन्द्रमा रहेकाहरुलाई साउदी सरकारले नै पठाउँन खोजिरहेको छ । यी विभिन्न समस्यालाई आधारमान्दा साउदीबाट तत्कालै ८ हजारदेखि २० हजारको सङ्ख्यामा नेपालीलाई फर्कानउन पर्ने हुनसक्ने राजदूत सिंहले बताउनुभयो । 

‘यो अहिलेको अवस्थाको आधारमा गरिएको अनुमान हो, कोरोना सङ्क्रमणको अवस्थाको आधारमा यो बढ्ने, घट्ने हुन सक्छ’ राजदूत सिंहले भन्नुभयो, ‘यो सङ्ख्या र समस्याको बारेमा हामीले नेपाल सरकारलाई जानकारी दिएका छौं र उनीहरुको नेपाल फिर्तीका लागि आग्रह पनि गरेका छौं ।’

अहिले साउदीमा धेरैजसो खाद्यान्नको समस्या परेका नेपालीको गुनासो आउने गरेको छ । दूतावास र सामाजिक संघसँस्थाहरुले पनि समस्यामा पर्नेलाई सहयोग गरिरहेका छन । 

दूतावास आफैंले पनि समस्यामा परेका श्रमिकको क्षेत्रमा पुगेर खानाको उपयुक्त व्यवस्था गरिरहेका राजदूत सिंहको भनाइ छ । 

‘श्रमिकले भनेका हरेक कुरा सुन्ने, टिप्ने र समाधानका लागि पहल गर्ने गरेका छौं’ राजदूत सिंहले भन्नुभयो, ‘हरेक श्रमिकको समस्या समाधान गर्नु हाम्रो दायित्व हो, हामी गरिरहेका छौं ।’

 तथ्याँक मागिरहेका छौं

साउदीले कुनै पनि सङ्क्रमितको राष्ट्रियता नखुलाउने भएकाले सङ्क्रमित नेपालीको तथ्याँक पनि सजिलै दिँदैन । तर दूतावासले माग गरेकाले यसअघि ६७४ जनामा सङ्क्रमण भएको विवरण दूतावासलाई त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले उपलब्ध गराएका थिए । अहिले पछिल्लो समय पनि मागेको र साउदीले इदभन्दा पहिले उपलब्ध गराउने बताएको राजदूत सिंहले बताउनुभयो । 

साउदीले सङ्क्रमित सबैको उचित हिसाबले उपचार गरिरहेकोले डराउनुपर्ने अवस्था नभएको उहाँको भनाइ छ । 

‘साउदीमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीलाई दूतावासमा सम्पर्क गर्न अनुरोध छ,’ राजदूत सिंहले भन्नुभयो, ‘तपाईंले गुनासो गर्नुभयो, समस्या दूतावासमा राख्नुभयो भने हामी तुरुन्तै उपस्थित हुनेछौं ।’
 

2 Comments

  • Kishor budhathoki

    May 30, 2020, 12:48 a.m.

    मेरो भिसा सकिएको अनि खान बस्न धेरै समस्या छ / एउटा कोठामा १८/२० जना राखेको छ / यस्तै हो भने धेरै बाचिन्छ जस्तो लाग्दैन / फेरि म ब्लड प्रेसरको बिरामी ...दिनहुँ औषधि खानुपर्ने कारणले सार्है नै गाह्रो भएको छ हजुर ...प्लिज मलाई जसरी भए पनि नेपाल जानपाउँ , मर्ने परे नि आफ्नै देशमा मर्न पाए हुन्थ्यो ....

  • चन्द्र बहदुर यरि

    May 26, 2020, 2:14 a.m.

    मेरो भिसा सकियको 8 महिना भैसक्यो मेरो कम्पनी पनि छैन कोरिया हरु पनि भागी सके को हुनाले मलाई साउदि ले पनि वास्ता नगरेको हुनाले मलाई धेरै समस्या परेको छ बिरामी भयभने झनै समस्या पर्ने भको छ ।काम गर्न लाई अहिले काम पनि पाउदैन कोरनाले गर्दा ।खाना बस्न को लागि समस्या परेको हुनाले म आफ्नो देस नेपाल् फर्किन चाहान्छु ।

तपाईको प्रतिक्रिया