यूएईमा सामाजिक सञ्जालमा जथाभावी लेखेमा वा कमेन्ट गरेमा जेल र जरिबाना

 असोज २८, २०७७ बुधबार १६:१६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ यूएईमा कार्यरत हुनुहुन्छ भने सामाजिक सञ्जालमा कमेन्ट लेख्दा ख्याल गर्नुहोस् ।

यूएई प्रहरीले सामाजिक सञ्जालमा कसैलाई गालीगलौज वा होच्चाएर कमेन्ट नगर्न चेतावनी दिएको खबर गल्फ न्युजले लेखेको छ । सामाजिक सञ्जालका पोस्टहरुमा लेखिने कमेन्टहरुमा पनि विशेषगरी अरुको मानहानी हुने र निन्दा गरेर लेखिएका कमेन्टमा जेल सजाय र जरिबाना वा दुबै सजाय हुने जनाइएको छ ।

यस्तो कमेन्ट गर्नेहरुलाई २ लाख ५० हजार यूएई दिर्हामदेखि पाँच लाख दिर्हामसम्म जरिबाना हुन सक्नेछ । ल नम्बर ५ २०२० को धारा २० ले साइबर अपराध हुन नदिन जसले यस्ता क्रियाकलाप गर्छन् उनीहरुलाई सजाय गर्ने भएको हो । त्यसका लागि टेलिकमको नेटवर्क वा अन्य कुनै आईटी प्रविधिको प्रयोग गर्ने यूएई प्रहरीले जनाएको छ ।

यूएई प्रहरीले २०१९ मा सामाजिक सञ्जालको प्रयोगमार्फत दुर्व्यवहार बढेको जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोगमा विषेशगरी अनलाइन दुव्र्यवहार, धम्की र ब्याल्कमेल, झुटो समाचारको प्रकाशन र प्रशारण, अरुको निजी मामलामा हस्तक्षेप, दुर्व्यवहारजन्य कमेन्ट गर्नु, झुटो विज्ञापन पोस्ट गर्ने लगायत रहेका छन् ।

अप्रिल महिनाको सुरुमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने दुईजना पक्राउ परेका थिए । उनीहरुले नैतिकतामा असर गर्नेगरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए । यो पोस्ट देशभरी नै भाइरल भएको थियो । यूएईले सामाजिक सञ्जाल प्रयोगकर्ता कुनै पनि सामग्री पोस्ट गर्दा उत्तरदायी र नैतिकवान हुनपर्ने बताएको छ ।

सामाजिक सञ्जालमा बालबालिका र युवाको ठूलो पहुँच हुने भएकाले सामाजिक सञ्जालमा केही लेख्नुअघि, फोटो र भिडियो पोस्ट गर्नुअघि सचेत हुन आग्रह पनि गरिएको छ ।

आबुधाबी प्रहरीले सर्वसाधारण व्यक्तिलाई आँच पुग्नेगरी सामाजिक सञ्जालमा कुनै पनि कुरा नलेख्न चेतावनी दिएको छ । लाइन, साइन, सिम्बोल, फोटो, अडियो भिडियो कुनै पनि सामग्री जसले पब्लिकलाई असर गर्छ त्यस्ता सामग्री पोस्ट गरेमा कडा कारबाही हुनेछ । त्यसैले तपाईँ पनि यूएईमा हुनुहन्छ भने सामाजिक सञ्जाल प्रयोग गर्दा, कमेन्ट लेख्दा, फोटो, भिडियो पोस्ट गर्दा सचेत हुनुहोला ।

तपाईको प्रतिक्रिया