‘व्यावसायिक योजना बनाएर अगाडि बढे सफल भइन्छ’

 फागुन २१, २०७७ शुक्रबार १६:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आफूसँग लगानी गर्ने थोरै पुँजी भएपछि विभिन्न योजनाहरू दिमागमा आउन थाल्छन् । पाइला–पाइलामा व्यवसायका अनेक उपाय फुर्छन् । म यसो गर्छु, उसो गर्छु भनेर मनमै अड्कल गरिन्छ, सोचिन्छ । तर सोच्छन् धेरैले, गर्छन् कमैले ।

सिराहा नगरपालिका–६ का भोलानाथ महरा पनि यिनै कम भित्रका पात्र हुन् । जीवनको महत्वपूर्ण समय वैदेशिक रोजगारीमा बिताउनुभयो भोलानाथले । अहिले उहाँ परदेशभन्दा स्वदेशमै पसिना बगाउनु बेस ठानेर गाउँमै उद्यम गर्ने योजनासहित अघि बढ्नुभएको छ ।

‘परदेशमै छँदा लाग्थ्यो देशमै केही गर्नुपर्छ’

रोजगारीका अवसरको अभावले धकेल्ने हो कसैलाई परदेश । यही अभावमा ठक्कर खाएर भोलानाथ पनि २०५८ सालमा कतार पुग्नुभयो । आफ्नो देशमा जस्तो सहज त कहाँ हुन्छ र परदेशमा । तर दत्तचित्त भएर लागेपछि बानी पर्दो रहेछ । भोलानाथलाई पनि यस्तै भयो । त्यहाँ सामान्य मेकानिकलको रूपमा जानुभएका भोलानाथले कामप्रति रुचि जगाउनुभयो । मेकानिक्सको अनुभव बढाउँदै लैजानुभयो । आफू कार्यरत कम्पनीमा आफ्नो उत्कृष्ट कामका कारण चाँडै बढुवा पनि हुनुभयो । कहिलेकाहीँ परदेशमा गरेको प्रगति सम्झिँदा भोलानाथको मुहारमा अहिले पनि मुस्कान छाउँछ ।

‘कतारमा मैले राम्रै गरेको थिएँ, काम चाँडो सिकेँ’, उहाँले आफ्नो सफलता सुनाउनुभयो, ‘जहाँ जानुपरे पनि मलाई नै पठाउँथ्यो कम्पनीले ।’

केही वर्ष कतार बसेर उहाँ २०६५ सालमा घर फर्किनुभयो । त्यही समयमा बिहे गर्नुभयो । भोलानाथसँग बाउ बाजेको जमिन पनि थिएन । कतारबाट कमाएर ल्याएको पैसा घडेरी किन्न र बिहे गर्नमै ठिक्क भयो । बुढा भएका बुवा आमा । त्यही समयमा आमा बित्नुभयो । श्रीमती बिरामी हुनुभयो । कमाएको जति पैसा त्यहाँ सकियो । घरको आर्थिक समस्यासँगै बढ्दो जिम्मेवारी । लामो समय गाउँघरमै बसेपछि फेरि ७३ सालमा भोलानाथ कतार जानुभयो ।

यस पटक चार वर्ष बस्नुभयो कतारमा । तर कम्पनीले त्यहाँको आईडी नदिँदा समस्या भयो । आफूसँग आईडी नहुँदा घरमा पैसा पठाउनुपरे पनि अर्काको भर पर्नुपर्यो । एक पटक भोलानाथ प्रहरीको फन्दामा पनि पर्नुभयो । त्यसो हुँदा कतारमा साह्रै समस्या भएको उहाँ बताउनुहुन्छ । तर जस्तो अवस्था आए पनि मन भने हार्नुभएन ।

‘विदेशको दुःख यति नै हो, अब देशमै गएर केही गर्छु भन्ने सोच्थेँ’, उहाँले भन्नुभयो, ‘सधैँभरि विदेशमै बस्न पनि सकिँदैन थियो, काम जति राम्रो भए पनि आखिर एक पटक त परिवारसँगै बस्न आउनुपर्छ भनेर नेपाल फर्किने सोचेँ ।’

दुई पटक गरी १२ वर्ष कतारमा बस्नुभयो भोलानाथ । कतारमा बस्दा उहाँले मेकानिकलसम्बन्धी धेरै अनुभव बटुल्नुभयो । र त अहिले परदेशमा छँदा आफूले बनाएका योजनाहरूलाई मूर्त रुप दिन भोलानाथ गाउँमा लागिपर्नुभएको छ ।

श्रीमतीको हौसला

केही सोच आफ्नै थियो, त्यसैमाथि श्रीमती रिता कुमारी महराको हौसलाले थप प्रेरणा मिल्यो भोलानाथलाई ।  रिताले वित्तीय साक्षरता कक्षामार्फत विदेशमा कमाएको पैसाको सदुपयोग कसरी गर्ने भनेर धेरै कुरा सिक्नुभएको थियो ।

नेपाल सरकार तथा स्वीस सरकारबीच भएको दुई पक्षीय सम्झौता अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्व र हेल्भेटास नेपालको प्राविधिक  सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) र सिराहा नगरपालिकाको नेतृत्वमा सञ्चालित वित्तीय साक्षरता कक्षाबाटै रिताले व्यावसायिक योजनाबारे धेरै कुरा थाहा पाउनुभयो । 

घरधन्दामै दिन बित्ने गरेकोमा वित्तीय कक्षामा सहभागी भएर आफूले धेरै कुरा सिकेको रिता बताउनुहुन्छ ।

‘वित्तीय कक्षामा सहभागी भएपछि मैले विदेशमा श्रीमानले कमाएको पैसाको महत्व बुझेँ, यसलाई उत्पादनमूलक ठाउँमा लगाउनुपर्छ भन्ने सिकेँ’, रिता खुसी हुँदै भन्नुहुन्छ, ‘नेपालमै आएर केही व्यवसाय गर्ने कुरा गर्नुहुन्थ्यो श्रीमानले, मैले नि यहाँ सिकेका कुरा उहाँसँग साँट्थेँ , हामी मिलेर सल्लाह गर्थ्याैं ।’

जन्मियो कुल्फी उद्योग

श्रीमान् श्रीमती दुवैको सल्लाहपछि टुङ्गो लाग्यो, कुल्फी उद्योग सञ्चालन गर्ने । 

‘हाम्रो गाउँमा टाढा-टाढाबाट १०/१२ जना कुल्फी बेच्न आउँछन्, यतै कुल्फी उद्योग खोले बजारको अभाव पनि हुँदैन र कमाइ नि हुन्छ भनेर यही निर्णय गर्‍याैँ', भोलानाथले आफ्नो योजनाको सार बताउनुभयो । 

तर उहाँको योजना यति मात्रै छैन । ग्राहकलाई आकर्षित गर्नको लागि विभिन्न उपायहरू छन् उहाँको दिमागमा । कुल्फीसँगै अगरबत्ती पनि बेच्ने सोच्नुभएको छ । कुल्फी बेच्नेहरुलाई कम्पनीकै लाेगो भएको ‘ड्रेस’ लगाउन दिने र आफैँले उत्पादन गरेको अगरबत्ती पनि साथमै पठाउने उहाँको सोचाइ छ । सकिने जति कुरालाई साथसाथै बढाउने उहाँको योजना छ । 

‘मैले यहाँ विदेशमा जस्तो बनाउन खोजेको हो, आफ्नै कम्पनीको पोसाक हुन्छ, कुल्फीको साइकलमा ब्यानर हुन्छ’, भोलानाथ आफ्नो योजना सुनाउनुहुन्छ, ‘कुल्फी बेच्नेसँग हामीले नै उत्पादन गरेको अगरबत्ती पनि हुन्छ, यसको पनि यहाँ राम्रो बजार छ ।’

यसको लागि भोलानाथले काठमाण्डौबाट कुल्फी बनाउने मेसिन मगाइसक्नुभयो । कुल्फी उद्योगको लागि घर बनाइरहनुभएको छ । विदेशमा सिकेका विभिन्न सीपका कारण पनि आफूलाई निकै सजिलो भएको उहाँ बताउनुहुन्छ ।

‘सिमेन्ट बालुवाबाट ईट्टा बनाउन कतारमा सिकेको थिएँ, अहिले त्यही तरिकाबाटै घर बनाइरहेको छु’, उहाँले भन्नुभयो, ‘आफैले ईट्टा बनाउँदा ईट्टाको खर्च पनि जोगियो ।’

कुल्फी उद्योगको लागि घर निर्माण सकिने बित्तिकै व्यवसाय सञ्चालन गर्ने उहाँ बताउनुहुन्छ । साथै उहाँले बनाएको ईट्टा समुदायमै गाउँघरमै बिक्री भएमा त्यसलाई पनि उद्योगको रूपमा अगाडि बढाउने भोलानाथको सोचाइ छ । 

आफूले जानेका कुरालाई सन्तुलित ढङ्गले अगाडि बढाउँदै लगे अवश्य पनि सफलता मिल्छ भन्ने कुरामा उहाँ ढुक्क हुनुहुन्छ । भन्नुहुन्छ, ‘व्यावसायिक योजना बनाएर अगाडि बढे सफल भइन्छ ।’
 

तपाईको प्रतिक्रिया