जोखिम कम भएका देशमा श्रमिक पठाउने सरकारको योजना, गन्तव्य देशमा भने अझै रोक

 असार ११, २०७७ बिहिबार १०:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोनाको जोखिमका कारण बन्द भएको वैदेशिक रोजगारी फेरि खुलाउने सरकारले निर्णय गरिसकेको छ । अघिल्लो शुक्रबार सरकारले बिदामा आएकालाई पुनः श्रम स्वीकृतिसँगै नयाँलाई पनि रोजगारीमा जान दिने निर्णय गरेको हो । तर त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस अनिवार्य चाहिन्छ । सरकारको निर्णयपछि श्रम मन्त्रालयले काम अघि बढाएको जनाएको छ । 

‘हामी समन्वय गरिरहेका छौं, तत्कालै श्रम स्वीकृति खुलाउनको लागि हामीले यसका कार्यविधि र प्रक्रियाहरु निर्धारण गर्छौं, यसमा स्वास्थ्यको मापदण्ड पालना गरेर जाने भनिएको छ’ श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले भन्नुभयो, ‘यो विषय तीन, चारवटा कुरासँग जोडिएको छ ।’

कोरोना महामारीका कारण बिदामा घर फर्किएकाहरु फेरि विदेश जान पाएका छैनन् ।  उनीहरुलाई पुनः श्रम स्वीकृति दिएर पठाउन सम्बन्धित देशको दूतावाससँग र सम्बन्धित देशहरुसँग पनि समन्वय गर्नुपर्ने भएकाले यी सबै कुरा समन्वय हुने गरी कार्य प्रक्रियाहरु निर्धारण गर्ने प्रवक्ता घिमिरेले बताउनुभयो । पहिले कोरोना महामारीको जोखिम कम रहेका देशमा श्रमिक पठाउने सरकारको तयारी छ । 

प्रवक्ता घिमिरेले भन्नुभयो, ‘जस्तो मलेसियामा सङ्क्रमणको दर निकै घटेको र त्यहाँको उद्योग व्यवसायहरु सामान्य अवस्थामा जस्तै सञ्चालन हुँदै गएको छ, त्यसकारण हामीले जोखिम नहुने गरी वैदेशिक रोजगारीमा जाने कुरालाई व्यवस्थित गर्दै जानुपर्छ ।’

सरकारले वैदेशिक रोजगारीमा श्रमिकलाई जान दिने निर्णय गरे पनि नेपालीको मुख्य श्रम गन्तव्य देशले भने यात्रुको प्रवेशमा रोक नै लगाएका छन् । कतिपय देशमा अन्तर्राष्ट्रिय उडान बन्द नै छ भने खुलेका देशले पनि केही निश्चित यात्रुलाईबाहेक अरुलाई प्रवेशमा रोक लगाएका छन् ।

नेपालीले काम गर्ने खाडीका देश र मलेसियामा यस्तो छ प्रावधान :

  • कतार 

कतारले यात्रुको प्रवेशमा रोक लगाएको छ । तर कतारी नागरिक भने जान पाउनेछन् । साथै कतारमा स्थायी बसोबासको कार्ड भएकाहरु पनि कतार प्रवेश गर्न पाउनेछन् । 

उनीहरु १४ दिन क्वरेण्टीनमा बस्नुपर्नेछ । त्यसका लागि उनीहरुले नै होटलको व्यवस्था गर्नु  पर्नेछ ।

कोरोना महामारी सुरु हुनासाथ नेपालसहित १४ देशका नागरिकको प्रवेशमा रोक लगाएको कतारले उनीहरु कहिलेदेखि कतार प्रवेश गर्न पाउछन् भनेर भनेको छैन । 

  • साउदी अरेबिया 

साउदीले सबै उडानहरु बन्द गरेको छ । तर प्राविधिक, मानवीय र स्वदेश फिर्तीको उडानहरु भने हुनेछन् । तर यस्तो उडानका लागि पहिले नै अनुमति लिनुपर्छ ।

 साउदीले कोरोना महामारी नसकिदासम्म बिदामा रहेका आप्रवासीले साउदी फर्कन नपाउने नियम ल्याएको छ । साउदी सरकारले कोरोना महामारी सकिएको घोषणापछि मात्र बिदामा रहेका आप्रवासी श्रमिकको प्रवेश खुला गर्ने निर्णय गरेको हो । साउदीमा कोरोना सङ्क्रमणको दर दिनहुँ बढिरहेको छ ।

  • यूएई 

यूएईले पनि यात्रुलाई प्रवेशमा रोक लगाएको छ । यूएईमा स्थायी बसोबास गर्नेहरु भने जान पाउनेछन् । तर त्यसका लागि कोरोना जोखिम न्यूनिकरणको मापदण्ड पालना गर्नुपर्छ । सँगै आफू स्वस्थ रहेको स्वघोषणा गर्नुपर्छ । 

  • ओमान 

ओमानमा अहिले यात्रुको प्रवेश निषेध गरिएको छ । तर ओमानी नागरिक भने जान पाउनेछन् । ओमानले ३० जुनसम्म अन्तर्राष्ट्रिय उडानहरु बन्द गरेको छ । अहिले ओमानले उद्धार उडान भने गरिरहेको छ ।

  • बहराइन 

बहराइनले पनि अहिले यात्रुलाई दिने अनअराइभल भिसा बन्द गरेको छ । अर्को सूचना नआउँदासम्मका लागि बन्द गरिएको हो । 

तर यो नियम कुटनीतिक कर्मचारी, अफिसियल, संयुक्त राष्ट्र संघका कर्मचारीको हकमा भने लागू हुने छैन । 

यस्तै, बहराइनमा यात्रुलाई अनुमति खुला गरिएको छैन । तर बहराइनका नागरिकहरु भने जान पाउनेछन् । बहराइनमा स्थायी बसोबास गर्नेको लागि पनि प्रवेश खुला गरिएको छ । आर्मी (मिसन) का कर्मचारी पनि अहिले बहराइन प्रवेश गर्न पाउनेछन् । 

यसरी जाने यात्रुको पनि मेडिकल जाँच र क्वरेण्टीन अनिवार्य गरिएको छ । श्रमिक र अन्य यात्रुको सन्दर्भमा भने बहराइनले अहिले कुनै पनि नयाँ प्रावधान ल्याएको छैन । प्रवेश निषेध नै गरेको छ । 

  • कुवेत 

कुवेतले पनि यात्रु प्रवेशमा रोक लगाएको छ । यो नियम कुवेतका नागरिक र उनीहरुका अफन्तको हकमा लागू हुने छैन । तर उनीहरु यात्राका लागि स्वस्थ्व ‘फिट टू फ्लाई’ को अवस्थामा हुनुपर्छ । यो सम्बन्धित देशमा रहेका कुवेती दूतावासले निश्चित गरेको हुनुपर्नेछ । 

कुटनीतिक कर्मचारी पनि कुवेत जान पाउनेछन् । तर उनीहरु पनि यात्राको लागि ‘फिट टू फ्लाई’ को अवस्थामा हुनुपर्छ । 

कुटनीतिक पासपोर्ट भएका, संयुक्त राष्ट्रसंघको पासपोर्ट भएका र यूनेस्कोक अन्तर्गत कर्मचारीहरुलाई पनि कुवेतले प्रवेश गर्न दिएको छ । 

कुवेत यात्रा गर्नुअघि यात्रुले ‘स्लोनिक’ मोबाइल एप डाउनलोड गर्न पर्नेछ । त्यहाँ आफ्नो स्वास्थ्यको बारेमा जानकारी राख्नुपर्छ ।

तर अहिले वर्कर भिसामा जानेहरुका लागि भने कुवेतले यात्रा अनुमति दिएको छैन । उनीहरुका लागि कुनै प्रावधान पनि ल्याएको छैन ।

  • मलेसिया

मलेसियाले पनि अहिले अरु देशका नागरिकको प्रवेशमा रोक लगाएको छ । 

तर मलेसियन नागरिक भने जान पाउनेछन् । मलेसियामा दोस्रो घर हुनेहरु पनि यात्रा गर्न पाउनेछन् । तर उनीहरुले कोरोना नेगेटिभ रहेको प्रमाण पेश गर्नु पर्नेछ ।

कुटनीतिक पासपोर्ट भएका र कुटनीतिक मिसनका कर्मचारीले भने मलेसिया यात्रा गर्न पाउनेछन् । तर यसरी जानेले १४ दिनको क्वरेण्टीनमा बस्नु पर्नेछ । श्रम गर्न जानेको हकमा भने मलेसियाले अहिले कुनै प्रावधान ल्याएको छैन ।

यी देशमा कोरोनाको कारण समस्यामा परेका र स्वदेश फर्कन प्राथमिकतामा परेकालाई सरकारले चार्टर्ड उडानमार्फत नेपाल ल्याइरहेको छ ।
 

2 Comments

  • गोपल घिसिङ

    June 25, 2020, 5:32 p.m.

    नमस्कार उजाल्यो अनलाइनको खबर पढेर खुशी त अनुभूति भयो, चाडै कतै बिदेश फर्कन पाइन्छ कि भनेर/ तर दुबईको मामलामा अलिक राम्रो सङ समचार नबुझी लेखे जस्तो लाग्यो ! दुबईले आफ्नो नागरिक देखि लिएर छुट्टीमा आएको ब्यक्ती लाई ल्याउन सुरुवात र अब चाडै नै पर्यटकहरू लाइ पनि भित्र्याउन सुरु गर्न लागि सकेको छ ! त्यसैले नेपाल सरकारले पनि आफ्नो तर्फबाट श्रमिकहरुलाइ चाडो भन्दा चाडो श्रम स्विकृती दिएर त्यहा पठाउन पहल गरिदिए समस्त नेपाली जो छुट्टीमा छन, तिनिहरुलाइ सजिलो हुनेथियो !त्यसैले यो बारेमा पनि उज्यालो अनलाइनले राम्रो सङ लेख लेखे हामी जस्तो श्रमिकको उद्दार हुनेथियो / आफ्नो कमाउने थलो नै बन्द हुँदा स्वदेशमा नै दु:ख झेलिरहनु परेको छ ! धन्यवाद

  • बिक्रम श्रेष्ठ

    June 25, 2020, 2:01 p.m.

    म #UAE बाट २ महिना को छुट्टी घर आको यो लकडाउनले यतै रोकिए। सरकार ले छुटी मा आको लाई जन दिने त भयो तर जाने कसरी? फ्लाइट सबै बन्द छ। यो त मुख थुनेर औसधि खाउ भने जस्तो भएनर?

तपाईको प्रतिक्रिया