भिजिट भिसामा वैदेशिक रोजगारीमा जाँदा वा जाने तयारी गर्दा ठगीमा पर्नुभएको छ ? विभागमा उजुरी दिनुहोस्

 मंसिर २४, २०७७ बुधबार ११:२३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ भिजिट भिसामा परदेश जानुभएको छ या भिजिट भिसामा कामका लागि जाँदा अलपत्र पर्नुभएको छ वा जाने भनेर पासपोर्ट बुझाउनु भएको छ ? यदि छ भने अबको एक महिना भित्र प्रमाणसहित उजुरी दिन वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

यसरी भिजिट भिसामा पठाउने, पठाउने तयारी गरिरहेका र पठाएर अलपत्र पार्ने म्यानपावर, व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगानासहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यलयमा निवेदन दिन अनुरोध गरिएको छ ।

साथै आफ्नो जिल्ला प्रशासन कार्यालय वा विभागको अनुगमन शाखाको इमेल ठेगाना [email protected] मा इमेल गरेर पनि उजुरी दिन विभागले आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न इजाजतपत्रवाला म्यानपावर संस्थाले खाडी लगायतका अन्य देशमा वैदेशिक रोजगारीको लागि पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग पासपोर्ट र चर्को रकम असुल गरी भिजिट भिसामा पठाउने गरेको उजुरी र सूचनाको आधारमा विभागले विभिन्न स्थानमा आकस्मिक अनुगमन गरेको थियो ।

विभिन्न म्यानपावर र ट्राभल एण्ड टुर्समा अनुगमन गर्दा वैदेशिक रोजगारीको लागि भिजिट भिसामार्फत व्यक्ति पठाउने गरेको प्रमाण फेला परेको र आवश्यक कागजात नियन्त्रणमा लिई विभागले त्यसमा संलग्न संस्थामाथि छानबिन गरिरहेको जनाएको छ ।

छानबिनकै क्रममा रहेकाले यदि कोही व्यक्ति भिजिट भिसामा गई अलपत्र परेका र जाने भनी रकम र राहदानी बुझाएकाहरुले आफू ठगीमा परेको भन्दै विभागमा उजुरी समेत दिने गरेका छन् । तपाईँ पनि भिजिट भिसाको नाममा ठगीमा पर्नुभएको छ भने सम्पर्क गर्न विभागले अनुरोध गरेको हो ।

तपाईको प्रतिक्रिया