वैदेशिक रोजगारीमा जाँदा म्यानपावरलाई पैसा बुझाउनुअघि यी कुरामा ध्यान दिनुहोस्

 माघ १४, २०७७ बुधबार १६:३१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

वैदेशिक रोजगारीमा जाने भनेको म्यानपावर एजेन्सीमार्फत नै हो । म्यानपावर कम्पनीहरु पनि फाइदाका लागि खोलिएका संस्था हुन् । पछिल्लो समय नेपाल सरकारले विभिन्न देशसँग गरेको सम्झौता अनुसार रोजगारदाताले नै लाग्ने शुल्क दिने भन्ने व्यवस्था छ । 

कतिपय कम्पनीले यसै अनुसार गरेका पनि छन् । तर यता त्यो कुरा म्यानपावर कम्पनीले लागू गरेका छन् कि छैनन् भन्ने महत्त्वपूर्ण कुरा हो । कहिलेकाहीँ त म्यानपावर कम्पनीले यता श्रमिकसँग पनि लिने र उता रोजगारदाता कम्पनीसँग पनि रकम लिने गरेको पाइन्छ । सरकारले श्रम समझदारी नै नगरेका खाडीका देशमा जानका लागि पनि १० हजार मात्र तिर्दा हुने नियम छ ।

सरकारले लागू गरेको फ्रि भिसा फ्रि टिकट नियम अन्तर्गत यस्तो व्यवस्था छ । श्रम समझदारी भएका देश जस्तै मलेसिया, यूएई जानका लागि श्रमिकले एक रुपैयाँ पनि म्यानपावरलाई तिर्न नपर्ने नियम पनि छ । तर नियममा भएका यी कुरा पालना भने कम नै भएको पाइन्छ । खाडी र मलेसिया बाहेक अरु देशमा तपाईँ जाने हो र म्यानपावरले पठाउँछन् भने ती देशमा जान लाग्ने लागत चाहिँ श्रमिक आफैंले तिर्न पर्ने नियम छ । 

त्यसैले विदेश जाँदा म्यानपावर वा एजेण्टलाई पैसा बुझाउँदा विभिन्न कुरामा ध्यान दिनुपर्छ । 

पैसा दिँदा यी उपाय अपनाउनुहोस्

१. हातमा पैसा नदिनुहोस्

​यदि तपाईँ म्यानपावरका कोही पनि प्रतिनिधिलाई वैदेशिक रोजगारीका लागि रकम दिंदै हुनुहुन्छ भने हातमा नदिनुहोस् । किनकी हातमा पैसा दिंदा प्रमाण हुँदैन । बरु तपाईँले पैसा दिंदा बैंकमार्फत, बैंक अकाउन्टमा पठाइदिनु उपयुक्त हुन्छ । बरु आईएमई गर्ने र पैसा पठाउँदा जहिले पनि वैदेशिक रोजगारीका लागि म्यानपावरलाई यो रकम दिइएको हो भनेर लेख्न नछुटाउनुहोस् । पैसा दिएको र त्यसमा पनि वैदेशिक रोजगारीका लागि हो भन्ने कुरा खुल्यो भने भोलिका दिनमा केही परिहाल्यो भने त्यो रकम उठाउन पनि सहज हुन्छ ।

२. म्यानपावरलाई पैसा दिइसकेपछि कुराकानी गर्दा पनि पैसा दिएको कुरा उल्लेख गर्नुहोस् 

पैसा बुझाइसक्नुभएको छ, तर त्यहाँ वैदेशिक रोजगारीका लागि भनेर लेख्न छुटाउनुभएको छ भने पनि त्यसपछि उनीहरुसँग कुरा गर्दा ख्याल गर्नुहोस् । जस्तै, मैले यो मितिमा तपाईँलाई पैसा त दिएँ अब म विदेश जान चाहिँ कहिले पाउँछु ? प्रक्रिया के हुँदैछ भनेर सोध्नुहोस् । मोबाइलमा म्यासेज गर्दा होस् या फेसबुक भाइबरमा कुरा गर्दा यी कुरा ध्यान दिनुहोस् । यस्तो कुराकानी पनि थप प्रमाण हुन्छ ।

३. पैसा लिखत गरेर दिएको हुनुपर्छ

पैसा दिंदा बैंकमार्फत सक्नु भएन भने पनि अन्य माध्यममार्फत दिंदा पनि लिखत राख्नुहोस् । जस्तै चेक होला वा भरपाई केही न केही प्रमाण साथमा राख्नुहोस् । पैसा फस्यो भने पनि यस्ता प्रमाण हुँदा पैसा उठाउन सकिन्छ । हातमा दिनुभयो, कुनै प्रमाण भएन भने पैसा दिएको हो भन्ने कुनै आधार हुँदैन र ठगीमा पर्ने सम्भावना पनि बढी हुन्छ ।

४. खाडीका ६ देश र मलेसिया जान धेरै रकम नदिनुहोस्

सरकारी नियम अनुसार खाडीका देश र मलेसिया जानका लागि लाग्ने रकम भनेको १० हजार मात्र हो । त्यही अनुसार नै म्यानपावर कम्पनीले माग ल्याएका हुन्छन् । त्यसैले तपाईँले यी देश जानका लागि म्यानपावरलाई लाखौं लाख रुपैयाँ पैसा नबुझाउनुहोस् । 

५. काम अनुसार रकम धेरथोर तिर्नपर्छ भन्ने हुँदैन

वैदेशिक रोजगारीमा जाने श्रमिकले कतिपय अवस्थामा राम्रो काम, कमाइ पनि टन्नै हुने भन्दै रकम बढी तिरेको पाइन्छ । तर खाडीका देशको कुरा गर्ने हो भने काम अनुसार बढी रकम तिनुपर्छ भन्ने छैन । जस्तो खाडीको देश यूएई जानकै लागि लाखौंलाख रकम तिरेको पाइन्छ ।

सेक्युरिटीको काम या अन्य विभिन्न काम भन्दै बढी रकम अशुल्ने गरेको पनि उदाहरण छन् । तपाईँहरु त्यस्ता कुराको पछि लागेर रकम खेर नफाल्नुहोस् । म्यानपावरले मागेजति रकम दिनुपर्ने बाध्यतामा श्रमिकहरु पनि हुनुुहुन्छ । किनभने उहाँहरुलाई जसरी पनि जानु छ ।

तर त्यसरी बढी रकम तिर्ने श्रमिक र लिने म्यानपावर दुवैलाई कारबाही वा कुनै सचेत गराउने काम पनि सरकारबाट भएको छैन । त्यसकारण पनि ठगी बढी भइरहेको छ । यसरी म्यानपावरले १० हजारभन्दा बढी रकम उठाउनु भनेको गैरकानुनी कुरा हो ।

६. घरघरमा आउने एजेण्टको विश्वास नगर्नुहोस्

पहिले सरकारले एजेण्ट राख्न पाउने व्यवस्था गरेको थियो । त्यो व्यवस्था हुँदा एजेण्टहरुले वैदेशिक रोजगारीमा पठाउने काम गर्न पाउँथे । तर अहिले त्यो व्यवस्था खारेज गरिसकेको छ । बरु म्यानपावरहरुले नै आफ्नो शाखा विस्तार गर्न पाउने व्यवस्था छ ।

उनीहरुले वैदेशिक रोजगारीको काम गर्न वैदेशिक रोजगारीबाट इजाजत लिएका हुन्छन् । तर जो व्यक्ति गाउँगाउँमा एजेण्टको काम गर्छन् उनीहरु वैधानिक होइनन् । उनीहरुको कुरामा विश्वास गर्दा जुनसुकै बेलामा पनि ठगीमा पर्न सकिन्छ । गाउँमा आउनेले म फलानो म्यानपावरमार्फत पठाइदिन्छु मैले चिनेको छ भनेर प्रलोभन देखाए भने पनि उनीहरुको पछि लाग्नु हुँदैन ।

७. म्यानपावरसँग जति कारोबार गर्नुहुन्छ त्यसको प्रमाण राख्नुहोस्

​कतिपय अवस्थामा म्यानपावरलाई पासपोर्ट बुझायो, म्यानपावरले न विदेश पठाउँछ न त पासपोर्ट दिन्छ । यसै झुलाएर पनि राखिरहेको हुन्छ । त्यसकारण तपाईँहरुले यदि म्यानपावरलाई पासपोर्ट दिनुभयो भने त्यसको पनि रिसिप्ट माग्नुहोस् र त्यो साथमा राख्नुहोस् ।

(अधिवक्ता कृष्ण न्यौपानेसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।) 

तपाईको प्रतिक्रिया