पुनः श्रम स्वीकृति अब अनलाइनबाटै : विदेशमा भएकाहरु पुनः श्रम स्वीकृति लिन स्वदेश आउनुपर्ने बाध्यता हट्यो

 पुस २, २०७७ बिहिबार १०:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अब घरमै या विदेशमै बसेर पनि श्रमिकले अनलाइनमार्फत नै लिन सक्ने भएका छन् ।

अबको एक हप्ता भित्रमा श्रमिकले संसारको जुनसुकै कुनामा बसेर पनि अनलाइनमार्फत नै पुनः श्रम स्वीकृति लिन सक्ने वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी टीकामणि नेउपानेले जानकारी दिनुभयो ।

यो व्यवस्था लागू भएसँगै विदेशमा रहेका श्रमिक पुनः श्रम स्वीकृति लिनकै लागि स्वदेश फर्कनुपर्ने बाध्यता हट्ने छ भने स्वदेश आएकाहरुले पनि पुनः श्रम स्वीकृति लिन श्रम कार्यालय धाउन नपर्ने भएको छ । पुनः श्रम स्वीकृति लिनका लागि बीमा र कल्याणकारी कोषमा रकम अनिवार्य जम्मा गर्नुपर्छ ।

विभागले यसअघि नै बीमा र कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइनमार्फत नै गर्नसक्ने व्यवस्था गरिसकेको छ । यसअघि बीमा गर्न बीमा कम्पनीमा व्यक्ति स्वयम जानु पर्ने र कल्याणकारी कोषमा रकम जम्मा गर्न पनि बैंक नै जानुपर्ने व्यवस्था थियो । तर यो अवस्थालाई हटाउँदै अनलाइनमार्फत नै बीमा र कल्याणकारी कोषको रकम तिर्न सक्ने भएपछि अब पुनः श्रम स्वीकृतिका लागि पनि अनलाइनमार्फत नै आवेदन दिन सकिने भएको हो ।

‘आउँदो आइतबारपछि जुनसुकै दिनदेखि यो व्यवस्था लागू हुन्छ, विभागले पूर्ण तयारी गरिसकेको छ, अब श्रमिकले पहिला जस्तो अनलाइनबाट आवेदन दिएर श्रम कार्यालय धाउन पर्ने छैन भने पुनः श्रम स्वीकृति लिनकै लागि विदेशबाट नेपाल पनि आउन पर्ने छैन,’ निर्देशक तथा सूचना अधिकारी नेउपानेले भन्नुभयो,‘अब उहाँहरुले अनलाइनमार्फत आवेदन दिएपछि इमेलमा पुनः श्रम स्वीकृति आउँछ, अहिले पनि पहिलेजस्तो पासपोर्टमा टास्ने चलन छैन ।’

यसअघि विदेशमा रहेका श्रमिक पनि पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनैपर्ने बाध्यता भएको भन्दै विदेशमा रहेका कुटनैतिक नियोगमार्फत नै पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गर्ने कुरा उठ्दै आएको थियो ।

ऐनले पनि विषेश अवस्थामा नियोगले पुनः श्रम स्वीकृति दिन सक्ने भनेको छ । तर निर्देशक तथा सूचना अधिकारी नेउपाने भन्नुहुन्छ, ‘अहिले प्रविधिले सजिलो बनाइदिएको छ, अब भौतिक उपस्थिती बिना नै हामी श्रम दिन्छौं, उहाँहरुले प्रक्रिया पूरा गरेर निवेदन दिएपछि इमेलमा नै श्रम आउँछ ।’

यसअघि विभिन्न समयमा विदेशमा रहेका श्रमिकलाई विदेशबाटै पुनः श्रम स्वीकृति दिने कुरा उठेपछि बीमा र कल्याणकारी कोषमा रकम तिर्ने अनलाइन व्यवस्था नहुँदा यो व्यवस्था लागू हुन सकेको थिएन । तर झण्डै भए महिनाअघिदेखि यो अनलाइनमार्फत नै बीमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्ने व्यवस्था गरिएको छ ।

सरकारले यसअघि नै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई श्रम स्वीकृतिको इलेक्ट्रिक भिस्सा (ई–स्टिकर) दिने व्यवस्था लागू गरिसकेको छ । ई–सेवा, फोन पे प्रालि, स्प्यारो पे प्रालिलगायत भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट घरै बसेर अनलाइनमार्फत बीमा तथा कल्याणकारी कोषको रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । उपलब्ध अन्य भुक्तानी सेवा प्रदायक कम्पनीसँगसमेत सहकार्य गरेर थप सहज बनाइने उल्लेख गरिएको छ ।

श्रमिकको सास्ती र ठगी रोकिने विश्वास

यसअघि श्रमिक श्रम स्वीकृति लिनका लागि श्रम कार्यालय नै जानु पर्ने, अनलाइनमार्फत समय लिन इटोकन प्रणालीको व्यवस्था गरिएको थियो । तर पनि श्रम कार्यालय अघिल्तिर बिमा र कल्याणकारी कोषको रकम तिरिदिने र इटोकन लिइदिने बहानामा श्रमिकहरु ठगीमा पर्थे । बढी रकम तिर्न बाध्य थिए ।

तर यो व्यवस्थाले श्रमिक श्रम कार्यालयमा उपस्थित हुन पर्दैन । यसो हुँदा श्रमिक न पुनः श्रम स्वीकृतिका लागि नेपाल आउन पर्छ न त श्रम कार्यालय जाु पर्छ सबैकाम आफैंले गर्नसक्ने भएपछि श्रमिकको समय र पैसा दुवैको बचत हुने र सेवा लिन पनि सहज हुने विभागले विश्वास लिएको छ ।

अहिले श्रमिक पुनः श्रम स्वीकृति लिनका लागि नेपाल नै आउनुपर्ने भएको अवस्थामा कतिपय श्रमिक आउन नपाउने र नआउने अवस्था छ । जसको कारण कतिपय श्रमिक श्रम बिना नै विदेशमा काम गरिरहेका हुन्छन् ।

श्रम अवधि सकिएपछि पुनः श्रम स्वीकृति नलिइ काम गर्दा केही भबितव्य परिहालेमा सरकारबाट पाउने सहायताबाट पनि श्रमिकहरु बञ्चित भइरहेका छन् । तर यो व्यवस्थाले श्रमिकले भोग्नु परेका यस्ता अप्ठेरा र सास्ती सकिने निर्देशक तथा सूचना अधिकारी नेउपाने बताउनुहुन्छ ।

2 Comments

  • Skumar

    Dec. 17, 2020, 4:26 p.m.

    धेरै राम्रो समाचार यस लाइ सहज र गुणस्तर बनाउन पर्छ है

  • Dhan Thapa

    Dec. 17, 2020, 11:15 a.m.

    हामीलाई लिंक चाहियो, बताइदिन मिल्छ ? धन्यवाद /

तपाईको प्रतिक्रिया