कुवेतमा गैरकानुनी भएका श्रमिकलाई आफ्नो कानुनी अवस्था सच्याउन म्याद थप, अझै पनि नसच्याए ‘डिपोर्ट’ गरिने

 पुस १६, २०७७ बिहिबार १८:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई वैधानिकता कायम गर्ने समयावधि थप गरिएको छ । 

कुवेतको आन्तरिक मामिला मन्त्रालयले कुवेतको आवासीय कानुन उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अनुसन्धानबिना तोकिएको जरिवाना तिरेर स्वदेश फर्कन वा आफ्नो कानुनी वैधता कायम गर्न पाउने अवधि थप गरिएको हो ।

यो भन्दा पहिले डिसेम्बर १ देखि डिसेम्बर ३१ सम्मको लागि तोकेको जरिवाना तिर्ने समयावधि सकिएसँगै पुनः एक महिनाको लागि थप गरिएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेतको आन्तरिक मामिला मन्त्रालयको २८ डिसेम्बरको नयाँ निर्णयअनुसार जनवरी १ देखि शुरू हुने गरी एक महिना थप गरिएको हो । थप गरिएको अवधिभित्र समेत आवासीय कानुन उल्लङ्घन गर्ने विदेशी नागरिकहरूले  आफ्नो कानुनी वैधता कायम गरेको नपाइएमा कारबाही हुने जनाइएको छ ।

यो अवधिभित्र पनि वैधता कायम नगरेमा कुवेत सरकारको कानुन बमोजिम जरिवाना हुने, आवासीय भिसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनः फर्कन नसक्ने गरी डिपोर्ट गरिने मन्त्रालयको निर्णयलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

 
 

तपाईको प्रतिक्रिया