वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्

 पुस ८, २०७७ बुधबार १४:५१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

हिजोआज धेरै जना रोजगारीका लागि भिजिट भिसामा परदेश गएर अलपत्र परेका खबरहरु सुनिन्छ । सर्वप्रथम त वैदेशिक रोजगारीमा जाने जोकोहीले पनि बुझ्नुपर्ने कुरा के हो भने भिजिट भिसा भन्नासाथ घुम्न जाने भिसा हो । घुम्न जाने भन्ने वित्तिकै यो वैदेशिक रोजगारीमा समेटिंदैन । तपाईँले बुझ्नुपर्ने कुरा के हो भने यदि तपाईँ कुनै देशमा भिजिट भिसामा जाँदै हुनुहुन्छ भने त्यो देशमा घुम्न जाने भिसा हो यो ।

त्यसकारण कुनै पनि देशमा भिजिट भिसामा गएर त्यहाँ काम गर्छु भन्ने उदेश्यले एजेण्ट र म्यानपावरलाई मोटो रकम बुझाएर जान हुँदैन । भिजिट भिसामा रोजगारीका लागि जाँदा निकै कठिनाइहरु भोग्न पर्ने हुन सक्छ । जोखिम पनि उत्तिकै हुन्छ । एउटा त रोजगारीको लागि यहाँबाट जाँदा श्रम स्वीकृति लिएर जानुपर्ने हुन्छ ।

तर भिजिट भिसामा जानेले त्यो लिएको हुँदैन । भिजिट भिसामा सम्बन्धित देश पुगेपछि आफैं काम खोज्न पर्ने, आफ्नो जिम्मेवारीहरु जस्तै आफैं खानाको व्यवस्था गर्नुपर्ने, आफैंले बसोबासको व्यवस्था गर्नुपर्ने हुन्छ । यी चुनौती झेल्दै आफैं काम कहाँ र कसरी खोज्ने त्यो नजान्दा समस्यामा पर्न सकिन्छ ।

अर्को कुरा आफ्नो जिम्मेवारी आफैं लिएर जाँदा पनि हामीलाई जसले पठाएको हुन्छ एजेण्ट म्यानपावर वा अन्य कुनै कन्सलटेन्सी उसलाई ठूलो मात्रामा रकम तिर्न पर्ने हुन्छ । रकम उनीहरु जति पनि लिन सक्छन् । रकम तिरेर परदेश पुग्दा पनि काम पाइन्छ या पाईदैन त्यो निश्चित हुँदैन ।

यदि तोकिएको समयमा काम खोज्न सकिएन र त्यहाँ आफ्नो भिसाको अवस्था फेर्न सकिएन भने स्वदेश नै फर्कनु पर्ने हुन्छ । अर्को कुरा भिजिट भिसामा विभिन्न प्रतिबन्धित देशमा पु¥याउने र अलपत्र पार्ने काम पनि हुन्छ । कहिलेकाहीँ मानव तस्करीमा समेत परिन्छ ।

विभिन्न देशमा लगेर थुनेर राख्ने अनि घरमा धम्क्याएर रकम असुल्ने लगायतका गतिविधि पनि भिजिट भिसामार्फत भएका छन् । त्यसकारण कुनै पनि देशमा कामका लागि भिजिट भिसामा त जाँनै हुँदैन । यी प्रक्रिया अपनाएर जान सकिन्छ परदेश विदेशमा काम गर्न जाने हो भने सही तरिका र प्रक्रिया अपनाएर जान जरुरी छ ।

अब कसरी जाने त भन्दा नेपालमा म्यानपावर एजेन्सीहरुले विदेशबाट कामको डिमाण्ड ल्याएका हुन्छन् । हिजोआज त कुन म्यानपावरले कुन देशका लागि कस्तो कामको माग ल्याएको छ भनेर पनि आफैंले हेर्न मिल्छ जुन कुरा म्यानपावरले भनिरहनै पर्दैन ।

त्यसकारण सबैभन्दा पहिला आफू जाने देश र गर्ने कामको टुङ्गो लगाउने । त्यो काम कुन देशबाट कुन म्यानपावरले ल्याएको छ त भनेर खोज्ने । अनि म्यानपावर कम्पनीमा सम्पर्क गर्ने । यो सबै कुरा वैदेशिक रोजगार विभागको वेवसाइटबाट नै थाहा पाउन सकिन्छ ।

म्यानपावर कम्पनीमा आफू जानकार भएर नै सम्पर्क गर्ने र त्यो काममा जानका लागि प्रक्रिया थाल्ने । नेपाल सरकारसँग श्रम स्वीकृति लिने र नेपालको नै विमानस्थलबाट गन्तव्य देशमा जाने गर्नुपर्छ । यसरी जाँदा तपाईँसँग करार सम्झौता हुन्छ ।

त्यसमा तपाईँले पाउने सेवासुविधा, तपाईँको तलब, कति वर्ष काम गर्न पाउनुहुन्छ लगायतका कुरा उल्लेख गरिएको हुन्छ । यसरी जाँदा यो करार अनुसारका सेवाशर्त पाइएन, अप्ठेरोमा परियो भने तपाईँको उद्धारको जिम्मा नेपाल सरकारको हुन्छ भने तपाईँलाई पठाउने म्यानपावरविरुद्ध उजुरी दिएर आफ्नो लागत फिर्ता लिन सकिन्छ ।

(प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका सोम लामिछानेसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

तपाईको प्रतिक्रिया