कतारबाट घर  फर्कने नेपालीको सूची सार्वजनिक, पहिलो चरणमा चार उडान हुने

 जेठ ३१, २०७७ शनिबार १०:१५:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेर स्वदेश फर्कनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीहरुले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी ६ हजार ७७ जनाको विवरण दूतावासले शुक्रबार सार्वजनिक गरेको हो । 

विभिन्न कारणले समस्यामा परेका ५ हजार १ सय १२ जना प्राथमिकतामा परेका छन् भने ९६५ जनाको स्वदेश फिर्तीका लागि कम्पनीले नै दूतावासमा विवरण टपाएका छन् ।

कम्पनीले नै स्वदेश फर्काइदिने नेपालीको कम्पनीले नै टिकटको व्यवस्था गरिदिनेछन् भने अन्य विभिन्न कारणले समस्यामा परेका र कम्पनीले पनि टिकट नदिएमा नेपाली आफंैले टिकट लिनुपर्नेछ । 

प्राथमिकतामा परेकाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा ४ वटा उडान हुनेछन् । तर दूतावासले अहिले सार्वजनिक गरेको सूचीअनुसार पहिलो चरणमा सबै नेपाली फर्कन पाउने छैनन् ।

उनीहरुबाट पनि प्राथमिकता छुट्याएर दूतावासले पहिलो चरणमा प्राथमिकतामा परेको नेपालीको सूची फेरि सार्वजनिक गर्ने या व्यक्तिगत रुपमै सम्पर्क गरेर जानकारी गराउने जनाएको छ ।

कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि पहिलो चरणमा चार उडान हुने भएको छ । जुन १६ र २० नेपाल एअरलाइन्सले तथा जुन १७ र २० मा हिमालय एअरलाइन्सले उडान भर्नेछन् । तर कुनै प्राविधिक समस्या भएमा उडानको मिति हेरफेर हुन सक्ने दूतावासले जनाएको छ । 

कतारबाट नेपाल फर्कनका लागि ४९० अमेरिकी डलर भाडा तोकिएको छ । तर आममाफी र डिपोर्टेसन सेन्टरमा रहेका नेपालीलाई कतार सरकार आफैले ल्याइदिने छ ।  

प्राथमिकतामा को को ?

दूतावासले आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल फर्कनुपर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड–१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेको छ । 

यस्तै  अपांगता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी, पारिवारिक पुनर्मिलनका लागि गएका, पर्यटक तथा व्यापारिक भिसामा गएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसा समाप्त भएका वा आईडी रद्द भएका, बेतलबी बिदामा रहेका पनि प्राथमिकता परेका छन् ।

कतारको प्रचलित कानुन अनुसार हवाई उडानको लागि अनुमति नपाएका व्यक्तिहरुको हकमा भने दूतावासले कतारको सम्बन्धित निकायमा समन्वय गर्ने जनाएको छ । ती निकायहरुबाट आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरुलाई त्यसपछिका उडानहरुमा समावेश गरिने दूतावासको भनाइ छ ।

2 Comments

  • Surya bahadur bk

    June 14, 2020, 9:49 a.m.

    मेरो काम बन्द भएको ३ महिना भयो र तलव नआएको ७ महिना भयो , त्यसैले म नेपाल जान चाहन्छु /

  • Gokarna Bahadur pulami magar

    June 14, 2020, 9:26 a.m.

    मेरो भीसा अगस्तमा सकिन्छ , अक्टोबरमा घर जान चाहन्छु , त्यसको लागि हामीले के गर्नुपर्छ ?? ड्युटीमा ६ घण्टा चलेको छ , र तलव पनि आधा मात्र दिन्छ , त्यसैले म अक्टोबरमा जान चाहन्छु, के गर्नुपर्ला ?? प्लिज भनिदिनुस / 🙏🙏

तपाईको प्रतिक्रिया