विदेशमा रोजगारी गुमाएका श्रमिकको निःशुल्क उद्धार सुरु, यसरी दिनुहोस् निवेदन

 साउन २१, २०७७ बुधबार १३:२६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार थालिएको छ ।

विभिन्न देशमा रहेका नेपाली दूतावासले आवेदन दिन अनुरोध गर्न थालेका छन् । कोरोना महामारीको कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत सरकारले उद्धार गर्ने निर्णय गरेको छ । जसअनुसार सरकारले तोकेको मापदण्डमा पर्ने श्रमिकको उद्धारका लागि दूतावासहरुले सूचना जारी गर्न थालेका छन् । 

तपाईँ मलेसियामा हुनुहुन्छ र रोजगारी गुमेको छ तथा घर फर्कन टिकट काट्न सक्नुभएको छैन भने आवेदन दिन दूतावासले अनुरोध गरेको छ । 

दूतावासले तोकेको निवेदन ढाँचा अनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल [email protected] मार्फत पठाउन सकिनेछ । साथै दूतावासको हटलाइन नम्बर ६०१६२४२७७७ मा ह्वाट्स्एप गरेर पनि निवेदन पेश गर्न सकिन्छ । 

निवेदन दिँदा राहदानी र रोजगारी करार पत्रको प्रतिलिपि पनि पेश गर्नुपर्छ ।

दूतावासले आवेदकको आवेदनमाथि आवश्यक जाँचबुझ गरी निजको विवरण परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार बोर्डमा पठाउने र बोर्डको कोषबाट रकम निकासा भएपछि टिकट उपलब्ध गराउने दूतावासले जनाएको छ । 
तर हवाई टिकटको सुविधा मात्र लिने मनसायले कुनै व्यक्तिले तथ्य फरक गरी वा झुटा विवरण पेश गरेर सुविधा लिएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने दूतावासले जनाएको छ । 

जुन रोजगारदाताले श्रमिकलाई घर फर्कन टिकट दिएनन् उनीहरुको मागपत्र पाँच वर्षसम्म प्रमाणीकरण नगर्ने पनि दूतावासले जनाएको छ । 

कस्ता व्यक्तिले पाउँछन् टिकट 

नेपालबाट श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर आएको तीन वर्ष ननाघेको व्यक्तिले रोजगारी गुमाएको र घर फर्कन रोजगारदाताले टिकट नदिएको भएमा टिकटका लागि आवेदन दिन सकिन्छ । 

सम्बन्धित गन्तव्य देशको सरकार(मलेसिया वा ब्रुनाई) रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला संस्था वा अन्य स्रोतबाट हवाई टिकट खर्च नपाएको वा आफ्नै खर्चमा घर फर्कन नसक्ने अवस्थाका व्यक्तिलाई हवाई टिकट उपलब्ध हुनेछ । 

सरकारले सरकारबाट आममाफी पाएका, डिटिन्सन सेन्टरमा रहेका र घर जान अनुमति पाएका, जुनसुकै कारणले भए पनि बहिर्गमन भिसा पाएका र रोजगारी गुमाएका व्यक्तिलाई निःशुल्क उद्धारको प्राथमिकतामा राखेको छ । 
कस्को कति खर्च व्यहोरिन्छ ?

रोजगारीमा गएको एक वर्ष भन्दा कम अवधिमा रोजगारी गुमेको भएका लाग्ने खर्च सबै कोषमार्फत व्यहोरिनेछ । 

 

एक वर्षदेखि तीन वर्षको समयको बीचमा रोजगारी गुमेको भएका ७५ प्रतिशत र पुनः श्रम स्वीकृति लिएर गएको श्रमिकको हकमा भने ५० प्रतिशत खर्च व्यहोरिनेछ । 

तर श्रम स्वीकृतिको अवधिमा थुनामा परेर आममाफी पाई घर फिर्ती केन्द्रमा रहेका श्रमिकको हकमा भने सरकारले लाग्ने खर्च सबै व्यहोर्नेछ । कुनै संस्थाबाट खर्च प्राप्त भएको भएमा नपुग खर्च कोषको रकमार्फत उपलब्ध गराउने दूतावासले जनाएको छ । 

यसअघि ओमानमा रहेको दूतावासले पनि यस्ता श्रमिकलाई निवेदन दिन आह्वान गरेका छ ।

यसबारेमा थप बुझ्न परेका दूतावासमा कार्यालय समयमा श्रम सहचारी कृष्णा कुमारी गौलीलाई ७१५९२५०६ मा सम्पर्क गर्न सकिन्छ । साथै दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा पनि फोन गरेर बुझ्न र सहयोग लिन सकिने दूतावासले जनाएको छ ।

निवेदनकाे ढाँचा हेर्नुहाेस्

यस्ताे छ नि:शुल्क उद्धारकाे प्रक्रिया

तपाईको प्रतिक्रिया