म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
आफ्नो मानिस कमाउन परदेश हिँडेपछि परिवारले अनेकखाले दुःखकष्ट सहनुपर्छ । यस्ता दुःख कष्ट झेल्न परिवारलाई परदेशीको र परदेशीलाई परिवारको साथ र सहयोग आवश्यक हुन्छ । तर कतिपय परदेशीले न कमाएको रकम घरमा पठाउँछन् न आफू फर्केर आउँछन् ।
सोचे जस्तो कमाई नभएपछि कतिपय परदेशी जानाजान परिवारको सम्पर्कबाट हराउँछन् । कोहीले भने बेलाबेलामा फोन पनि गर्छन् । आउँछु भन्छन् । तर आउँछु भनेको समय आँउछ र जान्छ तर परदेशी फर्केर आउँदैनन् । परिवार न उनीहरुलाई लिन जान सक्छन्, न त जानीजानी स्वदेश नफर्कनेलाई ल्याइदिने कुनै निकाय छन् । यस्ता परदेशीलाई स्वदेश ल्याउने उपाय के होला त ? प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
.......
विदेश पुगेपछि परिवारको सम्पर्कमा नआउनुको पछाडि थुपै्र कारण हुन्छन् । मुख्यतया यसलाई दुई भागमा बाँडेर हेर्न सकिन्छ ।
पहिलो परिस्थितिजन्य कारणले गर्दा वैदेशिक रोजगारीमा गएका कामदारहरु परिवारको सम्पर्कमा रहँदैनन् । अर्को रहरका कारण चाहिँ कुलतमा लागेर र कतिपय चाहिँ रहरले पनि परदेश पुगेपछि परिवारदेखि टाढा हुने गरेको पाइन्छ ।
अन्य कारणहरु पनि छन् । जस्तै पारिवारिक कारण, आर्थिक, सामाजिक आदि ।
कुलतमा फसेका व्यक्तिहरुले पनि घरमा वास्ता नगर्ने गरेको देखिन्छ । नेपालीहरु विदेशमा पनि जाँडरक्सी खाने, लागूपदार्थ सेवन गर्ने, जुवातास खेल्ने, नेटवर्क व्यापारमा लाग्ने गरेको पाइन्छ ।
आफ्नो तलब जति सबै नेटवर्क व्यापारमा लगाउने गर्छन् । जसलाई लट्री पनि भनिन्छ । कुनै दिन करोडौं आउँछ र त्यो बोकेर जाउँला भन्ने रहरले पनि बसेका हुन्छन् । लट्री लागेन भने, विभिन्न नसामा डुब्ने । जसका कारण अनडकुमेण्ट हुने जस्ता कारण पनि परिवारबाट टाढा हुने गरेको पाइन्छ ।
कतिपय देशहरु जहाँ अलिक स्वतन्त्रता छ त्यस्ता देशमा कतिपयलाई महिलाले श्रीमानजस्तै बनाएर राख्ने गरेको पनि पाइन्छ । घरमा फोन गर्न पनि दिने, काम गर्न पनि दिने तर घर फर्कन भने नदिने, घर फर्कन्छु भनेमा प्रहरीको उजुरी दिने गरेको पनि पाइन्छ ।
यस्तो अवस्थामा श्रमिक एउटा बँधुवा मजदुरजस्तै भएर बाध्यतामा फसेको हुन्छ । उ चाहेर पनि घर आउन सकिरहेको हुँदैन । त्यसकारण कोही पनि परदेशी घर किन फर्किएनन् भन्ने कुरा गर्दा फर्कन नखोज्नुको कारण के हो भनेर खोजी गर्नुपर्छ ।
परिवारले के गर्ने ?
सबैभन्दा पहिला त आफ्नो मान्छे स्वदेश फर्कन नसक्नुको कारण के हो भनेर पत्ता लगाउनुपर्छ । परिवारसँग कुरै गर्न चाहेनन् भने पनि अन्य कोही व्यक्तिसँग त उनीहरुले कुरा गर्ने गरेको हुनसक्छ । जस्तै गाउँघरको कोही न कोही मान्छेसँग त मन मिल्छ होला अथवा कुरा हुन्छ होला । त्यस्तो मान्छेमार्फत सम्पर्कमा आउन सकिन्छ ।
परिवारसँग, बुवाआमासँग, छोराछोरीसँग कुरा गर्न लगाउने । कुनै कारण हुनसक्छ, विदेशमा बस्ने । रक्सी खाएको बेलामा फोन गर्ने र अघिपछि नगर्ने गर्छन् भने त्यसको पनि कारण हुन सक्छ । रक्सी खाएपछि अलि बढी आत्मविश्वास जागेर घरमा फोन गर्ने गरेको हुनसक्छ । त्यसैले रक्सी खायो पैसा सक्कायो अनि घर फर्किएन भनेर मात्र सोच्न हुँदैन ।
परदेश हो, अवश्य पनि विभिन्न समस्याहरु हुन सक्छन् । जस्तो विदेशमा त्यहाँको महिलाले श्रीमानजस्तो बनाएर काममा राखेको हुन्छ । खान बस्न सबै दिएको हुन्छ । रक्सी खान छुट दिएको हुन्छ । तर लतब ती महिलाहरुले राख्ने र तपाईँको मानिसलाई १०, २० रिंगिट, रियाल भन्दा बढी दिएको हुँदैन । यस्तो अवस्थामा त्यति तलब लिएर घरमा पैसा पठाउन नसक्ने र घर पनि आउन नसक्ने भएको पनि हुन सक्छ ।
यस्तो अवस्था छ भने न उ दूतावासमा जान सक्छ न त परिवारमा आफ्नो कुरा राख्न सक्छ । तर फोन चाहिँ गरिरहन्छ ।
यता परिवारले पनि सहि कुरा थाहा नहुँदा यही अवस्थामा गाली गरिरहेका हुन्छन् । परिस्थितिले त उसलाई एक प्रकारको बँधुवा मजदूर बनाएर राखेको हुन्छ । त्यो व्यक्ति केही गर्न असमर्थ हुन्छ । त्यसैले भित्रि पाटोमा समझदारी हुनुपर्यो ।
परिवारका मान्छेले पनि अहिलेसम्म जे हुनु भयो अब त्यस्तो नगर्नु, पैसा नकमाए पनि केही छैन, घर फर्किनु अब फेरि सुखद जीवन जिउनुपर्छ भन्ने जस्ता कुरा गरेर फकाउनुपर्छ । परिवार बीचका सदस्यहरुमा यस्तो प्रकारको सम्झौता हुनुपर्छ । तिमीले त्यहाँ जे गरेको भए पनि हामी स्वीर्काछौं, तिमीले गल्ती गरेको छैनौं भन्ने हिसाबले उसलाई विश्वास र माया दिनुपर्छ । ताकि उसले घर फर्कनुपर्छ भनेर सोचोस् ।
यस्तो केसमा संस्थाहरुले प्रत्यक्ष भेटेर, ती व्यक्तिको परिवारसँगको सम्बन्धलाई मिहीन तरिकाले केलाउनुपर्छ । छोराछोरीप्रतिको उत्तरदायित्व, श्रीमती तथा बुवाआमाप्रतिको उत्तरादायित्व के छ भनेर भावनात्मक तरिकाले सम्झाउने बुझाउने गर्नुपर्छ ।
देशअनुसारका फरक नियम हुन्छन् । जस्तो मलेसियामा कुनै नेपाली युवाले गर्लफ्रेण्ड बनाएको छ र उसको गर्लफ्रेण्डले त्यो केटा नेपाल फर्किन लाग्यो भनेर प्रहरीलाई भन्यो भने प्रहरीले समातेर पहिलेकै ठाउँमा लगेर राख्दो रहेछ । उसलाई फर्किन दिइँदैन । कि त त्यहाँको जेल बसेर फर्किनुपर्ने या त ठूलो संकट व्यहोर्नुपर्ने अवस्था आउँदो रहेछ ।
यस्तो अवस्थामा संघसंस्थाले, नेपाल सरकारको कुटनीतिक नियोगले भूमिका खेलिदिनुपर्छ । नियोगले फर्किन चाहेको मान्छेलाई पासपोर्ट लगायतका अरु डकुमेन्ट बनाउने कुरामा सहजीकरण गरिदियो भने उहाँहरलाई ल्याउनको लागि सजिलो हुन्छ ।
यस्तै यस्तो अवस्थामा मानसिक स्वास्थ्यको बारेमा पनि बुझ्नुपर्ने हुन्छ । त्यसैले हामीले ‘साइकोसोसल काउन्सिलिङ’को काम अगाडि बढाउने, दूतावासमा त्यस्तो प्रणालीको विकास गरेर त्यस्ता मानिसलाई काउन्सिलिङ गरेर नेपाल फर्काउन सकिन्छ ।
यस्तो अवस्थामा पीएनसीसीले पनि सहयोग गर्छ । हामी एकदमै पहल गर्छौं । मलेसिया, कतार , साउदी, यूएई, कुवेत, ओमान लगायतका देशमा हाम्रो सञ्जाल छ । त्यहाँ हाम्रा प्रतिनिधि साथीहरु हुनुहुन्छ । कानुनी प्रक्रियामा दूतावासमा समन्वय गरेर नेपाल फर्काउन सहजीकरण गरिदिएका छौं ।
हामीले सक्ने भनेको त्यो व्यक्तिलाई काउन्सिलिङ गर्ने, नियमित भेटघाट गर्ने, यदि सम्पर्कमै छैन भने मिडियाको मार्फत पनि सम्पर्कमा ल्याउन प्रयास गर्छौं ।
छोराछोरीले बुवाआमाको आशा गरेका हुन्छन् भने बुवाआमाले छोराछोरीको । त्यसैले एकअर्कासँग सम्पर्क भइरहनु आवश्यक हुन्छ । यो एकप्रकारको जिम्मेवारी पनि हो । जिम्मेवारीबाट पन्छिनु हुँदैन । परदेशमा बस्नेहरुले परिवारसँग सम्पर्कमा रहनुपर्छ ।
आफूसँग कुनै समस्या छ भने पनि परिवारमा साट्नुपर्छ । परिवारले जस्तोसुकै अवस्थामा पनि साथ दिन्छन् । विदेशमा दुःख सहनुभन्दा आफ्नै देशमा दुःख गर्नु धेरै राम्रो हुन्छ । स्वदेशमै हातेमालो गरेर बाँकी जीवन बाँचौं भनेर परिवारबाट अलग्गिएका सदस्यसँग भावनात्मक संवाद गर्नुपर्छ ।
दुवैतर्फबाट सुझबुझ हुनुपर्छ । यसो भयो भने अवश्य पनि पुनर्मिलन हुन्छ । परिवारबाट बस्नुभन्दा सँगै बस्दा दुःख कम हुन्छ । नयाँ जीवन फेरि पनि मिलेर सुरुवात गर्न सकिन्छ ।