साउदीको मक्का क्षेत्रमा अवैधानिक भएका नेपालीलाई सम्पर्कमा आउन  आग्रह

 जेठ २५, २०७७ आइतबार १८:१०:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – साउदीको मक्का पश्चिम क्षेत्रमा अवैधानिक भएर बसेका नेपालीहरुलाई सम्पर्कमा आउन  जेद्दामा रहेको नेपाली कन्सुलेट जेनरलले आग्रह गरेको छ ।

भागेर अवैधानिक भएका तथा कम्पनीले अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका ताबुक, मक्का, मदिना, जिजान, अल्बाह, असिर रिजन र नजरानमा बस्ने नेपालीलाई सम्पर्कमा आउन कन्सुलेट जेनरलले आग्रह गरेको हो ।

कोभिड १९ को विश्ववव्यापी संक्रमणको कारणले स्वदेश फर्कनैपर्ने अवस्था भएका नेपाली नागरिकहरुलाई नेपाल सरकारले स्वदेश फर्कन सहजीकरण गर्ने निर्णय गरेसँगै जेद्दामा रहेको कन्सुलेट जेनरलले यस्ता व्यक्तिहरुको खोजी गर्न लागेको हो ।

यस्तो अवस्थामा रहेका नेपालीलाई आवश्यक विवरण सहित जेद्दामा रहेको कन्सुलेट जनरलमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यस्ता व्यक्तिले आफ्नो नाम, मोबाइल नम्बर, कम्पनीको नाम, स्थान र सम्पर्क नम्बर विवरणमा उल्लेख गर्नुपर्ने हुन्छ । यस्तै राहदानीको फोटोकपी (फोटोपेज मात्रै), अकामा बनेको भएमा अकामाको फोटोकपी र अकामा नबनेको भएमा राहदानीको बोर्डर नम्बर भएको पेजको फोटोकपी पनि पेश गर्नुपर्ने कन्सुलेट जनरलले जनाएको छ ।

आवश्यक परेको खण्डमा कन्सुलेट जनरलको सम्पर्क नम्बर ०१२६२२६६६५ मा सम्पर्क गर्न सकिनेछ । यस्तै कन्सुलेट कर्मचारीको नम्बर ०५९६७२६७०७, ०५३८५०२१९२ र ०५८ १७१४७५६ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई घर फिर्तीको लागि सूचना प्रवाह गरी समन्वय र सहयोग गरिदिन साउदी अरेबियामा रहेका सबै नेपाली संघ संस्थाहरुलाई कन्सुलेट जनरलको अनुरोध छ ।

 

तपाईको प्रतिक्रिया