कुवेतबाट बालबालिकासहित १ सय ४९ जना नेपाल आइपुगे

 जेठ ३०, २०७७ शुक्रबार १२:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : कुवेतबाट हिजाे फर्किएका महिला

काठमाण्डौ – कुवेतबाट १ सय ४९ जना नेपाल फर्किएका छन् । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै स्वदेश फर्काइदिएको हो ।

कुवेतबाट जजिरा एअरलाइन्समार्फत काठमाण्डौ आइपुगेकाहरुमा एक सय ४० जना महिला, २ जना दुई वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका रहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो । कुवेतबाट हिजो बिहीबार २ सय ९९ जना महिला स्वदेश फर्किसकेका छन् ।

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको छ ।कुवेतले गएको अप्रिल महिनाभरी नै नेपालसहित विभिन्न देशका नागरिकलाई यी दुई तरिकाले आममाफीमा सहभागी गराएको थियो।

नेपालीलाई भने अप्रिल २६ देखि ३० सम्मको चार दिनको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झण्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिने छ ।

कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेको छ । खाद्यान्न सहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । आममाफीमा सहभागी र केही घरफिर्ती केन्द्रमा रहेका २९९१ जनाको सूची दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ ।

यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

तर अहिले फर्कने कतिपय गर्भवतीहरु पनि छन् । होल्डिङ सेन्टरको स्वास्थ्य यूनिटले तत्कालै यात्रा गर्न नसक्ने भन्ने यकिन गरेमा उनीहरुलाई काठमाण्डौकै आपतकालीन क्वरेण्टीनमा राखिने छ । आपतकालीन अवस्थाका लागि भनेर सरकारले काठमाण्डौमा पनि क्वरेण्टीनको व्यवस्था गरेको छ ।

तर त्यसका लागि यात्रा गर्न नसक्ने कुरा स्वास्थ्य यूनिटले प्रमाणित गर्नुपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सम्बन्धित पालिकामा पनि विदेशबाट घर फर्कनेले १४ दिन क्वरेण्टीनमा बस्न पर्नेछ । त्यसपछि मात्रै आफ्नो घर जान पाइनेछ ।

 

तपाईको प्रतिक्रिया